अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ र ज्वाइँ जारेड कुश्नरको मध्यस्थतामा हुने उक्त वार्ताका लागि युक्रेनी र युरोपेली टोली पनि अमेरिकी सहर मायामी जाने भएका छन् ।
What you should know
मस्को — युक्रेनबारे अमेरिकाको मायामीमा हुने वार्तामा युक्रेन र पश्चिमा मुलुकका नेतासहित अमेरिकी प्रतिनिधिसँग रुस पनि सहभागी हुने मस्कोले जनाएको छ । युक्रेन युद्धको समाधानका लागि अर्को चरणको वार्तामा रुसी वार्ता टोलीका नेता किरिल दिमित्रिभले शनिबार आफू मायामी जान लागेको बताएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ र ज्वाइँ जारेड कुश्नरको मध्यस्थतामा हुने उक्त वार्ताका लागि युक्रेनी र युरोपेली टोली पनि अमेरिकी सहर मायामी जाने भएका छन् । वार्तामा अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्ने तर किएभले सम्भवतः केही क्षेत्र गुमाउने अपेक्षा गरिएको छ । यो योजनाप्रति युक्रेनको प्रारम्भिक असन्तुष्टि देखिएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले शुक्रबार युक्रेनलाई कुनै पनि सम्झौतामा हस्ताक्षर गर्न बाध्य नपार्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘युक्रेन यसमा सहमत नभएसम्म कुनै शान्ति सम्झौता हुँदैन ।’ मायामी गृहनगर भएका रुबिओले शनिबार हुने वार्तामा आफू पनि सहभागी हुन सक्ने बताए ।
रुसी वार्ता टोलीका नेता दिमित्रिभले सामाजिक सञ्जाल एक्समा आफू ‘मायामीको यात्रामा’ रहेको क्याप्सनसहित बिहानको सूर्य र समुद्र तटको हरियाली समेटेको छोटो भिडियो पोस्ट गरेका छन् । अमेरिकीहरूले विभिन्न स्थानहरूमा प्रत्येक पक्षसँग छुट्टाछुट्टै वार्ता गर्दै आएको अवस्थामा वार्तामा रुसी र युरोपेली संलग्नताले पहिलेको चरणबाट वार्ता प्रक्रिया एक कदम अगाडि बढेको संकेत देखिन्छ । दिमित्रिभले युक्रेनी र युरोपेली वार्ताकारहरूबीचको सम्बन्ध अत्यन्त तनावपूर्ण रहेकाले प्रत्यक्ष वार्ता गर्ने सम्भावना नरहेको पनि बताएका छन् ।
रुसको दबाब
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार एक पत्रकार सम्मेलनमा युक्रेनमा आफ्नो सैन्य हमलालाई अगाडि बढाउने वाचा गरेपछि सप्ताहान्तमा वार्ता भएको हो । रुसले शनिबार युक्रेनको सुमी र डोनेट्स्क क्षेत्रका दुई गाउँ कब्जा गरेको घोषणा गरेको छ ।
यसैबीच, युक्रेनको ‘ब्ल्याक सी’ ओडेसा बन्दरगाह क्षेत्रको पूर्वाधारमा रातभर रुसी ब्यालिस्टिक मिसाइल आक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ भने हमलामा परी करिब तीन दर्जन घाइते भएका छन् । युक्रेनी सुरक्षा बल (एसबीयू) ले युक्रेनले कब्जा गरेको क्रिमियाको हवाई क्षेत्रमा दुई रुसी लडाकु विमानहरू नष्ट गरेको दाबी गरेको छ ।
नेता पुटिनले युक्रेनलाई विसैन्यीकरण गर्न र नेटोको विस्तार रोक्नका लागि ‘विशेष सैन्य अभियान’ का रूपमा वर्णन गरिएको युक्रेनमाथिको आक्रमण गर्न फेब्रुअरी २०२२ मा आदेश दिएका थिए । किएभ र उसका युरोपेली सहयोगीहरूले भने दोस्रो विश्वयुद्धपछि युरोपेली भूमिमा सबैभन्दा ठूलो र घातक युद्ध एक अकारण र अवैध भूमि कब्जा भएको बताउँदै आएका छन् । युद्धका कारण युक्रेनमा व्यापक विनाशको अवस्था आएको छ ।
