'द पोयन्टर'ले सार्वजनिक गरेको '२०२५ : मिडिया इयर इन रिभ्यु' अनुसार यो वर्ष सञ्चार क्षेत्रका लागि तीव्र ध्रुवीकरण, राजनीतिक हस्तक्षेप र प्राविधिक चुनौतीको वर्ष रह्यो ।
What you should know
काठमाडौँ — सन् २०२५ को अन्त्यसँगै विश्व सञ्चारमाध्यमको वार्षिक समीक्षा सुरु भएको छ । पत्रकारिता र मिडिया अध्ययनमा केन्द्रित संस्था 'द पोयन्टर'ले सार्वजनिक गरेको २०२५ मिडिया इयर इन रिभ्यु अनुसार यो वर्ष सञ्चार क्षेत्रका लागि तीव्र ध्रुवीकरण, राजनीतिक हस्तक्षेप र प्राविधिक चुनौतीको वर्ष रह्यो ।
विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्षमै प्रेसमाथि भएका आक्रमण, नयाँ पोपबाट प्राप्त संस्थागत समर्थन, ठूला मिडिया हाउसहरूको नेतृत्व फेरबदल तथा आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग र दुरुपयोग वर्षका प्रमुख परिघटना बनेका छन् ।
ट्रम्प प्रशासन र प्रेसमाथि बढ्दो दबाब
पोयन्टरका अनुसार २०२५ को सबैभन्दा ठूलो मिडिया घटना ट्रम्प प्रशासनले प्रेसमाथि गरेको निरन्तर प्रहार हो । दोस्रो कार्यकालको सुरुआती वर्षमै ह्वाइट हाउसले एनपीआर र पीबीएसको सरकारी बजेट कटौती गरेको थियो ।
गल्फ अफ मेक्सिकोलाई 'गल्फ अफ अमेरिका भन्न अस्वीकार गरेको भन्दै एसोसिएटेड प्रेस (एपी) लाई कतिपय राष्ट्रपति सम्बद्ध कार्यक्रममा प्रवेश निषेध गरिएको विषयले प्रेस स्वतन्त्रतामाथिको जोखिम थप उजागर गर्यो । पत्रकारहरूमाथि व्यक्तिगत लाञ्छना, अपमानजनक टिप्पणी र आरोप प्रत्यारोपका शृंखला पनि रोकिएनन् । पोयन्टरको 'प्रेस फ्रिडम वाच'ले अमेरिकामा २०२५ प्रेसका लागि 'अन्धकारपूर्ण वर्ष' साबित भएको टिप्पणी गरेको छ ।
मिडियाको विभाजन
वर्षको मध्यतिर दक्षिणपन्थी इन्फ्लुएन्सर चार्ली कर्कको हत्या घटनाले अमेरिकी मिडियाको वैचारिक विभाजन छताछुल्ल पार्यो । यस्तै, पत्रकार ओलिभिया नुजीसँग जोडिएको स्क्यान्डल, वासिंगटन पोस्टको सम्पादकीय नीतिमा आएको फेरबदल तथा त्यसपछि देखिएको संस्थागत असन्तुष्टिले पत्रकारिताको नैतिकता र निष्पक्षतामाथि गम्भीर बहस जन्मायो ।
सम्पादकीय नीतिमा परिवर्तनको निर्णयपछि वासिंगटन पोस्टका मालिक जेफ बेजोसको भूमिकामाथिसमेत प्रश्न उठे । असन्तुष्टि जनाउँदै धेरै वरिष्ठ पत्रकारले राजीनामा दिए, जसले मिडिया हाउसभित्रको ध्रुवीकरणलाई थप गहिरो बनायो ।
एआई : दुरुपयोग र सम्भावना
प्रविधि क्षेत्रमा मेटा (फेसबुक/इन्टाग्राम) ले 'थर्ड पार्टी फ्याक्ट चेकिङ' प्रणाली बन्द गर्ने घोषणा गरेपछि सामाजिक सञ्जालमा गलत सूचनाको जोखिम अझै बढेको पोयन्टरले औंल्याएको छ । यसैबीच सिकागो सन टाइम्सले एआई प्रयोगमार्फत अस्तित्वमै नभएका पुस्तकहरूको सूची प्रकाशन गरेपछि आलोचनाको केन्द्र बन्यो । तर, मिनेसोटा स्टार ट्रिब्युनले भने एआईको प्रयोगमार्फत खोज पत्रकारितामा उल्लेख्य नतिजा ल्याउँदै प्रविधिको सकारात्मक सम्भावना पनि देखाएको रिपोर्टमा उल्लेख छ ।
गाजा : पत्रकारका लागि सबैभन्दा असुरक्षित क्षेत्र
द्वन्द्वग्रस्त क्षेत्र २०२५ मा पनि पत्रकारका लागि सबैभन्दा जोखिमपूर्ण बने । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) का अनुसार यो वर्ष विश्वभर मारिएका पत्रकारमध्ये करिब ४३ प्रतिशत गाजा क्षेत्रमा इजरायली सैन्य कारबाहीका क्रममा ज्यान गुमाएका छन् । गाजा, यमन, लेबनान र इरानलाई पत्रकारिता गर्नका लागि विश्वकै सबैभन्दा असुरक्षित स्थानका रूपमा चित्रित गरिएको छ ।
'मिडिया पर्सनालिटी अफ द इयर'
सन् २०२५ को सबैभन्दा प्रभावशाली मिडिया व्यक्तित्वको सम्मान बारी वेइसलाई दिइएको छ । सीबीएस न्युजकी एडिटर इन चिफको जिम्मेवारी सम्हाल्नुअघि वेइसले न्युयोर्क टाइम्सको ओपिनियन पृष्ठबाट अलग भएर स्वतन्त्र मिडिया प्लेटफर्म ‘द फ्री प्रेस’ स्थापना गरेकी थिइन् ।
अक्टोबरमा मात्र सीबीएस नेतृत्वमा पुगेकी वेइसले आफ्नो प्लेटफर्मलाई करिब १५० मिलियन अमेरिकी डलरमा सीबीएसलाई बिक्री गरेपछि मिडिया वृत्तमा तरंग सिर्जना भएको थियो । टेलिभिजन पत्रकारितामा औपचारिक अनुभव नभए पनि सीबीएसको शीर्ष नेतृत्वमा पुग्नु र ‘द फ्री प्रेस’ सँगको साझेदारी बिस्तारले उनलाई वर्षकै चर्चित र प्रभावशाली पात्र बनाएको पोयन्टरको निष्कर्ष छ ।
