न्युयोर्क टाइम्सका पत्रकारले एआई कम्पनीविरुद्ध हाले मुद्दा

अनुमति बिना आफ्ना कपीराइट संरक्षित पुस्तकहरू प्रयोग गरेको आरोप लगाउदैँ मुद्दा दायर गरेका हुन् ।

पुस ८, २०८२

कान्तिपुर संवाददाता

New York Times journalist files lawsuit against AI company

काठमाडौँ — न्युयोर्क टाइम्सका पत्रकार तथा 'ब्याड ब्लड' पुस्तकका लेखक जोन क्यारेरुले गुगल, ओपनएआई, मेटा, एन्थ्रोपिक, एलन मस्कको एक्स एआई र परप्लेक्सिटीविरुद्ध क्यालिफोर्नियाको संघीय अदालतमा मुद्दा दायर गरेका छन् । 

अनुमति बिना आफ्ना कपीराइट संरक्षित पुस्तकहरू प्रयोग गरेको आरोप लगाउदैँ मुद्दा दायर गरेका हुन् । 

उजुरीमा ती कम्पनीहरूले आफ्ना पुस्तकहरू 'पाइरेट' (चोरी) गरेर लार्ज ल्याङ्गवेज मोडेल (एलएलएम) मा प्रयोग गरेको दाबी गरिएको छ, जसकै आधारमा च्याटबोटहरू सञ्चालन हुँदै आएका छन् । 

यसअघि पनि विभिन्न सञ्चारसंस्थाहरुले एआईविरुद्द मुद्दा दायर गर्दै आएको थियो । तर, यस मुद्दामा पहिलो पटक एलन मस्कको एक्स एआई प्रतिवादी बनाइएको छ । प्रतिवादी कम्पनीहरूका तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

यसअघि एन्थ्रोपिकले एआई प्रशिक्षणमा कपीराइट उल्लङ्घन गरेको आरोपसम्बन्धी पहिलो ठूलो सम्झौता गर्दै लेखकहरूको समूहलाई १.५ अर्ब अमेरिकी डलर तिर्न सहमति जनाएको थियो । 

तर, नयाँ मुद्दामा त्यो सम्झौताअन्तर्गत लेखकहरूले प्रति उल्लङ्घित कृतिका लागि कपीराइट ऐनले तोकेको अधिकतम १ लाख ५० हजार डलरको जम्मा २ प्रतिशत मात्र पाउने उल्लेख गरिएको छ । यो मुद्दा फ्रिडम्यान नर्म्यान्ड फ्राइडल्यान्ड कानुनी फर्मका वकिलहरूले दायर गरेका हुन् ।

कान्तिपुर

Link copied successfully