ट्रम्प-मदुरो तनाव : तेल, लागुऔषध र भूराजनीतिको जालो

२०२१ मा जो बाइडेन राष्ट्रपति बनेपछि अमेरिकाले भेनेजुयलामाथिको आफ्नो ‘हार्ड लाइन’ नीति बदलेर संवादलाई बढावा दियो । मानवीय सहायताका सामाग्रीहरुको ढुवानी सहज बनाउने र तेलमा सहुलियत दिने काम भएको थियो । तर ट्रम्प आउनासाथ सम्बन्ध फेरि बिग्रियो ।

पुस ८, २०८२

अन्वेषण अधिकारी

Trump-Maduro Tensions: A Web of Oil, Drugs, and Geopolitics

काठमाडौँ — अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेर आएयता भेनेजुयलासँगको तिक्ततापूर्ण सम्बन्ध उच्च बिन्दूमा छ ।

भेनेजुयलामा  सत्ता परिवर्तन गर्नका लागि अत्याधिक दबाब दिने नीति ट्रम्पको छ । जसलाई राष्ट्रपति निकोलास मदुरोले हस्तक्षेप ठानेका छन् । 

अमेरिकाले क्यारेबियन क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो विमानवहाक युद्धपोत तैनाथ गरेको छ । त्यस्तै भेनेजुयलाले पनि आफ्नो सैनिक अभ्यास बढाएको छ । जानकारहरूका अनुसार दुई देशबीचको तनाव विचारधारात्मक संघर्षमात्रै होइन, भूराजनीतिक मुद्दा, लागुऔषध र तेल व्यापारले निम्त्याएको जटिलता हो । 

पछिल्ला दुई साताभित्र भेनेजुयलाको समुद्री किनारबाट दुईवटा तेल बोकेका जहाज अमेरिकाले जफत गरिसकेको छ । यसक्रममा झन्डै ४० लाख ब्यारेल तेल जफत गरिसकेको छ । भेनेजुयलासँग जोडिएका क्यारेबियन सागर र उत्तरी प्रशान्त महासागर आसपासका क्षेत्रमा ठूलो संख्यामा अमेरिकी सैनिक तैनाथ छन् । 

अमेरिकाले तेस्रो तेल ट्यांकरलाई भेनेजुयला नजिकैको अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा  पछ्याइरहेको अमेरिकी तट रक्षक दलका एक वरिष्ठ अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजीरासँग बताएका छन् ।  भेनेजुयलाले यस कदमलाई ‘डकौती’ भनेको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जफत गरिएका जहाज र तेल फिर्ता नहुने बताएका छन् । 

‘हामी यसलाई बेच्नसक्छौं । वा राख्न पनि सक्छौं वा यसलाई रणनीतिक भण्डारका रुपमा प्रयोग गर्न पनि सक्छौं,’ फ्लोरिडास्थित आफ्नै रिसोर्टमा पत्रकार सम्मेलन आयोजना गरेर सोमबार ट्रम्पले भने, ‘तर हामी यसलाई आफुसँगै राख्नेछौं । हामी जहाज पनि राख्नेछौं ।’

ट्रम्पले  भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोलाई राजीनामा दिन सुझाव दिएका छन् । ‘उनले राजीनामा दिनु नै बुद्धिमानी हुनेछ । के गर्ने भन्ने उनकै कुरो भयो, ’ ट्रम्पले फ्लोरिडामा भने । विदेशी राष्ट्रमा हस्तक्षेप गर्नुको साटो आफ्नै देशका सामाजिक र राजनीतिक मुद्दा सल्ट्याउन ध्यान दिनुपर्ने सुझाव ट्रम्पलाई मदुरोले दिएका छन् ।

‘उनी आफ्नै देशको आर्थिक र सामाजिक मुद्दामा केन्द्रीत भए राम्रो हुने थियो । आफ्नै देशको मामिलालाई ध्यानमा दिन सके उनलाई विश्वले राम्रो भन्ने थियो,’ मंगलबार सरकारी टेलिभिजनमार्फत मदुरोले भने ।

अमेरिका र उसका सहयोगी देशले भेनेजुयलामाथि आर्थिक नाकाबन्दी लगाएका छन् । भेनेजुयला हुँदै आउने शंकास्पद डुंगामाथि  लागुऔषधको कारोबार गरेको आशंकामा अमेरिकी सैनिकले गोली वर्षाइरहेका छन् । ह्‍युमन राईट्स वाचले यसक्रममा सर्वसाधारणसमेत जोखिममा रहेको भन्दै चिन्ता प्रकट गरेको छ । 

