मंगलबार अन्डमान र निकोबार द्वीपसमूह, केरल, छत्तिसगढ तथा मध्य प्रदेशमा मतदाताको नयाँ मस्यौदा सुची प्रकाशित भएको हो
काठमाडौँ — भारतको निर्वाचन आयोगले मंगलबार अन्डमान र निकोबार द्वीपसमूह, केरल, छत्तिसगढ तथा मध्य प्रदेशका मतदाताको नयाँ मस्यौदा सुची प्रकाशित गरेको छ । यसमा झन्डै ९५ लाख मतदाताको नाम हटाइएको छ ।
निर्वाचन आयोगले मृतक, स्थानान्तरण भइसकेका मतदाता र नक्कली मतदाताहरको नाम हटाउन यसअघि विशेष गहन संशोधन (एसआईआर) सञ्चालन गरेको थियो ।
यसअघि ३ लाख १० हजार मतदाता रहेको अन्डमान र निकोबार द्विपसमुहमा ६४ हजारको नाम नयाँ मस्यौदा सुचीबाट हटाइएको छ । केरलमा २ करोड ७८ लाख मतदातामध्ये २४ लाख ८ हजारको नाम हटाइएको छ ।
छत्तिसगढमा २ करोड १२ लाखमध्ये २७ लाख ३४ हजार र मध्य प्रदेशमा ५ करोड ७४ लाखमध्ये ४२ लाख ७४ हजारको नाम हटाइएको छ ।
मतदाता सुचीबाट नाम हटाइएकाहरुले पुनः आवेदन दिन सक्नेछन् । दाबी पेश गर्नका लािग २३ डिसेम्बरदेखि २२ जनवरीसम्मको समयसीमा तोकिएको छ ।
यो समय सीमा समाप्त भएपछि १४ फेब्रुअरीमा अन्तिम नामावली प्रकाशित हुनेछ । निष्पक्ष र समावेशी चुनावका लागि मतदाताको नाम अद्यावधिक गर्नु महत्वपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।
यता, विपक्षीहरुले सत्ताधारी भारती जनता पार्टीले यस प्रक्रियामा धाँधली गरेको आरोप लगाएका छन् । विशेषगरी मुस्लिम बाहुल्य क्षेत्रमा ठूलो संख्यामा मतदातालाई सुचीबाट हटाउने काम भएको विपक्षीहरुको आरोप छ ।
यसअघि बंगाल, बिहारलगायत विभिन्न राज्यमा एसआईआर प्रक्रियामा धाँधली भएको आरोप लागेको थियो ।
