बेइजिङले यसलाई पृथकतावादी शक्ति र ‘बाह्य हस्तक्षेप’ विरुद्धको चेतावनीका रूपमा लक्षित रहेको बताएको छ ।
What you should know
हङकङ (एपी/रासस) — चीनले सोमबार ताइवान टापु वरिपरि हवाई, नौसेना र मिसाइल युनिटहरू तैनाथ गरी संयुक्त सैन्य अभ्यास गरेको छ ।
अमेरिकाले हालै ताइवानलाई अहिलेसम्मकै ठूलो युद्ध हतियार बिक्रीको घोषणा गरेपछि बेइजिङले प्रतिक्रियास्वरूप यस्तो अभ्यास थालेको बताइएको छ ।
बेइजिङले यसलाई पृथकतावादी शक्ति र ‘बाह्य हस्तक्षेप’ विरुद्धको चेतावनीका रूपमा लक्षित रहेको बताएको छ । पछिल्लो तनाव बढ्दै जाँदा चीनले स्वशासित क्षेत्र ताइवानमाथि हमला गर्न सक्ने अनुमान गरिएको छ । यसै परिप्रेक्ष्यमा जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले यदि चीनले हमला गरेमा आफ्नो सेना पनि ताइवानको पक्षमा उभिन सक्ने भन्दै चेतावनी दिएकी थिइन् । जापानको उक्त चेतावनीपछि पनि थप चिढिएको चीनले सैन्य अभ्यास थाल्दै बाह्य हस्तक्षेपविरुद्ध आक्रोश पोखेको हो ।
सैन्य गतिविधि बढाएपछि ताइवानले पनि चीनलाई ‘शान्तिको सबैभन्दा ठूलो शत्रु’ रहेको टिप्पणी गर्दै आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको जनाएको छ । चीनको सैन्य अभ्यासका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा एक लाखभन्दा बढी यात्रुहरू प्रभावित भएको ताइवानको उड्डयन प्राधिकरणले जनाएको छ । चीनको संयुक्त सैन्य अभ्यासका कारण कैयन् अन्तर्राष्ट्रिय उडानहरू रद्द हुनुका साथै यस क्षेत्र हुँदै उडान भर्ने कतिपय ‘फ्लाइट डाइभर्ट’ गरिएका छन् ।
चिनियाँ विदेश मन्त्रालयले ताइवानको सत्तारूढ दललाई अमेरिकी समर्थनमा स्वतन्त्रता खोज्ने प्रयास गरेको आरोप लगाएको छ । ताइवानको रक्षा मन्त्रालयले पनि यसमा तत्काल प्रतिक्रिया जनाउँदै चिनियाँ कम्युनिस्ट पार्टी निर्देशित सेनाले गरिरहेको सैनिक क्रियाकलापले शान्ति बिथोल्ने प्रयास गरिरहेको आरोप लगाएको छ । चीनको जनमुक्ति सेनाका पूर्वी थिएटर कमान्डका प्रवक्ता सिनियर कर्नेल शी यीले यस अभ्यास ताइवान टापुको चारैतर्फ सञ्चालन हुने जनाएका छन् । उनले यसलाई समुद्री तथा हवाई युद्ध तयारीस्वरूपको गस्ती भएको र मुख्य बन्दरगाहहरूमा नाकाबन्दीमा केन्द्रित रहने बताए । ‘यो सैन्य अभ्यास ताइवान स्वतन्त्रताका लागि सक्रिय पृथकतावादी शक्तिहरू र बाह्य हस्तक्षेपविरुद्धको चेतावनी हो,’ सैन्य प्रवक्ता शीले भनेका छन्, ‘चीनको सार्वभौमसत्ता र राष्ट्रिय एकताको रक्षा गर्न सेनाले वैधानिक र आवश्यक कारबाही गर्नेछ ।’
गत साता बेइजिङले हतियार बेच्ने २० अमेरिकी कम्पनी र १० जना यसका प्रमुखहरूमाथि चीन प्रवेश तथा व्यापारमा प्रतिबन्ध लगाएपछि चीन र वासिङटनबीच तनाव बढेको थियो । वासिङटनले पनि प्रतिक्रियामा ताइवानलाई १० अर्ब डलरभन्दा बढी मूल्यका ठूलो मात्रामा हतियार बिक्रीको घोषणा गरेपछि तनाव उत्कर्षमा पुगेको छ । वासिङटनले भने हतियार बिक्रीलाई अमेरिकी संघीय कानुनअन्तर्गत ताइवानको रक्षाका लागि बाध्यकारी सहयोग बताएको छ ।
