फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने तयारी सुरू

बालबालिका र किशोरकिशोरीमा बढ्दो मानसिक स्वास्थ्य जोखिमसँग सामाजिक सञ्जालको प्रयोग जोडिएको भन्दै फ्रान्स सरकारले यो कदम चाल्न लागेको हो।

पुस १७, २०८२

कान्तिपुर संवाददाता

France begins preparations to keep children under 15 off social media

What you should know

काठमाडौँ — फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने तयारीस्वरूप नयाँ कानुन ल्याउने प्रक्रिया अघि बढाएको छ । बालबालिका र किशोरकिशोरीमा बढ्दो मानसिक स्वास्थ्य जोखिमसँग सामाजिक सञ्जालको प्रयोग जोडिँदै गएको निष्कर्षलाई आधार बनाउँदै फ्रान्स सरकारले यो कदम चाल्न लागेको जनाएको छ ।

सन् २०२६ को सुरुवातमा संसद्मा छलफलका लागि पेश हुने भनिएको विधेयक सेप्टेम्बर २०२६ बाट लागू गर्ने लक्ष्य राखिएको छ । रोयटर्समा प्रकाशित समाचारअनुसार प्रस्तावित कानुनले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच उपलब्ध गराउने प्लाटफर्महरूलाई प्रतिबन्ध लगाउनेछ । साथै, विद्यालयमा मोबाइल फोन प्रयोगसम्बन्धी विद्यमान प्रतिबन्धलाई पनि माथिल्ला कक्षासम्म विस्तार गर्नेछ ।  

यो कदमले यसै साता सिङ्गापुरका अनुसन्धानहरूले बाल्यकालमै बढ्दो स्क्रिन टाइमले किशोर अवस्थामा चिन्ता र निर्णय क्षमतामा असर पार्ने वैज्ञानिक आधार प्रस्तुत गरेको रिसर्चलाई अझै सान्दर्भिक बनाएको छ। सिङ्गापुरको एजेन्सी फर साइन्स, टेक्नोलोजी एन्ड रिसर्च र नेसनल युनिभर्सिटी अफ सिङ्गापुरले गरेको अध्ययनले शिशु अवस्थामा अत्यधिक स्क्रिन प्रयोग हुनु र किशोरावस्थामा देखिने अत्यधिक तनाव तथा सुस्त निर्णय क्षमताबीच प्रत्यक्ष सम्बन्ध देखाएको छ ।

रिसर्चमा संलग्न सह-प्राध्यापक टान आइ पेङले रोयटर्ससँग भनेका छन्, ‘यस अनुसन्धानले जीवनका पहिलो दुई वर्षमा स्क्रिन समय सीमित गर्नु किन अत्यन्तै महत्त्वपूर्ण छ भन्ने कुराको वैज्ञानिक प्रमाणसहित व्याख्या गर्छ ।’  

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पनि बालबालिकालाई डिजिटल हानिबाट जोगाउनु आवश्यक रहेको बताएका छन् । उनले सञ्चारकर्मीहरूसँग भनेका छन्, ‘जति धेरै स्क्रिन समय हुन्छ, उति नै मानसिक स्वास्थ्य समस्या बढ्छ ।’ उनले संचारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै डिजिटल पहुँमा उमेर सीमालाई जनस्वास्थ्यको आवश्यक विषयका रूपमा प्रस्तुत गरेका थिए । 

अस्ट्रेलियाले सन् २०२५ बाटै लागू गरेको ऐतिहासिक कानुनकै आसपास फ्रान्सको यस्तो प्रस्ताव आएको हो । अस्ट्रेलियाले डिसेम्बरदेखि लागू हुने गरी टिकटक, इन्स्टाग्राम, फेसबुक र युट्युबसहितका प्रमुख प्लाटफर्ममा १६ वर्षमुनिका बालबालिकालाई खाता खोल्न प्रतिबन्ध लगाएको छ । नियम नमान्ने कम्पनीलाई अधिकतम ४९.५ मिलियन अस्ट्रेलियन डलर जरिवाना हुने व्यवस्था छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजीले सो निर्णय घोषणा गर्दै भनेका थिए, ‘यी बालबालिकाका विकासशील मस्तिष्क हुन् र उनीहरूलाई सही तरीकाले हुर्कन आवश्यक ठाउँ चाहिन्छ ।’ 

एसियाली देशहरूले पनि बालबालिकाको सामाजिक सञ्जाल प्रयोग र स्क्रिन टाइममा कडाई गर्ने संकेत दिएका छन् । मलेसियाले २०२६ देखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने योजना सार्वजनिक गरिसकेको छ र उमेर प्रमाणीकरण (एज भेरिफिकेसन) प्रणालीको अध्ययन गरिरहेको छ । मलेसियाली सञ्चार मन्त्री फाह्मी फाजिलले एपी न्युजसँग भनेका छन्, ‘हामी इन्टरनेटलाई छिटो, सुलभ मात्र होइन, बालबालिका र परिवारका सबै सदस्यका लागि सुरक्षित पनि बनाउन चाहन्छौँ ।’ 

यसैबीच डेनमार्क, नर्वे, ईटाली, स्पेनलगायत अन्य देशहरूले पनि उमेरमा आधारित प्रतिबन्धको तयारी गरिरहेका छन् । यसले विश्वभर डिजिटल सुरक्षा, अधिकार र कार्यान्वयनबीचको सन्तुलनबारे बहसलाई थप तीव्र बनाएको छ।

कान्तिपुर

Link copied successfully