पूर्वी डोनेत्स्क क्षेत्रमा 'स्वतन्त्र आर्थिक क्षेत्र' स्थापना गर्न सकिने जेलेनेस्कीले बताए
What you should know
एजेन्सी — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी प्रतिनिधिमण्डलसँग रुस-युक्रेन युद्ध समाप्त गर्ने विषयमा सकारात्मक कुराकानी भएको बताएका छन् ।
जेलेन्स्कीले बिहीबार अमेरिकी दूत स्टिभ विट्कफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाँइ जारेड कुश्नरसँग झन्डै एक घण्टा लामो कुराकानी गरेका थिए ।
बुधबार फ्लोरिडामा अमेरिकी र युक्रेनी प्रतिनिधिहरूले २० बुँदे शान्तिमा बुधबार सहमति गरेका थिए । उक्त योजना केही साताअघि विट्कफले तयार पारेको प्रारम्भिक मस्यौदाको संशोधित रुपमा हो । यसअघि प्रारम्भिक मस्यौदाले रुसलाई मात्रै फाइदा पुर्याउने देखिएको भन्दै जेलेनेस्की यसमा सहमत दिएनन् । बुधबार संशोधित प्रस्तावमा युक्रेनलाई सुरक्षा ग्यारेन्टी मिलेको उनले बताए ।
'यो योजनामा अब अमेरिका, नेटो र युरोपेलीहरूले दिएको सुरक्षा ग्यारेन्टी समावेश छ, जसअनुसार रुसले फेरि आक्रमण गरेमा संयोजित सैन्य प्रतिक्रिया आउनेछ,' उनले भने ।
युक्रेनको औद्योगिक पूर्वी डोनेत्स्क क्षेत्रमा 'स्वतन्त्र आर्थिक क्षेत्र' स्थापना गर्न सकिने जेलेनेस्कीले बताए । रुसले हाल डोनेत्स्कको ७५% र छिमेकी लुहान्स्कको ९९% हाराहारीमा इलाका कब्जा गरेको छ। यी दुवै इलाकालाई डोन्बास क्षेत्र भनिन्छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले रुसी नियन्त्रणमा रहेका क्षेत्र रुसीकै हुनुपर्ने दाबी गर्दै आएका छन् । बिहीबार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकाबाट आएका प्रस्तावहरूको अध्ययन भइरहेको बताए। 'हामी यो सामग्रीको परीक्षण गरिरहेका छौं, र राष्ट्रप्रमुखले लिने निर्णयका आधारमा अमेरिकीहरूसँग हाम्रो संवाद जारी राख्नेछौं,' उनले भने।
दुई देशबीच वार्ताको पहल र लडाइँ एकसाथ चलिरहेको छ । युक्रेनी सेनाले बिहीबार क्रुज मिसाइलले रुसको दक्षिणी रोस्तोभ क्षेत्रको प्रमुख तेल प्रशोधन कारखानामाथि प्रहार गरेको जनाएको छ । त्यस्तै, रुसी रक्षा मन्त्रालयले डोनेत्स्क क्षेत्रको स्वियातो-पोक्रोभ्स्के बस्ती कब्जामा आएको दाबी गरेको छ ।
