साउदीमा मानव अधिकारको अवस्था दयनीय रहेको अमेरिकी मानवअधिकारवादी समूह ह्युमन राइट्स वाचले जनाएको छ
What you should know
काठमाडौँ — साउदी अरेबियामा मृत्युदण्डकोे सजायमा लगातार दोस्रो वर्ष नयाँ रेकर्ड बनेको छ । बेलायतस्थित मानवअधिकारवादी समूह रिप्रिभका अनुसार सन् २०२५ मा अहिलेसम्म कम्तिमा ३४७ जनालाई मृत्युदण्ड दिइएको छ । यसअघि सन् २०२४ मा ३४५ जनालाई मृत्युदण्ड दिइएको थियो ।
रिप्रिभले साउदीमा मृत्युदण्डको सजाय पाएका कैदीबन्दीलाई कानुनी सहायता उपलब्ध गराउँदै आएको छ । त्यस्तै, साउदीमा हुने मृत्युदण्डका घटनाको अनुगमन पनि गर्दै आएको छ । अनुगमन सुरु भएयता साउदीमा यो वर्ष सबैभन्दा धेरैजनाले फासीको सजाय पाएको रिप्रिभले जानकारी दिएको छ ।
रिप्रिभका अनुसार मृत्युदण्ड पाउनेमध्ये झन्डै दुई व्यक्ति गैर–घातक लागुऔषध सम्बन्धी अपराधमा दोषी ठहर भएका थिए । संयुक्त राष्ट्रसंघले यस सजायलाई अन्तर्राष्ट्रिय मान्यता र मापदण्डविपरीत भनेको छ ।
मृत्युदण्ड दिइएकामध्ये आधा भन्दा बढी विदेशी नागरिक थिए । ‘साउदी अरेबियाले मानव अधिकार प्रणालीकै उपहास गर्नेगरी निर्धक्क काम गरिरहेको छ,’ मध्यपूर्व तथा उत्तर अफ्रिकामा रिप्रिभकी प्रतिनिधि जिद बास्युनीले भनिन् । बास्युनीले निर्दोष मानिस र समाजका सीमान्तकृत वर्गहरू यस्तो हर्कतको मारमा परेको बताइन ।
मंगलबार इजिप्टका माछा मार्ने मजदुर इस्साम अल–शाज्लीलाई साउदीमा मृत्युदण्ड दिइयो । उनलाई सन् २०२१ मा समुद्री क्षेत्रमा पक्राउ गरिएको थियो । उनले आफूलाई लागुऔषध तस्करीमा जबर्जस्ती संलग्न गराइएको दाबी गरेका थिए । रिप्रिभका अनुसार, यस वर्षका ९६ वटा मृत्युदण्ड केवल ह्यासिस सँग मात्र सम्बन्धित थिए ।
बास्युनीले थप भनिन्, ‘ साउदीले समाजलाई सन्देश दिन खोजिरहेको छ । चाहे त्यो प्रदर्शन होस्, अभिव्यक्ति स्वतन्त्रता वा लागुऔषध, उनीहरुले नचाहेका सबै कुरामा शून्य सहनशीलताको नीति लागू गरिएको छ ।’
सन् २०२० मा शाही आदेश जारी गरेर लागु औषधसँग सम्बन्धित अपराधमा मृत्युदण्डको सजायमा रोक लगाइएको थियो । तर, २०२२ को अन्त्यतिर फेरि मृत्युदण्ड दिन थालियो । त्यसयता, लागुऔषधसम्बन्धी अपराधमा मृत्युदण्डको संख्या तीव्र रूपमा बढेको छ । यस कदमलाई संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले खेदजनक भनेको छ ।
लागुऔषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजाय पाएका व्यक्तिका आफन्तहरूले आफुहरू अहिले ‘आतङ्कको जीवन’ बाँचिरहेको बताएका छन् । बीबीसीसँग नाम नखुलाउने सर्तमा एकजनाले भने, ‘म शुक्रबार र शनिबार मात्रै सुत्न सक्छु । किनकि ती दिनमा मृत्युदण्ड दिइँदैन ।’
सन् २०१७ मा युवराज बनेका साउदी अरेबियाका शासक मोहम्मद बिन सलमानले पछिल्ला वर्षहरूमा देशलाई परिवर्तन गर्दै लगेका छन् । एकातर्फ, धार्मिक प्रहरीलाई सडकबाट हटाउने, महिलालाई गाडी चलाउने अनुमति दिनेजस्ता कार्यमार्फत उनले उनले सामाजिक प्रतिबन्धहरू खुकुलो पारेका छन् ।
अर्कोतर्फ, आलोचकको मुख थुनेका छन् । साउदीमा मानव अधिकारको अवस्था अझै पनि ‘दयनीय’ रहेको अमेरिकी मानवअधिकारवादी समूह ह्युमन राइट्स वाचले जनाएको छ । मानव अधिकारकर्मीहरूका अनुसार हालका वर्षहरूमा चीन र इरानपछि सबैभन्दा धेरै मृत्युदण्ड दिने देश साउदी अरेबिया नै हो ।
