मायामीमा हुने वार्ता त्रिपक्षीय नभएको रुसको भनाइ

वासिङ्टनले त्रिपक्षीय ढाँचाको प्रस्ताव प्रस्तुत गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएको भोलिपल्टै क्रेमलिनको नयाँ धारणा आएको हो ।

पुस ७, २०८२

रासस/एएफपी

Russia says talks in Miami not trilateral

What you should know

मायामी — क्रेमलिनले युक्रेन, रुस र संयुक्त राज्य अमेरिकाबीच त्रिपक्षीय वार्ता हुने कुरा अस्वीकार गरेको छ । युक्रेन द्वन्द्व अन्त्यका लागि वार्ता गर्न युक्रेन र युरोपका कूटनीतिज्ञहरू मायामीमा भेला भइसकेको अवस्थामा रुसको पछिल्लो यो भनाइले अन्योल सिर्जना गराएको छ । 

वासिङ्टनले त्रिपक्षीय ढाँचाको प्रस्ताव प्रस्तुत गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएको भोलिपल्टै क्रेमलिनको नयाँ धारणा आएको हो । युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत ६ महिनादेखि विशेष पहल गर्दै आएका छन् । यदि क्रेमलिनको अपेक्षाअनुसार वातावरण बनेको खण्डमा मस्को र किएभबीच यो ६ महिनामा पहिलो पटक आमनेसामने वार्ता हुनेछ । तर अझै पनि युद्धविरामका लागि बलियो आधार तय गर्नेमा भने अझै आशंका व्यक्त गरिएको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार युरी उषाकोभले भने वार्ताको पहलबारे अहिलेसम्म कसैले गम्भीरतापूर्वक छलफल नगरेको र यसबारेमा कुनै तयारी भएको विषयमा आफूलाई जानकारीसमेत नरहेको टिप्पणी गरेका छन् । अमेरिकाको पहलमा त्रिपक्षीय प्रस्तावको खुलासा गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार भनेका थिए, ‘यस पटक केही नयाँ प्रगति हुन सक्छ भन्नेमा म विश्वस्त त छैन तर युद्ध अन्त्यका लागि रुसमाथि दबाब बढाउन अमेरिकालाई आग्रह गरिएको छ ।’

त्यसो त उनले आइतबार पनि ‘अमेरिका, युरोपेली नेता र युक्रेनी वार्ताकारहरूबीचको ‘रचनात्मक’ वार्ता एकदम द्रुत गतिमा अघि बढिरहेको’ थप टिप्पणी गर्दै भने, ‘वार्ता सफल हुने वा नहुने भन्ने कुरा रुसले युद्ध अन्त्यको आवश्यकता महसुस गर्छ कि गर्दैन भन्ने कुरामा बढी निर्भर देखिन्छ ।’ 

अमेरिकी विशेषदूत स्टिभ विटकोफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नरको मध्यस्थतामा गरिने भनिएको वार्ताका लागि रुसी विशेष प्रतिनिधि किरिल दिमित्रीएभ शनिबार मियामी पुगिसकेका छन् । युक्रेनी र युरोपेली टोलीहरू पनि वार्ताका लागि शुक्रबारदेखि मायामीमा भेला भएका छन् । उषाकोभले भने, ‘अमेरिकी अधिकारीसँगको वार्तापछि दिमित्रिएभ मस्को फर्कनु हुनेछ, रिपोर्ट बनाउनु हुनेछ र आगामी दिनमा रुसले के गर्ने भनेर हामी छलफल गर्नेछौं ।’

वासिङ्टनले गत महिना युक्रेन र उसका युरोपेली सहयोगीहरूलाई युद्ध अन्त्य गर्न २८ बुँदे योजना प्रस्तुत गरेको थियो । प्रस्तुत योजनाले अमेरिका क्रेमलिनको प्रमुख मागहरूमा व्यापक रूपमा झुकेको अर्थमा हेरिएको थियो । यद्यपि, पछि किएभ र युरोपको संलग्नतापछि यसलाई पुनः मस्यौदा गरिएको छ । तर क्रेमलिनले भने उक्त मस्यौदाबारेमा आफूलाई कुनै जानकारी नरहेको बताएको छ ।

पछिल्लो संस्करणका बारेमा थोरै मात्र थाहा भए पनि किएभले अमेरिकी सुरक्षा ग्यारेन्टीको बदलामा केही क्षेत्र आत्मसमर्पण गर्ने अपेक्षा गरिएको छ । हालैका महिनाहरूमा मस्कोका सेनाहरू पूर्वी मोर्चामा लगातार अगाडि बढिरहेका छन् भने रुसी नेता पुटिनले शुक्रबार युद्धमा रुसी सेनाले क्षेत्रीय रूपमा प्रगति हासिल गरेको भन्दै प्रशंसा गरेका थिए ।

रासस/एएफपी

Link copied successfully