थाई सेनाले कम्बोडियाद्वारा थाइल्यान्डको भूभागभित्र २ सय ५० भन्दा बढी ड्रोन उडाएर सहमतिलाई बेवास्ता गरेको आरोप लगाएको छ ।
What you should know
बैंकक (रासस/एएफपी) — सीमा विवादका कारण थाइल्यान्डसँग चलेको युद्ध अन्त्य गर्ने गरी गत शनिबार शान्ति सम्झौतामा हस्ताक्षर गरेको कम्बोडियाले सोमबार त्यसको उल्लंघन गरेको आरोप लागेको छ ।
थाइल्यान्डको सेनाले कम्बोडियामाथि हालैको युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएको हो । थाई सेनाले कम्बोडियाद्वारा थाइल्यान्डको भूभागभित्र २ सय ५० भन्दा बढी ड्रोन उडाएर सहमतिलाई बेवास्ता गरेको आरोप लगाएको छ ।
थाई सेनाले जारी गरेको विज्ञप्तिमा आइतबार राति कम्बोडियातर्फबाट थाइल्यान्डको सार्वभौम क्षेत्रमा घुसपैठ गर्दै २ सय ५० भन्दा बढी मानवरहित हवाई यान (यूएभी) उडिरहेको पत्ता लागेको उल्लेख गरिएको छ । यस्ता गतिविधिले शान्ति सम्झौतालाई कमजोर पारेको थाई सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । थाई पक्षले द्विपक्षीय सीमा समितिको बैठकपछि जारी संयुक्त वक्तव्यसँग कम्बोडियाका पछिल्लो गतिविधि असंगत रहेको आरोप लगाउँदै यस्ता घटनाले दुई देशबीचको आपसी विश्वासमा आघात पुर्याएको संकेत गरेको छ ।
थाई आरोपप्रति प्रतिक्रिया दिँदै कम्बोडियाका विदेशमन्त्री प्राक सोखोन्नले सोमबार राज्य–टेलिभिजनमार्फत दुवै देशका प्रतिनिधिहरूले यस घटनाबारे छलफल गरिसकेको जानकारी दिए । प्राक सोखोन्नले यस घटनालाई ‘सानो समस्या’ का रूपमा व्याख्या गर्दै दुवै देशले अनुसन्धान गरेर तुरुन्तै समाधान गर्ने सहमति गरेको बताए । थाइल्यान्ड र कम्बोडियाबीच वर्षौंदेखिको सीमा तनावलाई पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अग्रसरतामा मत्थर पारिएको थियो । लगभग युद्धविरामकै अवस्थामा सहमत भएका दुवै देशबीच यसै महिनादेखि दर्जनौं व्यक्तिको ज्यान जाने गरी पुनः सीमा झडप सुरु भएपछि तनाव उत्कर्षमा पुगेको थियो । पछिल्ला झडपका कारण १० लाख जनाभन्दा बढी स्थानीय विस्थापित भएको बताइएको छ । पुनः सुरु भएको उक्त लडाइँ दुवै देशका करिब सबै सीमावर्ती प्रान्तमा फैलिएको थियो ।
शनिबार हस्ताक्षर गरिएको सम्झौताअनुसार दुवै दक्षिणपूर्वी एसियाली छिमेकी मुलुकले सीमा क्षेत्रमा गोली नचलाउने, सेनाको आवागमन सीमित गर्ने र साइबर अपराधविरुद्ध सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
चीनको मध्यस्थता प्रयास
हङकङ– चीनले दक्षिणपूर्व एसियाली कूटनीतिमा आफ्नो भूमिका थप बलियो बनाउने प्रयासस्वरूप कम्बोडिया र थाइल्यान्डका विदेशमन्त्रीहरूसँग सोमबार त्रिपक्षीय बैठक गरेको छ । बेइजिङले दुई छिमेकी मुलुकबीच जारी हिंसात्मक सीमा विवादमा प्रभावकारी मध्यस्थकर्ताका रूपमा
आफ्नो भूमिका बढाउन खोजिरहेको देखिन्छ । जबकि यस मुद्दामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जस लिन खोजिरहेका छन् । कम्बोडिया र थाइल्यान्डबीच शनिबार भएको शान्ति सम्झौता आफ्नो पहलमा सम्भव भएको भन्दै ट्रम्पले सोमबार अमेरिका विश्वका लागि ‘राष्ट्रसंघ’ को भूमिकामा देखिएको तर्क गरेका हुन् । तर कम्बोडिया र थाइल्यान्डबीच सोमबार पुनः तनाव सिर्जना भइरहेको छ ।
विवादित सीमाको उत्तरतर्फ पर्ने चीनको दक्षिणपश्चिमी प्रान्त युनानमा सम्पन्न बैठकमा थाइल्यान्ड र कम्बोडियाले लडाइँ अन्त्य गर्न युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको दुई दिनपछि भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीले बैठकमा क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि संयुक्त प्रयास आवश्यक रहेको बताए । यसले चीन क्षेत्रीय संकटहरूमा प्रत्यक्ष रूपमा संलग्न हुन चाहेको संकेत दिएको विश्लेषण गरिएको छ ।
कम्बोडियाका विदेशमन्त्री प्राक सोखोन्नले पछिल्लो युद्धविराम दिगो हुने विश्वास व्यक्त गर्दै दुवै देशबीच सम्बन्ध सुधार तथा मतभेद समाधानका लागि पहिले सहमति भएका संयन्त्रहरू पुनः सक्रिय हुने वातावरण बन्ने अपेक्षा गरे । थाइल्यान्डका विदेशमन्त्री सिहासाक फुआंगकेटकोलले पनि छिमेकी मुलुकसँग शान्तिपूर्ण सहअस्तित्वको आशा व्यक्त गरेका छन् । चीनले पछिल्ला वर्षहरूमा आफूलाई अन्तर्राष्ट्रिय मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्दै आएको छ । एसियालगायत क्षेत्रीय संकटहरूमा प्रभाव बढाउने उद्देश्यसहित बेइजिङले कूटनीतिक गतिविधि तीव्र बनाएको देखिन्छ ।