केही समयअघि मात्रै भेनेजुयलाको एयर स्पेस बन्द भएको घोषणा ट्रम्पले गरेका थिए । उनको यस्तो चेतावनी पनि अन्तर्राष्ट्रिय विमानहरुले यहाँ उडान स्थगित गरिसकेका छन् । 

यी विषयमा छलफल गर्न भेनेजुयलाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बोलाउन माग गरेको छ । भेनेजुयलाको प्रस्तावलाई रूस र चीनले समर्थन गरेका छन् ।

रूसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी हस्तक्षेपले क्षेत्रीय स्थिरता र अन्तर्राष्ट्रिय जहाज सञ्चालनमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् । चीनले पनि अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरको उल्लंघन भनेको छ ।

भेनेजुयलाले क्षेत्री शान्तिप्रति प्रतिबद्धता व्यक्त गरेको छ । तर, आफ्नो सार्वभौमिकता, भू–अखण्डता र प्राकृतिक स्रोतको रक्षाका लागि जस्तोसुकै कदम उठाउन तयार रहेको विदेशमन्त्री इभान गिलले बताएका छन् । 

२६ वर्ष पुरानो तनाव

शितयुद्धको अवधिमा भेनेजुयला र अमेरिकाबीच निकै राम्रो सम्बन्ध थियो । भेनेजुयलाको अर्थतन्त्र अमेरिकालाई तेल बेचेरै चल्ने गरेको थियो । यहाँका अधिकांशः पेट्रोल खानी पनि अमेरिकी निजी कम्पनीकै स्वामित्वमा थिए । तर, १९९९ मा कम्युनिष्ट नेता हुगो चाभेज सत्तामा आएसँगै अमेरिकासँगको सम्बन्ध बिग्रन थाल्यो । चाभेजले पेट्रोल उद्योगहरुलाई सरकारीकरण गर्न थाले ।  

दक्षिण अमेरिकामा अमेरिकाले साम्राज्यवादी र हस्तक्षेपकारी नीति अपनाएको भन्दै चाभेजले अर्को आलोचना गर्दथे । उनका नीतिहरुले अमेरिका चिढियो । अमेरिकाले नाकाबन्दी लगाएपछि क्युवा, इरान र रुससँग भेनेजुयला नजिकिदैं गयो ।

२०१३ मा निकोलास मदुरो चाभेजको उत्तराधिकारीका रुपमा राष्ट्रपति बने । सन् २०१७ मा ट्रम्पले पहिलोपटक राष्ट्रपतिको सपथ लिए । लगत्तै, उनले भेनेजुयलामाथि नाकाबन्दी लगाए । भेनेजुयलाको अर्थतन्त्र बिग्रिएर राष्ट्रिय संकट सुरु भयो । यही मौकाको फाइदा उठाएर जनवरी २०१९ मा भेनेजुयलाको राष्ट्रियसभाका तत्कालीन अध्यक्ष जोआन गुएदोले आफैंलाई राष्ट्रपति घोषणा गरे ।

उनको दाबीलाई अमेरिका, युरोपेली युनियन र अन्य धेरै पश्चिमा देशहरुले समर्थन गरेका थिए । तर, भेनेजुयलाको सेनाले मदुरोलाई नै साथ दियो । यसपछि मदुरो अझै शक्तिशाली भएर आए । जसकारण, २०२१ मा जो बाइडेन राष्ट्रपति बनेपछि अमेरिकाले भेनेजुयलामाथिको आफ्नो ‘हार्ड लाइन’ नीति बदलेर संवादलाई बढावा दियो । त्यस्तै, मानवीय सहायताका सामाग्रीहरुको ढुवानी सहज गरिदियो ।

केही विरोधाभासका बाबजुद सम्बन्ध ठिकठाकै चल्दै थियो । तर, ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति चुनिएर आएयता दुई देशबीचको सम्बन्ध फेरि बिग्रिएको छ । 

यसै वर्ष १० जनवरीमा मदुरो (लगातार तेस्रोपटक) र २१ जनवरीमा ट्रम्पले (दोस्रोपटक)  आ–आफ्नो देशको राष्ट्रपतिको सपथ लिएका थिए । ह्वाइटहाउसमा फर्किएको छोटो समयमै उनले भेनेजुयलाका नागरिकले अमेरिकामा उपयोग गरिरहेको अस्थायी संरक्षित हैसियत (टिपिएस) सुविधा खारेज गरिदिए, यस सुविधाअन्तर्गत झन्डै ६ लाख भेनेजुयलाका मानिसहरु अमेरिकामा बसिरहेका थिए ।

