करीम सन् २०१२ देखि नै सिरियामा रहेर रिपोर्टिङ गर्दै आएका छन् ।
काठमाडौँ — अमेरिकी मूलका पत्रकार बिलाल अब्दुल करीमलाई सिरियाका सुरक्षा बलले पक्राउ गरेको छ । उनी बसोबास गर्दै आएको उत्तर एलेप्पो प्रान्तको अल-बाबमा नमाज पढ्न निस्किँदै गर्दा सोमबार पक्राउ परेका हुन् ।
करीम सन् २०१२ देखि नै सिरियामा रहेर रिपोर्टिङ गर्दै आएका छन् । उनी सीएनएन, बीबीसी, स्काई न्युजलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग आबद्ध रहेर काम गर्दै आएका छन् । उनी लामो समयदेखि सिरियाली द्वन्द्व र त्यसपछिको राजनीति तथा उग्रवादी समूहहरूको गतिविधिबारे रिपोर्टिङ गर्दै आएका छन् ।
सुरक्षा बल वा सिरियाली सरकारका अधिकारीहरूले अहिलेसम्म यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् र अमेरिकी पक्षबाट पनि तत्काल प्रतिक्रिया कुनै पनि प्रतिक्रिया आएको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार करीम बितेका केही महिनामा सिरियाको नयाँ नेतृत्व र यसले बनाएको निर्णयहरू प्रति तीव्र आलोचना गर्दै आएका थिए ।
उनले गत अगस्टमा सरकारको विदेशी उग्रवादी लडाकुहरूलाई नागरिकता नदिएको निर्णयबारेसमेत आलोचना गरेका थिए, जसले स्थानीय सन्दर्भमा राजनीतिक प्रतिस्पर्धा र असन्तोषलाई झनै बढाएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रोयटर्सका अनुसार करीमलाई यसअघि पनि सन् २०२० मा उग्रवादी समूह हयात तहरीर अल-शाम (एचटीएस) ले नियन्त्रणमा लिएको थियो, जहाँ केही समयका लागि उनलाई हिरासतमा राखिएका थिए ।
हाल उनको हिरासतमा राखिएको कारण, आधिकारिक आरोप वा कानुनी प्रक्रिया के हुनेछ भन्ने विषयमा ठोस कुरा आएको छैन । यद्यपि उनका समर्थकहरूले यस कदमलाई अभिव्यक्ति र प्रेस स्वतन्त्रताप्रति घातक संकेतका रूपमा लिँदै आलोचना गरेका छन् ।
