हादीको निधनले अस्थिर बंगलादेश

शेख हसिनाको सरकार अपदस्थ गरेको बंगलादेशको विद्यार्थी आन्दोलनका युवा नेता हादीको गत १२ डिसेम्बरमा दुई नकाबधारीले गोली हानी हत्या गरेपछि यतिबेला बंगलादेश अशान्त बनेको हो

पुस ७, २०८२

एजेन्सी

Hadi's death destabilizes Bangladesh

What you should know

ढाका — चुनावी तयारीमा रहेको बंगलादेशको राजनीतिक वातावरण युवा नेता सरिफ ओस्मान हादीको निधनले यतिबेला खल्बलिएको छ । बिहीबार राति सिंगापुरको जनरल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।

लगत्तै, बंगलादेशमा हिंसात्मक प्रदर्शन र आगजनी भयो । १२ डिसेम्बरमा मोटरसाइकलमा आएका दुई नकाबधारीले ढाकामा उनीमाथि गोली हानेका थिए । टाउकोमा गोली लागेपछि उपचारका लागि उनलाई ढाका अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि सिंगापुर लगियो । 

३२ वर्षीय हादी सन् २०२४ मा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनमा अग्रणी मोर्चामा थिए । यस आन्दोलनले शेख हसिनाको सरकारलाई अपदस्थ गरेको थियो । ३० जुन १९९३ मा दक्षिण बंगलादेशको झालोकाठी जिल्लाको नालछिटीमा जन्मिएका हादी उच्च शिक्षा पढ्नका लागि ढाका आएदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिए ।

पछिल्लो समय इन्कलाव मञ्चका प्रवक्ता रहेका हादीले आगामी १२ फेब्रुअरीमा हुने भनिएको संसदीय निर्वाचनमा ढाका–८ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने योजना बनाएका थिए । उनी भारतविरोधी नेताका रूपमा चिनिन्थे । बंगलादेशमा विद्यार्थी आन्दोलनले अपदस्थ भएकी पूर्वप्रधानमन्त्री शेख हसिना अहिले भारतमै शरण लिइरहेकी छन् । 

अपराधीको खोजी जारी 

हादीमाथि गोली प्रहार गर्नेको खोजी भइरहेको बंगलादेशको आतंकवादविरोधी युनिट र्‍यापिड एक्सन बटालियन (आरएबी) ले जनाएको छ । प्रहरीले १३ डिसेम्बरमा घटनाको सीसीटीभी फुटेज सार्वजनिक गरेको थियो । जहाँ दुई शंकास्पद व्यक्ति देखिन्छन् ।

उनीहरूले कालो कपडा र चस्मा लगाएका छन् । प्रहरीले अपराधीको सूचना दिने व्यक्तिलाई ५० लाख टाका पुरस्कार दिने घोषणासमेत गरेको छ । बंगलादेशी पत्रिका ‘द डेली स्टार’ का अनुसार अहिलेसम्म यस घटनासँग जोडिएको भन्दै प्रहरीले २० शंकास्पद व्यक्तिलाई पक्राउ गरिसकेको छ । तर अनुसन्धान जारी छ । 

बंगलादेशमा कसको कस्तो प्रतिक्रिया ?

बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले हादीको निधन राष्ट्रका लागि अपूरणीय क्षति भएको बताएका छन् । ‘प्रजातन्त्रतर्फको देशको यात्रालाई डर, त्रास र रक्तपातले रोक्न सक्दैन,’ बिहीबार टेलिभिजन सम्बोधनमा उनले भने । बंगलादेश नेसनल पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारेक रहमान, नेसनल सिटिजन पार्टी (एनसीपी) तथा विभिन्न पार्टीका नेताहरूले उनीप्रति समवेदना प्रकट गरेका छन् । उनको निधनपछि आन्दोलनरत विद्यार्थीहरूले गृहमन्त्रीको राजीनामा मागेका छन् । 

Hadi's death destabilizes Bangladesh

सरकारले हादीलाई पर्याप्त सुरक्षा दिन नसकेको आन्दोलनकारीको आरोप छ । हादीमाथि गोली हानेर नकाबधारीहरू विदेश भागेको आरोप पनि उनीहरूको छ । आन्दोलनकारीले अपराधीलाई तत्काल कठघरामा ल्याउन माग गरेका छन् । प्रदर्शनकारीहरूले शुक्रबार देशका विभिन्न स्थानमा आगजनी गरेका थिए । लोकप्रिय दुई सञ्चारगृह ‘प्रोथोम आलो’ र ‘द डेली स्टार’ को कार्यालयमा पनि उनीहरूले आगजनी गरे । 

बंगलादेशमा आन्दोलनकारीहरूले भारतविरोधी नारा लगाएका छन् । उनीहरूले बंगलादेशको आन्तरिक मामिलामा भारतले दख्खल दिने गरेको भन्दै विरोध गरेका छन् । शेख हसिनाले भारतमा शरण लिएर बंगलादेशविरुद्ध वक्तव्य दिइरहेको आरोप पनि उनीहरूको छ । 

चिट्टगङमा भिसा आवेदन केन्द्र बन्द

भारतले बंगलादेशको चिट्टगङ सहरस्थित भिसा आवेदन केन्द्रको सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरेको छ । भारतले सुरक्षाका कारण सेवा बन्द गर्नुपरेको विज्ञप्तिमार्फत जनाएको छ । ‘अवस्थालाई मध्यनजर गरेर भिसा सेन्टर पुनः सञ्चालनमा ल्याउने घोषणा हुनेछ,’ विज्ञप्तिमा भनिएको छ । 

त्यसैगरी भारतले बंगलादेशमा धार्मिक अल्पसंख्यकको अवस्था खराब बनेको भन्दै चिन्ता व्यक्त गरेको छ । गत बिहीबार राति २५ वर्षीय हिन्दु युवा दीपुचन्द्र दासलाई भालुका सहरमा उग्रवादीहरूले कुटेर मारेका थिए । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बंगलादेशमा विकसित घटनाक्रमलाई भारतले नजिकबाट नियालिरहेको बताए । ‘हाम्रा अधिकारीहरू बंगलादेशी अधिकारीहरूसँग सम्पर्कमा छन् र हामीले अल्पसंख्यकमाथि भएको आक्रमणबारे गहिरो चिन्ता प्रकट गरेका छौं । दासमाथि भएको बर्बर आक्रमणमा संलग्नलाई कठघरामा ल्याउन पनि हामीले जोड दिएका छौं,’ उनले भने । 

बंगलादेशको अन्तरिम सरकारले यस घटनाको निन्दा गर्दै हत्यामा संलग्न भएको अभियोगमा १० जनालाई पक्राउ गरेको छ । यस घटनापछि नयाँदिल्लीस्थित बंगलादेश हाई कमिसन अगाडि उभिएर भारतीयहरूले दास हत्याको विरोध गरेका छन् । बंगलादेशले यस विषयमा आपत्ति जनाएको छ ।

एजेन्सी

Link copied successfully