सिरियामा आइएसको गढमा अमेरिकी सेनाको आक्रमण

गत १३ डिसेम्बरमा आइएसआइएसले पाल्मिरा शहरमा थापेको एम्बुसमा परेर दुई अमेरिकी सैनिक र एक दोभाषेको मृत्यु भएको थियो । लगत्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइएआइएसका गढहरुमा आक्रमण गर्ने बताएका थिए ।

पुस ५, २०८२

कान्तिपुर संवाददाता

US military strikes ISIS stronghold in Syria

What you should know

काठमाडौँ — सिरियामा रहेको इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अमेरिकी सेनाले आक्रमण गरेको छ । आफ्ना सैनिकमाथि घातक आक्रमण गरिएपछि जवाफी कारबाही गरिएको दाबी अमेरिकाको छ ।

गत १३ डिसेम्बरमा आइएसआइएसले पाल्मिरा शहरमा थापेको एम्बुसमा परेर दुई अमेरिकी सैनिक र एक  दोभाषेको मृत्यु भएको थियो ।

लगत्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइएआइएसका गढहरुमा आक्रमण गर्ने बताएका थिए ।

शुक्रबार राति लडाकु विमान र हेलिकोप्टरसमेत प्रयोग गरेर मध्य सिरियाका ७० भन्दा बढी इलाकामा आक्रमण गरिएको अमेरिकी सेनाले जनाएको छ ।

युरोप, अफ्रिका र इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी सैन्य अभियानको निर्देशन गर्ने अमेरिकी केन्द्रीय कमाण्ड (सेन्ट्रकम) ले आक्रमणको योजना तथा कार्यान्वन गरेको हो । कारबाहीमा जोर्डनका विमानहरूले पनि अमेरिकालाई साथ दिएका थिए ।

आईएसका पूर्वाधार तथा हतियार भण्डारण स्थलहरूलाई निशानामा बनाइएको सेन्ट्रकमले जनाएको छ ।

सेन्ट्रकमका कमाण्डर एडमिरल ब्राड कुपरले अमेरिकी नागरिक र साझेदारलाई क्षति पुर्‍याउन खोज्नेहरुलाई नछाड्ने बताएका छन् ।

अमेरिकी रक्षा सचिव पिट हेगसेथले अमेरिकामाथिको आक्रमणको बदला लिएरै छाड्ने बताएका छन् ।

'संसारको जुनसुकै ठाउँमा पनि कोही अमेरिकीहरूलाई निशाना बनाउनुअघि अमेरिकाले खोज्ने, भेट्टाउने र निर्दयतापूर्वक मार्नेछ भन्ने थाहा पाउनुपर्छ,' उनले भने, 'आज हामीले आफ्ना शत्रुहरूलाई खोज्यौँ र मार्यौँ। हामी यो कार्य निरन्तर जारी राख्नेछौँ ।'

ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले हत्यामा संलग्न आतंककारीहरूमाथि अमेरिकाले प्रतिशोधात्मक कारबाही गरिरहेको बताए । उनले यस आक्रमणमा सिरियाली सरकारको पूर्ण समर्थन रहेको पनि दाबी गरे ।

आईएसले यस आक्रमणबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । संयुक्त राष्ट्रसंघका अनुसार सिरिया र इराकमा आईएसका झन्डै ५,००० देखि ७,००० लडाकुहरू  अहिले पनि सक्रिय छन् । आईएससँग लड्न बनेको अन्तर्राष्ट्रिय गठबन्धनमा सिरियाले भर्खरै सहभागिता जनाएको छ र अमेरिकासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सिरियाका राष्ट्रपति हमद अल–शाराले गत नोभेम्बरमा ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका थिए ।

कान्तिपुर

Link copied successfully