यहुदी चाड ‘हानका’ मनाउन भेला भएकाहरूमाथि दुई बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा १५ जनाको ज्यान गएको थियो
What you should know
सिड्नी — सिड्नीको ‘बोन्डाई बिच’ मा १५ जनाको ज्यान लिने गरी भएको गोली काण्डका आरोपित नाविद अकरमविरुद्ध प्रहरीले ५९ मुद्दा दायर गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार न्यु साउथ वेल्स प्रहरीले उनीविरुद्ध हत्या अभियोगका १५ मुद्दा दर्ता गरेको छ ।
त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्याएको अभियोगमा २४ वर्षीय अकरमविरुद्ध थप ४० मुद्दा दर्ता गरिएको छ । यसबाहेक आतंकवादी गतिविधि गरेको, हतियारबाट गोली चलाएको, विस्फोटक पदार्थ राखेको र सार्वजनिक रूपमा आतंकवादी संगठनको चिह्न प्रदर्शन गरेको अभियोगसमेत गरी ४ वटा मुद्दासमेत लगाइएको छ ।
१४ डिसेम्बरमा सिड्नीको ‘बोन्डाई बिच’ मा यहुदी चाड ‘हानका’ मनाउन भेला भएकाहरूमाथि दुई बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । सीसीटीभी फुटेज र प्रहरी अनुसन्धानमा गोली चलाउने दुई अभियुक्त साजिद अकरम र नाविद अकरम रहेको खुलेको छ । उनीहरू बाबु–छोरा हुन् । साजिदको प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो भने प्रहरीसँगको भिडन्तमा घाइते भएका नाविदको उपचार भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।
प्रहरीका अनुसार १९९८ देखि अस्ट्रेलिया बस्दै आएका साजिद आफ्नो मूल घर भारतको हैदरावाद ६ पटक आएका थिए । भारतमा उनका कुनै आपराधिक अभिलेख नभएको पनि ती अधिकारीले बताए । छोरा नाविद अस्ट्रेलियामै जन्मिएका हुन् । ‘कट्टरपन्थी भएकाले हुन सक्छ, पछिल्लो समय भारतमा रहेको परिवारसँग साजिदको खासै सम्पर्क भएको देखिन्न,’ ती प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
दोस्रो विश्वयुद्धमा नाजी शासनको बर्बरता झेलेर १९९० को दशकमा युरोपबाट अस्ट्रेलिया आएका वयोवृद्धदेखि १० वर्षकी बालिकासम्मले यस घटनामा ज्यान गुमाएका छन् । छोरा नाविदलाई प्रहरीले पक्राउ गरेर अस्पताल लगेको थियो । उपचारपछि मात्रै उनको बयान लिइने प्रहरीले जनाएको छ । अदालती प्रक्रिया अप्रिलसम्मका लागि सारिएको छ ।
जसले आक्रमणकारीबाट बन्दुक खोसे
घटनाको दिन अहमद अल अहमद पनि घुमफिर गर्न ‘बोन्डाई बिच’ मै थिए । नजिकैको पार्कमा हानका पर्व मनाइरहेका यहुदीलाई लक्षित गरी दुई बन्दुकधारीले आक्रमण सुरु गरे । केहीबेरमै अहमद पार्क गरिएका दुई गाडीबीच लुक्दै अघि बढे र एक बन्दुकधारीको बन्दुक खोसे । विश्वभर लाखौं पटक हेरिएको भिडियोमा उनले एक आक्रमणकारीलाई लडाएर उसको हातबाट सटगन खोस्दै आक्रमणकारीतर्फ नै सोझाएको देखिन्छ । त्यसपछि दोस्रो आक्रमणकारीले उनीमाथि जथाभावी गोली चलाएका थिए । अहमदको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
४४ वर्षीय अहमद सिरियाली मूलका हुन् । विवाहित र दुई छोरीका पिता अहमदको स्थायी घर इडलिब क्षेत्रको नायराब सहर हो । सन् २००६ मा अध्ययनका लागि अस्ट्रेलिया आउनुअघि उनले सिरियामा प्रहरी र केन्द्रीय सुरक्षा बलमा सेवा गरेका थिए । सन् २०११ मा सुरु भएको गृहयुद्धले नायराब सहर ध्वस्त भयो । त्यसपछि उनी अस्ट्रेलियामै व्यापार गरेर बसे । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानिजले अहमदको बहादुरीको प्रशंसा गरेका छन् । उनले अहमद मानवताको उज्यालो किरण रहेको बताए ।
बन्दुकसम्बन्धी कानुनमा थप कडाइ गर्छौं : प्रधानमन्त्री एल्बानिज
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानिजले ‘बोन्डाई बिच’ गोलीकाण्डपछि बन्दुकसम्बन्धी कानुनलाई थप कडा बनाइने बताएका छन् । ‘बोन्डाई बिच’ गोलीकाण्ड सन् १९९६ पछि अस्ट्रेलियामा भएको सबैभन्दा ठूलो सामूहिक गोलीकाण्ड हो । २८ अप्रिल १९९६ मा अस्ट्रेलियाको तास्मानियास्थित पोर्ट आर्थरमा एक बन्दुकधारीले गोली चलाउँदा ३५ जनाको मृत्यु र २३ जना घाइते भएका थिए । यस घटनापछि अस्ट्रेलियाले बन्दुक राख्न पाउने कानुनलाई कडा बनाएको थियो । यस कानुनले सेमी–अटोमेटिक राइफल र पम्प–एक्सन सटगनको बिक्रीमा प्रतिबन्ध लगायो र राष्ट्रिय ‘बाइब्याक’ कार्यक्रम सुरु गर्यो । अस्ट्रेलियाको राष्ट्रिय संग्रहालयका अनुसार, यस कार्यक्रमअन्तर्गत ६ लाख ५० हजारभन्दा बढी बन्दुक सरकारलाई बुझाइएको थियो ।
तर पछिल्ला वर्षहरूमा बन्दुकको संख्या बढ्दै गएको छ । सार्वजनिक नीति अनुसन्धान संस्था द अस्ट्रेलिया इन्स्टिच्युटले जनवरीमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार अस्ट्रेलियामा ४० लाखभन्दा बढी बन्दुक छन्, जुन सन् १९९६ को तुलनामा २५ प्रतिशतले बढी हो । बोन्डाई घटनामा मारिएका अभियुक्त साजिदले सन् २०१५ यता ६ वटा बन्दुक राखेको अनुसन्धानले देखाएको छ । यसले कानुन कार्यान्वयनको प्रभावकारिताबारे प्रश्न उब्जाएको छ ।
हतियार कडाइसम्बन्धी योजनामा मन्त्रिपरिषद्मा छलफल हुने प्रधानमन्त्री एल्बानिजले बताएका छन् । पछिल्लो गोली काण्डपछि सरकारले राष्ट्रिय बन्दुक दर्ता प्रणाली लागू गर्ने, लाइसेन्स प्रक्रियामा आपराधिक गुप्तचर जानकारी प्रयोग गर्ने, एक व्यक्तिले राख्न पाउने बन्दुकको संख्या र प्रकार तोक्ने, गैरनागरिकलाई बन्दुक लाइसेन्स नदिने र बन्दुक आयातमा कडाइ गर्नेलगायतका प्रावधान समेटेर कानुन बनाउन छलफल सुरु गरेको छ ।
