बिएनपीकी अध्यक्ष खालिदा जियाको उमेर र स्वास्थ्य अवस्थाले साथ नदिएपछि उनका छोरा तथा कार्यकारी अध्यक्ष तरिक देश हाँक्ने सोचका साथ अघि सरेका छन् ।
What you should know
काठमाडौँ — लोकप्रिय युवा नेता सरिफ उस्मान हादीको निधनपछि बंगलादेशमा एक सातासम्म हिंसा, आगजनी र अस्थिरता फैलिएको थियो । तर, १२ फेब्रुअरीमा हुने निर्वाचनका लागि उम्मेदवार मनोनयनको मिति २९ डिसेम्बर नजिकिएसँगै दलहरू चुनावी जनसभा, कार्यकर्ता परिचालन र सिट बाँडफाँडमा केन्द्रीत छन् ।
बंगलादेशमा भावी प्रधानमन्त्रीका रुपमा लामो समयदेखि चर्चामा रहेका बंगलादेश नेशनल पार्टीका (बिएनपी) कार्यकारी अध्यक्ष तरिक रहमान बिहीबार १७ वर्षपछि आफ्नी पत्नी र छोरीसहित ढाका फर्किएका छन् ।
बिहीबारै आयोजित पार्टी जनसभालाई सम्बोधन गर्दै उनले देश बनाउने योजना आफुसँग भएको बताए । ‘मार्टिन लुथर किङले भनेका थिए, ‘मसँग सपना छ । म उनीजसरी नै भन्न चाहन्छु : बंगलादेशका लागि मसँग योजना छ,’ राजधानी ढाकामा आयोजित विशाल सभालाई सम्बोधन गर्दै उनले भने,'हामी सबैले मिलेर यो देश बनाउनुपर्ने छ । पहाडदेखि समथर भूभागसम्म, हिन्दू- बौद्धदेखि मुस्लिमसम्म, यो देश सबैको हो र सबैले मिलेर यो देश बनाउनेछौं ।'
आसन्न चुनावमा प्रतिस्पर्धा गर्न गइरहेका पार्टीहरुमध्ये सांगठनिक सदस्यताको आधारमा बिएनपी सबैभन्दा धेरै जनाधार भएको पार्टी हो । यस पार्टीले तीनपटक सरकार हाँकिसकेको छ । पार्टीको चुनावी सभामा बिहीबार पनि ठूलो संख्यामा मानिसहरु उपस्थित भएका छन् ।
१९७८ मा तरिकका बाबु जनरल जिउर रहमानले यो पार्टी स्थापना गरेका थिए । अर्को वर्ष राष्ट्रपतीय निर्वाचन जिते । बंगलादेशमा सैनिक शासन अन्त्यपछि १९९१ मा भएको आम निर्वाचनमा पनि यही पार्टीले बहुमत ल्याएको थियो ।
तरिककी आमा खालिदा जिया यसपछि प्रधानमन्त्री चुनिइन् । १९९६ सम्म उनले नै सरकार हाँकिन् । फेरि, सन् २००१ को निर्वाचनपछि थप ५ वर्ष सरकार सञ्चालन गरिन् ।
सन् २००८ को डिसेम्बरमा सम्पन्न निर्वाचनमा शेख हसिनाको अवामी लिग नेतृत्वको गठबन्धनले ३ सय निर्वाचन क्षेत्रमध्ये २ सय ३० क्षेत्रमा जित हासिल गर्यो । त्यसयता, २०१४, २०१८ र २०२४ को निर्वाचनमा पनि यस पार्टीले प्रभाशावली जित हासिल गर्यो ।
२००८ यताका हरेक निर्वाचनमा हसिनाको गठबन्धनले ३ सय प्रत्यक्ष सिटमध्ये २ सय २० भन्दा धेरै सिट जितेको थियो । बिएनपीसहित विपक्षी मत राख्ने पार्टीका नेताहरु यसक्रममा कारबाहीमा परेका थिए ।
बिएनपीका नेता तरिक भ्रस्टाचार तथा ग्रिनेड आक्रमणको अभियोगमा मुद्दा चलेपछि भागेर लण्डन पुगेका थिए ।
