चौथो अर्थतन्त्र बन्यो भारत

आगामी तीन वर्षभित्र जर्मनीलाई उछिनेर भारत तेस्रो अर्थतन्त्र बन्‍ने आशा पनि सरकारी अधिकारीहरुले व्यक्त गरेका छन् ।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

India has become the fourth largest economy

What you should know

रासस — भारतको कुल ग्राहस्थ उत्पादन ४.१८ ट्रिलियन डलर बराबर पुगेको सरकारी तथ्याङ्हरुले देखाएका छन् ।

यससँगै जापानलाई उछिनेर भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको यस वर्षको आर्थिक समिक्षाको निष्कर्ष छ । 

आगामी तीन वर्षभित्र जर्मनीलाई उछिनेर भारत तेस्रो अर्थतन्त्र बन्‍ने आशा पनि सरकारी अधिकारीहरुले व्यक्त गरेका छन् ।

यद्यपी सबै देशहरूको आधिकारिक अवस्था सन् २०२६ मा वैश्विक वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) तथ्याङ्क सार्वजनिक भएपछि मात्र उजागर हुनेछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले भारतको अर्थतन्त्रले अर्को वर्ष जापानलाई पार गर्ने अनुमान गरेको छ ।

भारतको जिडिपी सन् २०३० सम्ममा ७.३ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । गत अगस्टमा वासिङ्टनले भारतको रुसी तेल खरिदमा भन्सार शुल्क लगाए पनि नयाँदिल्लीले आफ्नो विकास गतिलाई कायम राखेको देखिएको छ ।

सरकारले यसलाई ‘विश्वव्यापी व्यापार अनिश्चितताबीचको लचिलोपन’ को सङ्केतका रूपमा व्याख्या गरेको छ । तर अन्य आर्थिक सूचकहरूले चुनौती पनि देखाएका छन् । जनसङ्ख्याको दृष्टिले, भारत सन् २०२३ मा चीनलाई उछिनेर सबैभन्दा बढी जनसङ्ख्याको राष्ट्र बन्यो । 

विश्व बैंकको तथ्याङ्कअनुसार सन् २०२४ मा भारतको प्रतिव्यक्ति जिडिपी दुई हजार ६९४ डलर मात्र थियो । यो जापानको ३२ हजार ४८७ डलर र जर्मनीको ५६ हजार १०३ डलरभन्दा निकै कम छ ।

सरकारी तथ्याङ्क अनुसार भारतका एक अर्ब ४० करोड जनसङ्ख्यामध्ये करिब एक चौथाइ १०–२६ वर्ष उमेर समूहका छन् । त्यहीकारण युवा जनशक्तिलाई उत्पादनशील बनाउन र समावेशी तथा दिगो विकासका लागि गुणस्तरीय रोजगारी सिर्जना गर्नुपर्ने चुनौती सरकारको अगाडि छ ।

 प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष उपभोग करमा व्यापक कटौती र श्रम कानून सुधारको घोषणा गरेका छन् । आर्थिक वृद्धिलाई समर्थन गर्ने यस्तो कदम चालिएको हो । 

कान्तिपुर

Link copied successfully