सैनिक बल प्रयोगबाटे युक्रेनमा लक्ष्य हासिल गर्ने पुटिनको चेतावनी

पुटिनले भने, 'यदि किभ शान्ति चाहँदैन भने रुसले सैन्य माध्यमबाट विशेष सैन्य अपरेसनका सबै लक्ष्य हासिल गर्नेछ ।'

पुस १३, २०८२

कान्तिपुर संवाददाता

Putin warns of using military force to achieve goals in Ukraine

एजेन्सी — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैनिक बल प्रयोगबाट रुसले युक्रेनमा लक्ष्य हासिल गर्ने चेतावनी दिएका छन् ।

।शनिबार रुसी सशस्त्र बलको एक कमान्ड पोस्टको भ्रमणपछि युद्धको शान्तिपूर्ण निकासमा युक्रेनले चासो नदिएको आरोप उनले लगाए । 

'युक्रेनलाई शान्तिपूर्ण निकासमा हतार भएजस्तो देखिन्‍न, '  राष्ट्रपति पुटिनले भने, 'यदि किभ शान्ति चाहँदैन भने रुसले सैन्य माध्यमबाट विशेष सैन्य अपरेसनका सबै लक्ष्य हासिल गर्नेछ ।'

रुसी–युक्रेनी सीमामा बफर जोन स्थापना गर्ने काम योजनाअनुसार नै अघि बढिरहेको छ र रुसी सेनाले डोन्बास र जापोरिजिया क्षेत्रको सम्पूर्ण सम्पर्क रेखामा प्रगति गरिरहेको दाबी उनले गरे । 

राष्ट्रपति पुटिनले चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोभ र विभिन्न युद्ध समूहका कमान्डरहरूसँग भेटवार्ता गरेपछि यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

यसअघि आइतबार युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्कीले  रुसले शान्ति नचाहेको आरोप लगाएका थिए ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्नका लागि फ्लोरिडा पुगेका जेलेन्स्कीले यस्तो आरोप लगाएका हुन् । 

रुसले शुक्रबार किभसहित युक्रेनका धेरै भूभागमा हवाई तथा ड्रोन हमला समेत गरेको थियो ।

१० घण्टा लामो क्षेप्यास्त्र र ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

वार्ताको तयारी चलिरहेकै बेला आक्रमणमा उत्रनुले रुस शान्तिको पक्षमा नरहेको प्रष्ट देखाएको जेलेन्स्कीले बताए ।

कान्तिपुर

Link copied successfully