पछिल्लोपटक ७ जनवरी २०२४ मा प्रत्यक्ष निर्वाचन भएका ३ सय सिटमध्ये २ सय २४ सिटमा हसिनाको अवामी लिग विजयी भएको थियो । तर विद्यार्थी आन्दोलन चर्किएपछि ५ अगस्टमा उनी देश छाडेर भारत निर्वासित भइन् ।
त्यसयता, बंगलादेशले नयाँ चुनावको तयारी गरिरहेको छ । आसन्न चुनावमा बिएनपीलाई सर्वाधिक प्रभावशाली पार्टी मानिएको छ । पार्टी अध्यक्ष खालिदा जिया ८० वर्षको भइसकेकी छिन् । फोक्सो र अन्य महत्वपूर्ण अंगमा समस्या देखिएपछि उनी अहिले उपचारका क्रममा छिन् ।
केही दिनअघि उनलाई भेन्टिलेटरमै राखिएको थियो । अध्यक्ष जियाको उमेर र स्वास्थ्य अवस्थाले साथ नदिएपछि उनका छोरा तथा कार्यकारी अध्यक्ष तरिक देश हाँक्ने सोचका साथ अघि सरेका छन् ।
मध्यमार्गी–दक्षिण विचारधाराको यस पार्टीले बंगलादेशको सांस्कृतिक राष्ट्रवाद र आर्थिक उदारीकरणलाई केन्द्रमा राख्दै आएको छ ।
जमात–ए–इस्लामी बंगलादेशको कट्टर इस्लामिक पार्टी हो । हसीना सरकारका क्रममा यस पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो । तर, गत वर्ष सम्पन्न आन्दोलनपछि बनेको सरकारले यस पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्यो ।
सफीकुर रहमानको नेतृत्वमा रहेको यस पार्टीले सरिया कानूनअन्तर्गत इस्लामिक शासन प्रणालीको वकालत गर्ने गरेको छ । यसले ‘माफिया–मुक्त र भ्रष्टाचारविरोधी समाज नारा दिएको छ । सन् २००१–२००६ मा बीएनपीसँग यसले सत्तागठबन्धन गरेको थियो । आसन्न निर्वाचनमा कट्टर इस्लामिक विचारधारा राख्ने अन्य ७ पार्टीसँग यसले गठबन्धन गरेको छ ।
तर निर्वाचनका लागि मनानेयन दर्ता गर्ने समयसीमा (२९ डिसेम्बर) नजिकिदैं जाँदा पनि गठबन्धनमा सिट बाँडफाँडको विषय मिलेको छैन ।
नेशनल सिटिजन पार्टी बंगलादेशमा विद्यार्थी र युवाहरुको प्रतिनिधित्व गर्ने पार्टी हो । जुलाई २०२४ को आन्दोलन सफल भएपछि गठन भएको यस पार्टीले पहिलोपटक निर्वाचनमा प्रतिस्पर्धा गर्दैछ ।
स्रोत अभावका कारण पार्टीले संगठन बिस्तार राम्ररी गर्न सकेन । सडक आन्दोलनका दौरान कमाएको ख्यातिलाई मतमा रुपान्तरण गर्ने रणनीति यस पार्टीका नेताहरुको छ ।
पार्टीको २४ बुँदे घोषणापत्रमा नयाँ संविधान, न्यायिक सुधार, स्वतन्त्र प्रेस, सर्वसुलभ स्वास्थ्य र शिक्षा, जलवायु अनुकुलनजस्ता प्रगतिशील एजेन्डा उल्लेख गरिएका छन् । जुलाई आन्दोलनमा अग्रमोर्चामा रहेका २७ वर्षीया नादिह इस्लाम यस पार्टीको नेतृत्वमा छन् ।
आवामी लिगका मतदाता निर्णायक
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल (आईसिटी–२ ) ले आन्दोलनमा गरेको दमन र हत्यामा दोषी ठहर गर्दै हसिनामाथि मृत्युदण्डको सजाय सुनाइसकेको छ ।
