भेनेजुयलाका राष्ट्रपतिलाई ट्रम्पको सन्देश : राजीनामा दिनु नै बुद्धिमानी  हुनेछ 

अमेरिकाले भेनेजुयलाबाट आउने तेल बोकेका दुईवटा जहाज जफत गरिसकेको छ ।

पुस ८, २०८२

कान्तिपुर संवाददाता

Trump's message to Venezuelan president: It would be wise to resign

What you should know

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पद छाड्न चेतावनी दिएका छन् ।

फ्लोरिडास्थित आफ्नो स्वामित्वमा रहेको मार ए लागो रिसोर्टमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले ‘मादुरोका लागि पद छाड्नु नै बुद्धिमानी हुने बताए । 

पत्रकारले मादुरोलाई सत्ताच्युत गराउने नै लक्ष्य हो भनेर ट्रम्पलाई सोधेका थिए । जवाफमा ट्रम्पले भने, ‘त्यस्तै हुन सक्छ, तर त्यो उनको निर्णय हो ।’

ट्रम्पले थपे, ‘उनले खेल्न खोजे भने त्यो नै अन्तिमपटक हुनेछ ।’

पछिल्लो समय भेनेजुयला र अमेरिकाबीचको सम्बन्ध निकै तनावपूर्ण छ । अमेरिकाले केही साताभित्र भेनेजुयलाबाट आउने तेल बोकेका दुईवटा जहाज जफत गरिसकेको छ ।

अहिलेसम्म भेनेजुयलाबाट आएको ४० लाख ब्यारेल तेल नियन्त्रणमा लिइसकेको छ ।

अमेरिकी तटरक्षक बलले भेनेजुएलामाथि लगाइएका प्रतिबन्ध छल्न प्रयोग गरिएको भनिएको ‘डार्क फ्लीट’ अन्तर्गतको तेस्रो तेल ट्यांकरलाई पनि पछ्याइरहेको जनाएको छ ।

ट्रम्पले ती जहाज र तेल अमेरिकाले नै राख्ने, आवश्यक परे बेच्ने वा रणनीतिक भण्डारणमा प्रयोग गर्ने बताएका छन् ।

यसबाहेक भेनेजुयला हुँदै आउने साना डुंगालाई पनि अमेरिकी सेनाले निशाना बनाउँदै आएको छ ।

ड्रग्स बोकेको आशंका भेनेजुयला हुँदै आएका डुंगाहरुमा अमेरिकाले आक्रमण गर्दा ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाइसकेका छन् । 

मदुरोको जवाफ 

तेल बोकेका जहाज जफत गर्ने अमेरिकाको कदमलाई भेनेजुयलाले डकौती भन्दै आएको छ ।

भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोले अन्यत्र हस्तक्षेप गर्नुभन्दा आफ्नै देशका समस्याहरुमा केन्द्रीत हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुझाव दिएका छन् । ‘उनी आफ्नै देशको आर्थिक र सामाजिक मुद्दामा केन्द्रीत भए राम्रो हुने थियो । आफ्नै देशको मामिलालाई ध्यानमा दिन सके उनलाई विश्वले राम्रो भन्ने थियो,’ मदुरोले भने ।

अमेरिका र उसका सहयोगी देशले भेनेजुयलामाथि आर्थिक नाकाबन्दी लगाएका छन् । यस विषयमा छलफल गर्न भेनेजुयलाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बोलाउन माग गरेको छ । भेनेजुयलाको प्रस्तावलाई रूस र चीनले समर्थन गरेका छन् ।

रूसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी कारबाहीले क्षेत्रीय स्थिरता र अन्तर्राष्ट्रिय जहाज सञ्चालनमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् । चीनले पनि अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरको उल्लंघन भनेको छ ।

भेनेजुयलाका विदेशमन्त्री इभान गिलले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई पठाइएको पत्र पढेर सुनाएका छन् । उनले अमेरिकी नाकाबन्दीले विश्वव्यापी तेल तथा ऊर्जा आपूर्तिमा असर पार्ने चेतावनी दिएका छन् ।

भेनेजुयला शान्तिप्रति प्रतिबद्ध भए पनि आफ्नो सार्वभौमिकता, भू–अखण्डता र प्राकृतिक स्रोतको रक्षा गर्न तयार रहेको उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully