२० दिन लामो लडाइँमा १ सयभन्दा धेरैको मृत्यु र ५ लाखभन्दा धेरै बिस्थापति भएका थिए ।
एजेन्सी — थाइल्याण्ड र कम्बोडियाबीच हप्तौंदेखि चलिरहेको लडाईं अन्त्य गर्न युद्धविराम सम्झौता भएको छ । शनिबार कम्बोडियाका रक्षामन्त्री टी सेइहा र थाइल्याण्डका रक्षामन्त्री नट्टाफोन नार्कफानिटले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
यस लडाईंमा १०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । त्यस्तै, दुबै देशका पाँच लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् ।
शनिबार स्थानीय समयअनुसार १२ बजेदेखि सम्झौता लागु भएको छ । त्यसलगलै काम्बोडियाको सीमावर्ती शहर पोइपेटमा बन्दूक चल्न छाडेको अलजजिराले जनाएको छ ।
युद्धविराम पालना भएको ७२ घण्टाभित्र थाइल्यान्ड कम्बोडियाका १८ जना सैनिक (जो लडाइँका दौरान पक्राउ परेका थिए) फिर्ता गर्ने सहमति पनि बनेको छ ।
पछिल्ला २० दिन यी दुबै देशबीच भीषण युद्ध चलेको थियो । दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) का पर्यवेक्षकहरूको टोलीले हालको सम्झौताको कार्यान्वयनको अनुगमन पनि सम्झौतामा उल्लेख छ । समस्याहरुलाई संवादमार्फत हल गर्दै जाने सहमति पनि दुई पक्षबीच भएको छ ।
यस वर्ष थाइल्यान्ड र कम्बोडियाबीच यो दोस्रो लडाइँ हो । यसअघि गत जुलाईमा ५ दिनसम्म चलेको लडाइँमा दर्जनौं मानिस मारिएका थिए । त्यसपछि अमेरिका, चीन र मलेसियाको मध्यस्थतामा दुई देशबीच युद्धविराम भएको थियो । तर डिसेम्बरको सुरुमा युद्धविराम फेरि भंग भयो ।
