दिल्लीका पूर्वमुख्यमन्त्री अरबिन्द केजरीवालले भने, ' दिल्ली ग्याँस चेम्बर बनेको छ । तर, देशका प्रधानमन्त्रीलाई मतलब छैन ।’
What you should know
एजेन्सी — भारतको राजधानी दिल्ली–एनसीआर क्षेत्रमा प्रदूषण बढेसँगै दैनिक जीवन प्रभावित भएको छ । नर्सरीदेखि ५ कक्षासम्मका बच्चाहरुलाई घरबाटै पठन–पाठन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै ६ देखि ११ कक्षासम्मका छात्र–छात्राले अनलाईन क्लास वा फिजिकल क्लासमध्ये एक रोज्न सक्छन् ।
यातायत सञ्चालनमा पनि कडाई गरिएको छ । दिल्लीमा बीएस ६ मानक गाडीमात्रै प्रवेश गर्न पाउँछन् । यसभन्दा तलका कुने पनि सवारी राजधानी छिर्न पाउनेछैनन् । सरकारी तथा निजी कार्यालयहरुलाई ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा बोलाउन निर्देशन दिइएको छ । बाँकी कर्मचारीले घरबाटै काम गर्नेछन् ।
पियुसी (पोलुशन अन्डर कन्ट्रोल) सर्टिफिकेट नभएका गाडीहरुमा इन्धन हाल्न पाइनेछैन । पेट्रोल पम्पमा राखिएका क्यामेराले वैध पियुसी भए/नभएको निक्र्यौल गर्नेछन् ।
राजनीतिक आरोप-प्रत्यारोप
भारतीय जनता पार्टी (भजपा) र आम आद्मी पार्टी (आप)बीच प्रदूषणको विषयलाई लिएर राजनीतिक आरोप–प्रत्यारोप सुरु भएको छ ।
केन्द्र सरकारले प्रदूषणसँग जुध्नका लागि उच्च स्तरीय समिति गठन गरेको छ । यस समितिले प्रदूषणबाट जोगिने उपायहरु दिनेछ । त्यस्तै, सर्वोच्च अदालतले पनि प्रदूषणसँग जुध्नका लागि दिर्घकालीन रणनीति बनाउन सुझाव दिएको छ ।
प्रदूषण नियन्त्रणका लागि आप नेतृत्वको दिल्ली सरकारले उल्लेख्य काम गर्न नसकेको आरोप भाजपाले लगाएको छ । उता, आपले पनि प्रदूषण नियन्त्रणका लागि भाजपा केन्द्र सरकार गम्भीर नरहेको आरोप लगाएको छ ।
‘यसअघिको आप सरकारले प्रदूषणका विषयमा कुनै पनि काम गरेन । यदी थोरै पनि काम गरेको हुन्थ्यो भने अहिले दिल्लीवासीले यस्तो अवस्था सामना गर्नुपर्ने थिएन, ’ दिल्ली सरकारका मन्त्री प्रवेश बर्माले भने,‘यो पुरानो समस्या हो । यसलाई समाधान गर्न समय लाग्छ ।’
दिल्ली सरकारले चरणवद्ध रुपमा प्रदूषण नियन्त्रण गर्नेगरी काम गरिरहेको उनले बताए । आप आदमी पार्टीका राष्ट्रिय संयोजक एवंम् दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले आप सरकारका दौरान दिल्लीको प्रदूषणको अवस्था अहिलेजस्तो खराब नरहेको बताए । ‘हाम्रो सरकारले प्रदूषण नियन्ण्त्राका लागि कडा कदम उठाएको थियो ।
अहिले सरकारले प्रदूषण नियन्त्रण गर्ने उपाय लगाउनुको साटो वायु गुणवत्ता सुचकांकको आँकडालाई प्रबन्धन गर्नमा समय खेर फालिरहेको छ । दिल्ली ग्याँस चेम्बर बनेको छ र देशका प्रधानमन्त्रीलाई यसको मतलब छैन,’ उनले भने ।
के खुला रहन्छ, के–के बन्द ?
निर्माणसँग सम्बन्धित सबै काममा रोक लगाइएको छ । हाइवे, फ्लाइओभर र पाइपलाइनजस्ता परियोजनाको निर्माण पनि अहिले बन्द छ ।
कोइला वा दाउराबाट चल्ने रेस्टुरेन्ट, ढावा र तन्दूरी पसल बन्द गर्न निर्देशन दिइएको छ । ग्याँस वा इलेक्ट्रिक चुल्होबाट चल्ने रेस्टुरेन्टमात्रै खुला रहनेछन् ।
निजी अस्पताल, दमकल सेवा, जेल, बिजुली कार्यालय, खानेपानी कार्यालय, सरसफाई र विपद् व्यवस्थापनलगायत आपतकालीन सेवा चालु रहनेछन् ।
वायु प्रदूषण नियन्त्रण, अनुगमन र ग्राप लागु गर्ने काममा वन तथा पर्यावरण विभागका टिम निरन्तर खटिनेछन् । दिल्लीवासीलाई मेट्रो र बसजस्ता सार्वजनिक सवारी प्रयोग गर्न आग्रह गरिएको छ ।
एलएनजी, सीएनजी, विद्युतीय र बीएस–भीई डिजेल ट्रक चल्न पाउनेछन् । अति कुहिरो लागेका बेला तथा खराब भिजिविलिटीको अवस्थाबोहक देशभरका सबै एयरपोर्ट खुला रहनेछन् । त्यस्तै, रेलवे सेवा पनि खुला रहनेछ । दिल्ली सरकारले प्रदूषण नियन्त्रणका लागि यस्तो कडाई गर्नुपरेको जनाएको छ ।
बिरामीको संख्या बढ्यो
दिल्लीमा प्रदूषण बढिरहेका बेला त्यहाँका अस्पतालहरुमा श्वासप्रश्वास सम्बन्धी समस्या लिएर आउनेहरुको भीड बढेको भारतीय सञ्चारमाध्य द हिन्दूले जनाएको छ ।
चिकित्सकहरुले धेरैजसो बिरामीहरु सुक्खा खोकी, थकान, श्वास प्रश्वासमा कठिनाईलगायत समस्या लिएर आएको बताए । सफदारगन्ज अस्पतालका पुल्मोनोलोजिस्ट डा. निरज गुप्ताले धेरैजसो बिरामीमा श्वास प्रश्वाससम्बन्धी समस्या देखिएको बताए ।
चिकित्सकहरुले घरभित्रै बस्न र मास्क लगाउन, भीडभाडमा ननिस्कन, पर्याप्त पानी पिउन, सल्लाह दिएका छन् ।