त्यस्तै, भेनेजुयलाबाट आउने तेलका लागि बाइेडन कार्यकालमा दिइएको सहुलियत खारेज गरिदिए । त्यसको केही समयपछि भेनेजुयलासँग तेल किन्ने राष्ट्रहरुमाथि २५ प्रतिशत भन्सार कर बढाउने घोषणा गरे । 

विवादका मुख्य विषय 

लागुऔषध  : लागुऔषध, तेल र ट्रम्पको विदेश नीति पछिल्लो समय दुई देशबीच तनाव बढ्नुका मुल कारण हुन् ।

अमेरिकामा लागुऔषध आपुर्ति गर्नेहरुलाई भेनेजुयलाले संरक्षण दिइरहेको ट्रम्पको आरोप छ । दक्षिण अमेरिकी देशबाट भेनेजुयला हुँदै युरोप र अमेरिकातर्फ ठूलो परिमाणमा कोकिन गइरहेको अमेरिकी तथ्यांकले देखाउँछ ।

अमेरिकाले गत अगस्टमा  ‘कार्टेल दे लोस सोलेस’ लाई आतंककारी संगठन घोषणा गरेको छ । त्यस्तै, मदुरोलाई यसको नेता ठहर गर्दै उनको गिरफुतारीका लागि सुचना दिनेलाई ५ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । यद्यपी, मदुरोले यस आरोप अस्विकार गरेका छन् ।

२ सेप्टेम्बरदेखि क्यारेबियन र प्रशान्त महासागर क्षेत्रमा अमेरिकाले लागु पदार्थ विरोधी अभियान चलाइरहेको छ । जसक्रममा भेनेजुयला हुँदै आउने डुंगामाथि लागुऔषधमा संलग्न भएको आशंकामा आक्रमण गरिरहेको छ । यस कदमले मानवअधिकार उल्लंघन गरेको भन्दै भेनेजुयलाले कडा आपत्ति जनाएको छ । 

मोन्रो डक्ट्रिन : ट्रम्पको विदेश नीति भेनेजुयलासँगको तनावको अर्को कारण हो । उनले १९ औं शताब्दीको मोन्रो सिद्धान्तलाई पछ्याइरहेका छन् ।  जसले पृथ्वीको पश्चिमी गोलार्धलाई अमेरिकाको प्रभाव क्षेत्र मान्छ ।

ट्रम्पले यस क्षेत्रमा चीनलाई सैन्य अड्डा र महत्वपूर्ण खनिजजस्ता स्रोतमा पहुँच दिन नहुने बताइरहेका छन् । तर, मदुरो सरकारले चीनसँग उर्जा र खनिज सम्बन्धी सम्झौता गरेको छ । त्यस्तै, इरान र रुससँग पनि उसले सहकार्य बढाएको छ । अमेरिकी राष्ट्रिय सुरक्षाका लागि भेनेजुयला महत्वपूर्ण रहेको ट्रम्पको बुझाई छ ।

उनको चाहना भेनेजुयलामा अमेरिका निकट सरकार बनाउने हो । विगतमा ट्रम्पले गुएदोको दाबीलाई (राष्ट्रपति घोषणा)  समर्थन गरेपनि मदुरोलाई सत्ताच्युत गर्न सकेनन् । अहिले भेनेजुयलाकी विपक्षी नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले ट्रम्पको नीतिमा आफ्नो पूर्ण समर्थन रहेको बताएकी छिन् । 

तेल : भेनेजुयला विश्वकै सबैभन्दा ठूलो तेल भण्डार हो । तर प्रचुर स्रोत हँुदाहुँदै पनि तेल उत्पादन निकै कम छ । वर्षौदेखि अमेरिकी प्रतिबन्ध झेलेका कारण यहाँ तेल उत्खनन्का लागि आवश्यक लगानी र उपकरणको अभाव छ । यसले आफ्नो अधिकांश तेल चीनलाई बिक्री गर्छ ।

वासिङटनले आफ्नो देशको तेलमा आँखा गाढेको मदुरोको आरोप छ । तेल र दुर्लभ पृथ्वी तत्वको खानी भएको र भौगोलिक रुपमा अमेरिकासँग निकै नजिक रहेको  देश चीन र रुससँग निकट हुँदा अमेरिकाले निको मानेको छैन । 

क्युवा–इरान : अमेरिकी विदेशमन्त्री मार्को रुबियोसहित ट्रम्पका निकट सहयोगीहरु क्युबाको कम्युनिष्ट सरकार ढाल्नुपर्ने पक्षमा छन् । अमेरिकी प्रतिबन्ध झेलिरहेको भेनेजुयलाले आफ्नो तेल क्युबामा पठाउँछ र क्युबाबाट अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छ ।

