गत नोभेम्बरमा ट्रम्पले नाइजेरियामा इस्लामिक सैन्य समूहहरूसँग लड्नका लागि तयार रहन अमेरिकी सेनालाई आदेश दिएका थिए ।
काठमाडौँ — नाइजरियाको उत्तरपश्चिमी क्षेत्रमा इलास्मिक स्टेट (आइएस) विद्रोहीहरुमाथि अमेरिकाले हमला गरेको छ ।
यसअघि गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी रक्षा विभागलाई सैन्य हस्तक्षेपको तयारी गर्न आदेश दिएका थिए ।
बिहीबार ट्रम्पले आइएसमाथि आक्रमण गरिएको जानकारी सामाजिक सञ्जाल ट्रुथमार्फत दिए । आईएसले निर्दोष ईसाई धर्मालम्बीलाई निशाना बनाएकाले यस्तो आक्रमण गर्नुपरेको ट्रम्पको दाबी छ ।
सामाजिक सञ्जाल ट्रुथमा गरिएको पोस्टमा उनले लेखेका छन्, ‘ मेरो नेतृत्वमा हाम्रो देशले अतिवादी इस्लामिक आतंकवादलाई फक्रन दिदैंन ।’ अमेरिकी सेनाको अफ्रिका कमाण्ड (अफ्रिकम) ले नाइजेरियासँग समन्वय गरेर सोकोटो राज्यमा आक्रमण गरिएको जानकारी दिएको छ ।
नाइजेरियाली विदेशमन्त्री युसुफ मैतामा तुग्गरले आक्रमणको पुष्टि गरेका छन् । तर, धर्मसँग यसको सम्बन्ध नरहेको बताएका छन् ।
'यो आतंकवादीहरूलाई लक्षित गरिएको संयुक्त अपरेशन थियो कुनै विशेष धर्मसँग यसको कुनै सम्बन्ध छैन,' तुग्गरले बेलायती सञ्चारमाध्यम बीबीसीसँग भनेका छन् ।
अमेरिकाले सैनिक हस्तक्षेप गरेको नाइजेरिया विगत एक दशकभन्दा लामो समयदेखि गृहयुद्धमा छ । यहाँ अल्पसंख्यक ईसाईमाथि भइरहेको जातीय नरसंहारविरुद्ध नाइजेरिया सरकारले केही गर्न नसकेको आरोप अमेरिकाको छ ।
नाइजेरियाले यसलाई अस्विकार गर्दै आएको छ । संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रतालाई कायम गर्ने विषय सरकारले सधैं प्राथमिकतामा राखेको नाइजेरियाको दाबी छ ।
आइस को हो ?
कुनै समय सिरिया र इराकमा ठूलो भूभागमा फैलिएको आईएस अहिले पनि मध्यपूर्व र अफ्रिकाका केही देशहरुमा सक्रिय छ । अफ्रिकामा यसको सबैभन्दा ठूलो उपस्थिती नाइजेरियाको उत्तरपूर्वी बोर्नो र योबे राज्य तथा चाद बेसिन क्षेत्रमा (नाइजर, चाद, नाइजेरिया, क्यामरुनमा फैलिएको ) छ ।
आईएसअघि २००० को दशकमा उत्तरी नाइजेरियामा बोको हराम विद्रोही संगठन सक्रिय थियो । यस उग्रवादी इस्लामिक समहुले पश्चिमी शिक्षा बहिस्कार र धर्मनिरपेक्ष संविधान खारेजीको माग गरेको थियो ।
सन् २००९ मा बोको हरामका नेता मोहम्मद युसुफ मारिएपछि यस संगठनले हिंसात्मक गतिविधिलाई थप बढायो । २०१५ सम्म आइपुग्दा यो संगठन आफैं विभाजित भइरहेको थियो ।
यही समय एउटा गुटले इस्लामिक स्टेट (आर्ईएस) सँग गठबन्धन गर्यो । त्यसयता, इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्त (आईएसडब्ल्युएपी) नामले यो संगठन हिंसात्मक गतिविधिमा सक्रिय छ ।
यस समुहमा ४ हजारदेखि १२ हजारसम्म लडाकुहरु आबद्ध रहेको अनुमान गरिएको छ । सन् २०२५ मा यस संगठनले नाइजेरिया र छिमेकी देशहरुमा दर्जनौं आक्रमण गरेको छ ।
