पुटिन निवासमा युक्रेनले आक्रमण गरेको छैन : जेलेन्स्की

युक्रेनमा आक्रमण जारी राख्न रुसले बहानाबाजी गरेको जेलेन्स्कीको आरोप

पुस १५, २०८२

कान्तिपुर संवाददाता

Ukraine did not attack Putin's residence: Zelensky

एजेन्सी — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा युक्रेनले ड्रोन आक्रमण नगरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । 

यसअघि रुसका विदेशमन्त्री सर्गेई लाभरोभले रुसको उत्तरपश्चिमी नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासमा युक्रेनले  ९१ वटा लामो दूरीको मानवरहित ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेका थिए ।

सबै आक्रमणलाई निस्तेज गरिएको दाबी विदेशमन्त्री लाभरोभले गरेका थिए । जेलेन्स्कीले उक्त दाबी झुठो रहेको बताए । 'यो विशिष्ट रूसी झुठ हो,' उनले भने । युक्रेनमा आक्रमण जारी राख्नका लागि रुसले यस्तो बहानाबाजी गरेको उनले बताए ।

शान्ति वार्तालाई रुसले नजरअन्दाज गरेको पनि उनले आरोप लगाए ।  ‘अब विश्व चुप बस्न मिल्दैन ।  दिगो शान्तिका लागि चलिरहेको कामलाई रुसले नजरअन्दाज गरोस्, हामी त्यस्तो अनुमति दिन सक्दैनौं ,’ उनले भने । उनले शान्ति वार्ताका लागि अमेरिकासँग चलिरहेको छलफल जारी राख्ने बताए ।  

शान्तिवार्ता अन्तिम चरणमा 

यसअघि आइतबार जेलेन्स्कीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फ्लोरिडाको मियामीमा तीन घण्टा लामो वार्ता गरेका थिए ।  बैठकपछि जेलेन्स्कीले शान्ति योजनाका ९० प्रतिशत सर्तमा सहमति भइसकेको बताएका थिए ।

यद्यपि भूभाग, युक्रेनको सुरक्षा ग्यारेन्टी र आणविक ऊर्जा केन्द्रको भविष्यलाई लिएर वार्ता अड्किएको बताइएको छ । रुसले थप आक्रमण गर्नुअघि नै भू–भागसम्बन्धी सम्झौता गर्नु उपयुक्त हुने ट्रम्पले सुझाव दिएका छन् ।

अमेरिकाले १५ वर्षका लागि युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने प्रस्ताव राखेको पनि जेलेन्स्कीले बताएका छन् । फ्लोरिडामा ट्रम्पसँगको वार्तापछि उनले यस्तो भनेका हुन् । जेलेन्स्कीले ५० वर्षका लागि सुरक्षा प्रत्याभूति माग गरेका थिए ।

फेब्रुअरी २०२२ देखि सुरु भएको युद्धमा अहिलेसम्म ठूलो संख्यामा मानिस मारिइसकेका छन् भने लाखौंले घरबार छाडेका छन् । 

गत महिना ट्र्रम्पका दूत स्टिभ विटकफले अघि सारेको शान्ति सम्झौताको २८ बुँदे प्रारम्भिक मस्यौदामा लामो छलफल चलेको थियो । यस मस्यौदालाई लिएर रुस निकै सकारात्मक थियो ।

तर कतिपय बुँदाहरूलाई लिएर युक्रेन र उसका युरोपेली साझेदारले असहमति जनाए । त्यसपछि अमेरिका तथा युरोपेली साझेदारहरूसँग समेत छलफल गरेर युक्रेनले २० बुँदे योजना अघि सारेको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले २३ डिसेम्बरमा यस संशोधित मस्यौदालाई सार्वजनिक गरेका थिए । यसमा युक्रेनको सार्वभौमिकता, युक्रेनलाई नाटो राष्ट्रसरह नै सुरक्षा प्रत्याभूतिको व्यवस्था, युक्रेनी सेनाको संख्या यथावत् (यसअघि २८ बुँदे मस्यौदामा सेनाको आकार घटाउने उल्लेख थियो), युरोपेली युनियनमा युक्रेनको सदस्यता, रुसको कब्जामा रहेको आणविक ऊर्जा केन्द्रको भविष्यलगायत विषय उल्लेख छन् । युक्रेनले अघि सारेको यस प्रस्तावमा रुस सकारात्मक छैन ।

पुटिनले यसअघि युक्रेनलाई युद्ध अन्त्य गर्न कुनै हतारो नरहेको आरोपसमेत लगाएका थिए । उनले युक्रेनले युद्ध अन्त्यमा चासो नदेखाए सैनिक बल प्रयोग गरेर पनि रुसले आफ्नो योजना सफल बनाउने दाबी गरेका थिए ।

कान्तिपुर

Link copied successfully