निर्वाचन आयोगले शेख हसिना नेतृत्वको अवामी लिगलाई यस निर्वाचनमा प्रतिस्पर्धा गर्न अयोग्य ठहर गरेको छ । अन्तरिम सरकारले आतंकवाद विरोधी ऐनअन्तर्गत अवामी लिगलाई राजनीतिक गतिविधि गर्न रोक लगाउने निर्णय गरेको हो ।
निर्वासनका क्रममा भारतमा रहेकी हसिनाले यस कदमको विरोध गर्दै आएकी छिन् । जनसंगठन र विगतका चुनावी नतिजाका आधारमा अवामी लिग बंगलादेशकै सबैभन्दा ठूलो पार्टी हो ।
बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसका प्रेस सेक्रेटरी साफिकल अलामले आगामी निर्वाचनमा अवामी लिग सहभागी नहुने विषयमा धेरै बहस जरुरी नरहेको बताएका छन् । ‘अवामी लिगबारे सरकार स्पष्ट छ ।
यो पार्टीका गतिविधि प्रतिबन्धित छन् र निर्वाचन आयोगले यसको दर्ता खारेज गरिदिएको छ,’ बुधबार पत्रकारहरुसँग उनले भने ।
निर्वासनमा रहेकी शेख हसिनाले निर्वाचन बहिस्कार गर्ने बताइरहेकी छिन् ।
तर, अवामी लिगले प्रतिस्पर्धा गर्न नपाउने भएपछि विगतमा यस पार्टीलाई मत हालेका कार्यकर्ता कता लाग्छन् ? यस पार्टीका सदस्य तथा विगतमा उम्मेदवार रहेकाहरुले स्वतन्त्र उम्मेदवारी दिन्छन् वा निर्वाचन बाहिस्कार गर्छन् ? यी विषय स्पष्ट भइसकेको छैन ।
देशको सबैभन्दा ठूलो जनसंगठन भएको पार्टी निर्वाचनबाहिर रहेको परिस्थितीमा यसका परम्परागत मतदातालाई आकर्षित गर्ने प्रयास अन्य पार्टीले गरिरहेका छन् ।
किन निर्वासनमा थिए तरिक ?
७ मार्च २००७ मा फखरुद्दिन अहमद नेतृत्वको अन्तरिम सरकारले तरिक रहमानलाई घरबाटै पक्राउ गरेको थियो । उनलाई सुरुमा भ्रस्टाचार र सम्पत्ति शुद्धिकरणको मुदमा पक्राउ गरिएको थियो ।
अनुसन्धानका क्रममा २१ अगस्ट २००४ मा हसिना लक्षित ग्रिनेड आक्रमणको योजना बनाएको अभियोग लगाइयो । ढाकास्थित बंगबन्धु एभिन्युमा भएको यस आक्रमण्मा २४ जनाको ज्यान गएको थियो भने ३ सयभन्दा धेरै घाइते थिए ।
यस षड्यन्त्रको आरोपमा बिएनपी तथा जमात–ए–इस्लामीका अन्य धेरै नेताहरु पनि पक्राउ परेका थिए । सेप्टेम्बर २००८ मा अदालतले उनलाई उपचारका लागि लण्डन जान धरौटीमा रिहा गरिदियो । त्यसपछि उतै बसे ।
हसिना कार्यकालमा बिएनपीका धेरै नेताविरुद्ध मुद्दा चलेकाले उनी फर्कन चाहेनन् । उनले अदालतको निष्पक्षताबारे निरन्तर प्रश्न उठाइरहे । तरिकको अनुपस्थितीमा २०१८ मा अदालतले उनीमाथि आजीवन जेल सजाय घोषणा गरेको थियो ।
तर उनी लण्डनमै भएकाले पक्राउ परेनन् । २०२४ मा बंगलादेशको उच्च अदालत र यसै वर्ष ४ सेप्टेम्बरमा सर्वोच्च अदालतले यस मामिलामा उनलाई सफाई दियो ।
