कोलम्बियामा विद्रोहीको ड्रोन आक्रमणमा कम्तिमा ७ सैनिकको मृत्यु, ३० घाइते

सन् १९६४ मा स्थापना भएको ईएलएन अमेरिका महादेशमा अहिले सक्रिय सबैभन्दा पुरानो गुरिल्ला समूह हो। यस समूहले कोलम्बियाका प्रमुख लागुऔषध उत्पादन क्षेत्रहरू नियन्त्रणमा लिएको छ ।

पुस ५, २०८२

कान्तिपुर संवाददाता

At least 7 soldiers killed, 30 injured in rebel drone attack in Colombia

What you should know

एजेन्सी — एजेन्सी  कोलम्बियाको ईएलएन  गुरिल्ला समूहले शुक्रबार भेनेजुएलाको सीमाना नजिक रहेको अगुआचिका शहरस्थित सैन्य अड्डामा गरेको आक्रमणमा कम्तिमा सात सैनिकको मृत्यु भएको छ । त्यस्तै, ३० जना घाइते छन् ।

शुक्रबार ड्रोन र विस्फोटक  हतियार प्रयोग गरी ईएलएनले आक्रमण गरेको कोलम्बियाली सेनाले जानकारी दिएको छ ।

सन् १९६४ मा स्थापना भएको ईएलएन अमेरिका महादेशमा अहिले सक्रिय सबैभन्दा पुरानो गुरिल्ला समूह हो। यस समूहले कोलम्बियाका प्रमुख लागुऔषध उत्पादन क्षेत्रहरू नियन्त्रणमा लिएको छ । 

पछिल्लो एक सातामा सुरक्षा बलमाथि ईएलएनले गरेको यो दोस्रो आक्रमण हो। यसअघि मंगलबार काली सहरमा दुई प्रहरी अधिकारी मारिएका थिए।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल एक्स मार्फत प्रतिक्रिया दिँदै उन्नत एन्टी–ड्रोन प्रणालीको अभावका कारण यस्तो घटना भएको बताएका छन् ।

उनले अवैध सशस्त्र समूहका यस्ता आक्रमण रोक्न तत्काल आवश्यक एन्टी–ड्रोन प्रणाली खरिद गर्न आदेश दिइएको बताए । रक्षामन्त्री पेड्रो सान्चेजले एलएनलाई पूर्ण रूपमा विघटन गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूमा घाइते सैनिकहरूलाई स्ट्रेचर र ह्वीलचेयरमा स्थानीय स्वास्थ्य केन्द्रतर्फ लगिँदै गरेको देखिन्छ।

सन् २०२२ मा सत्ता सम्हालेपछि, राष्ट्रपति गुस्ताभोपेट्रोले कोकिन उत्पादनमा संलग्न सशस्त्र समुहहरुसँग वार्ता गर्ने प्रयास गर्दे आएका छन् । यद्यपी, वार्ता प्रयास सफल हुन सकेनन् ।

संयुक्त राष्ट्रसंघका अनुसार कोलम्बिया विश्वकै सबैभन्दा ठूलो कोकिन उत्पादक देश हो। अमेरिकाले लागुऔषध कार्टेलविरुद्ध पर्याप्त कारबाही नगरेको आरोप कोलम्बियामाथि लगाउँदै  आएको छ । उसले कारबाहीका लागि निरन्तर दबाब पनि दिइरहेको छ ।

गत अक्टुबरमा अमेरिकाले राष्ट्रपति पेट्रोमाथि भ्रमण प्रतिबन्ध नै लगाएको थियो । अहिले, भेनेजुयलाबाट क्यारेबियन क्षेत्र हुँदै आउने लागु औषध बोकेका शंकास्पद डुंगामाथि अमेरिकाले कारबाही गर्दै आएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully