राष्ट्रसंघद्वारा सिरिया आक्रमणको निन्दा

सिरियाको गृह मन्त्रालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

पुस १२, २०८२

कान्तिपुर संवाददाता

UN condemns Syria attack

What you should know

काठमाडौँ — संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सिरियाको होम्स प्रान्तस्थित मस्जिदमा भएको आक्रमणको निन्दा गरेका छन् ।

शुक्रबार प्रार्थनाको समयमा होम्सको इमाम अली बिन अबी तालिब मस्जिदलाई लक्षित गरी भएको बम बिस्फोटमा कम्तिमा ८ जनाको मृत्यु भएको थियो भने  १८ भन्दा बढी घाइते छन् ।

महासचिव गुटेरेसले घटनाप्रति शोक व्यक्त गर्दै परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । त्यसैगरी सिरियाली विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनालाई कायरतापूर्ण कार्य भनेको छ । सिरियालाई अस्थिर र सिरियाली जनतालाई कमजोर पार्ने लक्ष्यले आक्रमण भएको मन्त्रालयले जनाएको छ ।

'यसले मानवता र नैतिक मूल्यमान्यतामा स्पष्ट आक्रमण गरेको छ । पीडित परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित पीडादायी अवस्थामा रहेका सिरियाली जनतासँग पूर्ण एकता व्यक्त गर्दछौं,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

घटनापछि सार्वजनिक फुटेजमा मानिसहरू आतंकित भएर मस्जिदबाट भागिरहेको, केही पीडितहरूलाई स्ट्रेचरमा राखेको र अरूलाई लुगाले बेरेर एम्बुलेन्समा पुर्याएको देखिन्छ ।

‘मस्जिदको मुख्य प्रार्थना हलको कुनामा बिस्फोट भएको देखिन्छ । जसले गर्दा भित्तामा सानो खाल्डो पर्यो र वरपरको क्षेत्र ढड्यो । प्रार्थनाका कार्पेटहरू च्यातिएर भग्नावशेष छरिएका थिए, र किताबका टुक्राहरू भुइँमा छरिएका थिए ,’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिरामा उल्लेख छ । सिरियाको गृह मन्त्रालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । 

कान्तिपुर

Link copied successfully