मम्दानी न्युयोर्क शहरको इतिहासमा पहिलो मुस्लिम र कान्छा मेयर हुन् । न्युर्योक राज्यकी न्यायाधिवक्ता लिटिया जेम्सले उनलाई औपचारिक सपथ खुवाइन् ।
What you should know
काठमाडौँ — न्युयोर्कका मेयर जोहरन मम्दानीले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार राति ३४ वर्षीया मम्दानीले कुरानमा हात राखेर सपथ लिएका हुन् ।
उनकी पत्नी रामा दुवाजीले कुरान समातेकी थिइन् ।
मम्दानी न्युयोर्क शहरको इतिहासमा पहिलो मुस्लिम र कान्छा मेयर हुन् । न्युर्योक राज्यकी न्यायाधिवक्ता लिटिया जेम्सले उनलाई औपचारिक सपथ खुवाइन् ।
यसको केही समयपछि मध्यरात १ बजे उनलाई सार्वजनिक समारोहबीच बर्नी स्यान्डर्सले फेरि सपथ खुवाए । स्यान्डर्सलाई मम्दानीले आफ्ना राजनीतिक गुरु मान्दै आएका छन् ।
४ नोभेम्बरमा उनी मेयर निर्वाचित भएका थिए । डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका उनले चुनावी प्रचारका क्रममा ‘न्युयोर्क सबैका लागि सुलभ सहर’ नारा दिएका थिए ।
झन्डै २५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको न्युयोर्क शहरमा भुँइमान्छेका जीविकासँग जोडिएका समस्यालाई मम्दानीले आफ्नो चुनावी मुद्दा बनाएका थिए ।
उनले प्रत्येक स्ट्रिटमा सुलभ किराना पसल स्थापना गर्ने, अपार्टमेन्टमा भइरहेको भाडावृद्धि रोक्ने, निःशुल्क बस सेवा सञ्चालन गर्ने, बालबालिकालाई हेरचाहको प्रबन्ध मिलाउने, २ लाख नयाँ आवास इकाई स्थापना गर्नेलगायत लोककल्याणकारी मुद्दा अघि सारेका थिए ।
चुनावमा मम्दानीले १० लाखभन्दा धेरै मत (५०.४ प्रतिशत) ल्याएका थिए । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार एन्ड्रियु कुओमोले ८ लाख ५० हजार (४१.६ प्रतिशत) तथा रिपब्लिकन पार्टीका कर्टिस सिल्भाले १ लाख ४६ हजार (७.१ प्रतिशत) हाराहारीमा मत ल्यालएका थिए ।
व्यक्तिगत जीवन र राजनीतिक करियर
भारतीय मूलका युगान्डेली नागरिक मुस्लिम बाबु र हिन्दु आमाका सन्तान मम्दानी युगान्डाको कम्पालामा १८ अक्टोबर १९९१ मा जन्मिएका थिए । उनका बुबा मोहम्मद मम्दानी कोलम्बिया विश्वविद्यालयमा मानवशास्त्र, राजनीतिक शास्त्र र अफ्रिकन स्टडिजका प्रोफेसर छन् ।
मम्दानीकी आमा मीरा नायर चर्चित फिल्मकर्मी हुन् । उनले सलाम बम्बै, मिसिस्सिपी मसाला, नेमसेकजस्ता चर्चित फिल्म निर्देशन गरिसकेकी छन् । सात वर्षको उमेरमा परिवारसँगै मम्दानी अमेरिका आएका थिए ।
उनले ब्रोन्क्स हाई स्कुल अफ साइन्समा उच्च शिक्षा तथा अफ्रिकाना स्टडिजमा मेनस्थित बोडोइन कलेजबाट स्नातक गरे । ब्रोंन्क्समा छँदा उनी विद्यार्थी चुनावमा उपाध्यक्षको उम्मेदवार पनि थिए । तर, पराजित भए ।
विद्यार्थीकालदेखि नै उनले समान अधिकार र युद्ध–विरोधी नीतिको वकालत गर्ने गरेका थिए । मम्दानीले सन् २०१८ मा मात्रै अमेरिकाको नागरिकता पाएका थिए ।
राजनीतिबाहेक क्रिकेट र हिप–हप संगीत उनका रुचिका विषय हुन् । उनी ‘मोनिकर योङ कार्डामम’ नामले र्याप क्षेत्रमा चिनिन्छन् । यही नामबाट उनले र्यापर एचबीएसँग मिलेर युगान्डाको जिन्जा सहरमा सन् २०१६ मा ‘गाउँ फर्कने छैन’ बोलको गीत प्रस्तुत गरेका थिए ।
सन् २०१६ मा प्रदर्शनमा आएको मीरा नायर निर्देशित ‘क्विन अफ काट्वी’ चलचित्रमा उनले म्युजिक सुपरभाइजरका रूपमा काम गरेका थिए । यस फिल्ममा उनी तेस्रो सहायक निर्देशक थिए र एउटा सानो रोलमा पनि देखिएका थिए ।
मामाघरतर्फकी हजुरआमाको स्मरणमा मोनिकर नामबाटै उनले सन् २०१९ मा ‘नानी’ बोलको गीत सार्वजनिक गरेका थिए । उनले आफ्नी हजुरआमालाई खुसी, विवेक र स्नेहको प्रेरणाका रूपमा लिने गरेका छन् ।
मम्दानी २०१७ मा डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिका (डीएसए) न्युयोर्क सिटी च्याप्टरमा आबद्ध भएका थिए । त्यही वर्ष न्युयोर्क सिटी काउन्सिलका उम्मेदवार प्यालेस्टिनी मूलका खादर इल यातिमको समर्थनमा उनले विभिन्न अभियान चलाए ।
तर, उक्त निर्वाचनमा यातिम पराजित भए । निरन्तर सामाजिक तथा राजनीतिक अभियानहरूमा जोडिएका मम्दानी २०२१ मा न्युयोर्कको क्विन्स सिटीस्थित डिस्ट्रिक्ट ३६ बाट न्युयोर्क राज्य सभाको सदस्य चुनिएका थिए ।
उनले घर–जग्गा खरिद र भाडा प्रक्रियालाई सर्वसुलभ बनाउने, प्रहरी र जेलको अवस्थामा सुधार ल्याउने, सेवा क्षेत्रलाई सार्वजनिक स्वामित्वमा ल्याउनेलगायत नारा दिएका थिए ।
राष्ट्रपति ट्रम्पसहितका धनाढ्यलाई चुनौती
यसपटक निर्वाचनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मम्दानीको विरोध गरेका थिए । मम्दानीले चुनाव जितेमा संघीय अनुदान रोकिदिने चेतावनीसमेत उनले सामाजिक सञ्जालमार्फत दिएका थिए ।
त्यस्तै पूर्वमेयर माइकल ब्लुम्वर्ग र बिल एकम्यानसहित न्युयोर्कका खर्बपतिहरूको समुह पनि उनीविरूद्ध लागेको थियो ।
मम्दानीले घोषणा गरेको कर्पोरेट करको विषयले खर्बपतिसँग उनको सम्बन्ध बिग्रिएको अनुमान लगाइएको छ । आफ्ना जनमैत्री कार्यक्रम कार्यान्वयनका लागि वार्षिक १० लाख डलरभन्दा धेरै आय भएका व्यक्ति तथा कर्पोरेट संस्थामाथि कर बढाउने मम्दानीको योजना छ ।
घरभाडा वृद्धि रोक्ने उनको योजनाले चर्को भाडाको मार खेपिरहेका १० लाख जनता तत्काल लाभान्वित हुने देखिन्छ । त्यस्तै, उनले २ लाख स्थायी सर्वसुलभ अपार्टमेन्ट आगामी दशकभित्र बनाउने वाचा गरेका छन् । सार्वजनिक हाउजिङको संरक्षणमा सरकारले गर्ने लगानी पनि दोब्बर बनाउने उनको वाचा छ ।
‘हामीलाई धेरै सर्वसुलभ घर जरुरी छ । बनेका प्रायः घर कामदार वर्गको पहुँचबाट टाढा छन्, जसको सबैभन्दा धेरै आवश्यकता उनीहरूलाई छ,’ चुनावी अभियानमा मम्दानीले भनेका थिए ।
तर, न्युयोर्कमा सर्वसुलभ घर विकासका लागि संघीय सरकारले ठूलो अनुदान दिनुपर्ने भएकाले मम्दानीलाई आगामी दिन चुनौतीपूर्ण हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मम्दानीको चुनावी अभियानले अमेरिकामा समाजवादको सैद्धान्तिक बहस र पुस्तान्तरणको विषयलाई बढावा दिएको छ ।
डेमोक्रेटिक पार्टीका सिनेटर बर्नी स्यान्डर्सले मम्दानीलाई कामदारका पक्षमा खडा हुने सशक्त नेताका रूपमा चित्रण गर्दै आएका छन् । त्यस्तै, अमेरिकाको तल्लो सदनमा सांसद रहेकी अलेक्ज्याद्रिया ओकासियो कोर्टेजले पनि उनको समर्थन गरेकी थिइन् ।