मदुरो सरकार र क्युाबका राष्ट्रपति मिगेल डियाज–कानेल दुबैलाई सत्तामा रहिरहन यस सम्बन्धले ठूलो भूमिका खेलेको छ । अर्कोतर्फ, इरानमा पनि सत्ता परिवर्तन गर्ने ट्रम्पको योजना छ ।

भेनेजुयलाले इरानमा पनि तेल पठाउने गरेको र ईरानले उक्त तेललाई सस्तोमा अन्यत्र बेच्दै आएको ट्रम्प प्रशासनको आरोप छ । त्यही रकमबाट इरानले मध्यपूर्वमा उग्रवादी समुह सञ्चालन गरिरहेको र अमेरिकी स्वार्थमा बाधा पु¥याएको ट्रम्पको आँकलन छ ।  

आप्रवासन  : अमेरिकामा ठूलो संख्यामा भेनेजुयलाका नागरिक अवैध बसोवास गर्छन् । सन् २००० देखि २०२१ सम्म अमेरिकामा बसोबास गर्ने भेनेजुयलाका नागरिकको संख्या ९५ हजारबाट बढेर ६ लाख ४० हजार पुगेको प्यु रिसर्च सेन्टरको तथ्यांक विश्लेषणले देखाउँछ । 

भेनेजुयलाले राजनीतिक र आर्थिक संकट व्यहोरेका कारण अमेरिका गएर बसोबास गर्नेको संख्या बढेको हो । ट्रम्प यस आप्रवासनलाई न्युनीकरण गर्न चाहन्छन् । तर, मदुरो सरकारसँग संवादहीनताको अवस्था छ । 

आफु अनुकुलको सरकार गठन गराउने र अमेरिकामा रहेका मानिसहरुलाई भेनेजुयला फर्काउन प्रेरित गर्ने ट्रम्पको स्वार्थ छ । 

विवादको टाइमलाइन  (२०२५)

१० जनवरी : निकोलास मदुरोले लिए  लगातार तेस्रो कार्यकालको सपथ ।

२१ जनवरी: नोभेम्बरमा सम्पन्न निर्वाचन जितेका डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको सपथ लिए । 

२६ फेब्रुअरी  बाइडेन प्रशासनले भेनेजुयलालाई तेलमा दिएको सहुलियत ट्रम्पद्वारा खारेज । 

२४ मार्च : भेनेजुयलासँग तेल खरिद गर्ने देशमाथि २५ प्रतिशत कर बढाउने घोषणा । 

८ अगस्ट : भेनेजुयलाका राष्ट्रपति  आपवराधिक समुह कार्टेल दे लोस सोलेसका नेता रहेको आरोप, सुचना दिनेलाई ५ करोड पुरस्कारको व्यवस्था । 

२ सेप्टेम्बर : क्यारेबिनय र प्रशान्त क्षेत्रमा अमेरिकाको लागु औषध विरोधी अभियान सुरु । आफ्नो सार्वभौमिकतामाथि हस्तक्षेप भएको भन्दै भेनेजुयलाको विरोध 

१५ अक्टुबर : भेनेजुएलामा सीआईएलाई गोप्य अपरेसन सञ्चालन गर्न अनुमति दिएको ट्रम्पको खुलासा ।

१२ नोभेम्बर : भेनेजुएलाले देशव्यापी सैन्य अभ्यास सुरु गर्‍यो । सार्वभौमिकता जोगाउन जस्तोसुकै कदम चाल्न तयार रहेको घोषणा । 

१४ नोभेम्बर : अमेरिकाले विश्वकै सबैभन्दा ठूलो विमानवहाक युद्धपोत 

नोभेम्बर १४–१६, २०२५ : क्यारेबियन क्षेत्रम अमेरिकाद्वारा  विश्वकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत युएएस गेराल्ड आर फर्ड तैनाथ 

२२ नोभेम्बर :  सुरक्षा जोखिमका कारण भेनेजुयलाको हवाई क्षेत्र बन्द भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा । विमान कम्पनीहरुले उडान स्थगित गरे । आफ्नो सार्वभौमिकतामाथि हस्तक्षेप भएको भेनेजुयलाको दाबी । 

१० डिसेम्बर : भेनेजुयला हुँदै आएको तेलको ट्यांकर अमेरिकाद्वारा कब्जा ।

(एजेन्सीको सहयोगमा)

अन्वेषण अधिकारी

Link copied successfully