१४ डिसेम्बरमा हनुक्का महोत्सवका दौरान गोली चलेको थियो । सीसीटीभी फुटेजमा देखिएका गोली चलाउने दुई अभियक्त साजिद अकरम र नविद अकरम रहेको प्रहरी अनुसन्धानले देखाएको छ । उनीहरु बाबु-छोरा हुन् ।
What you should know
एजेन्सी — सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका २४ वर्षका नाविद अकरमविरूद्ध प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ ।
न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, हतियारबाट गोली चलाएको, विस्फोटक पदार्थ राखेको र सार्वजनिक रूपमा आतङ्कवादी संगठनको चिन्ह प्रदर्शन गरेको अभियोग लगाइएको छ ।
१४ डिसेम्बरमा हनुक्का महोत्सवका दौरान गोली चलेको थियो । सीसीटीभी फुटेजमा देखिएका गोली चलाउने दुई अभियक्त साजिद अकरम र नविद अकरम रहेको प्रहरी अनुसन्धानले देखाएको छ । उनीहरु बाबु-छोरा हुन् ।
दुईमध्ये ५० वर्षका साजिदको घटनास्थलमै प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो । घटनामा उनीहरुको आक्रमणमा १५ जना सर्वसाधारणको ज्यान गएको थियो ।
बाबु साजिद भारतको हैदरावाद शहरबाट सन् १९९८ अस्ट्रेलिया बसाई सरेको तेलांगानाका प्रहरी अधिकारीलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।
विश्वविद्यालयस्तरको अध्ययन पूरा गरेपछि रोजगारीका लागि साजिद अस्ट्रेलिया गएको र त्यहाँ युरोपेली मुलकी एक महिलासँग विवाह गरेको ती अधिकारीले बताएका छन् ।
प्रहरीका अनुसार उनी ६ पटक भारत भ्रमणमा आएका थिए । भारतमा उनका कुनै आपराधिक अभिलेख नभएको पनि ती अधिकारीले बताए ।
छोरा नाविद अस्ट्रेलियामै जन्मिएका हुन् । 'कट्टरपन्थी भएकाले हुनसक्छ, पछिल्लो समय भारतमा रहेको परिवारसँग सजिदको खासै सम्पर्क भएको देखिन्न,' ती प्रहरी अधिकारीले भने ।
दोस्रो विश्वयुद्धमा नाजी शासनको बर्बरता झेलेर १९९० को दशकमा युरोपबाट अस्ट्रेलिया आएका वयोवृद्धदेखि १० वर्षकी बालिकासम्मले यस घटनामा ज्यान गुमाएका छन् । छोरा नविदलाई प्रहरीले पक्राउ गरेर अस्पताल लगेको थियो । अहिले उनको उपचार भइरहेको छ ।
उपचारपछि मात्रै उनको बयान लिइने प्रहरीले जनाएको छ । अदालती प्रक्रिया अप्रिलसम्मका लागि सारिएको छ । यो घटना सन् १९९६ पछि अष्ट्रेलियामा भएको सबैभन्दा ठूलो सामूहिक गोलीकाण्ड हो ।
२८ अप्रिल १९९६ मा अस्ट्रेलियाको तास्मानियास्थित पोर्ट आर्थरमा एक बन्दूकधारीले गोली चलाउँदा ३५ जनाको मृत्यु र २३ जना घाइते भएका थिए । यस घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुन कडा बनाएको थियो ।
जसले बन्दूक खोसे
अन्य धेरै अस्ट्रेलियनजस्तै अहमद अल अहमद पनि घुमफिर गर्न र कफी पिउनका लागि बोन्डाइ तट पुगेका थिए । समुद्रकिनार नजिकैको पार्कमा हानुक्का पर्व मनाइरहेका यहूदीहरूलाई लक्षित गरी दुई जना बन्दुकधारीले अचानक रक्तपातपूर्ण आक्रमण सुरु गरे ।
केही बेरमै अहमद अल अहमद दुईवटा पार्क गरिएका गाडीबीच झुकेर लुक्दै अघि बढे र एक जना बन्दुकधारीतर्फ सिधै दौडिए। विश्वभर लाखौँ पटक हेरिएको भिडियोमा उनले एक जना आक्रमणकारीलाई लडाएर उसको हातबाट शटगन खोस्दै आक्रमणकारीतर्फ नै फर्काएको देखिन्छ ।
त्यसयता दोस्रो आक्रमणकारीले उनीमाथि जथाभावी गोली चलाएका थिए । जसकारण उनको बाँया हातमा धेरैवटा गोली लाग्यो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानीजले अल अहमदको बहादूरीको प्रशंसा गरेका छन् । उनले अहमद मानवताको उज्यालो किरण रहेको बताए ।
विवाहित र दुई छोरीका पिता अहमदले अब लामो उपचार र पुनःस्थापनाको सामना गर्नुपर्नेछ । ४४ वर्षीय अहमद सिरियाली मुलका हुन् । उनको स्थायी घर इडलिब क्षेत्रको नायराब शहर हो ।
सन् २००६ मा अध्ययनका लागि अस्ट्रेलिया आउनुअघि उनले सिरियामा प्रहरी र केन्द्रीय सुरक्षा बलमा सेवा गरेका थिए । सन् २०११ मा सुरु भएको गृहयुद्धले नायराब शहर ध्वस्त भयो । त्यसपछि उनी अस्ट्रेलियामै व्यापार गरेर बसे ।
बन्दूक कानुन कडा बनाउँछौं : प्रधानमन्त्री एल्बानीज
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानीजले बन्दूक कानुलाई थप कडा बनाइने बताएका छन् । अस्ट्रेलियामा अहिले पनि विश्वकै कडा बन्दूक कानुन छ ।
पोर्ट आर्थ गोली प्रकरणपछि यस्तो कानुन ल्याइएको थियो । यस कानुनले सेमी–अटोमेटिक राइफल र पम्प–एक्सन सटगनको बिक्रीमा प्रतिबन्ध लगायो र राष्ट्रिय ‘बाइब्याक’ कार्यक्रम सुरु गर्यो ।
अष्ट्रेलियाको राष्ट्रिय संग्रहालयका अनुसार, यस कार्यक्रमअन्तर्गत ६ लाख ५० हजारभन्दा बढी बन्दुक सरकारलाई बुझाइएको थियो ।
तर पछिल्ला वर्षहरूमा बन्दुकको संख्या बढ्दै गएको छ । सार्वजनिक नीति अनुसन्धान संस्था द अष्ट्रेलिया इन्स्टिच्युटले जनवरीमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार अस्ट्रेलियामा ४० लाखभन्दा बढी बन्दुक छन्, जुन सन् १९९६ को तुलनामा २५ प्रतिशतले बढी हो ।
बोन्डाई घटनामा मारिएका अभियुक्त साजिदले सन् २०१५ यता ६ वटा बन्दूक राखेको अनुसन्धानले देखाएको छ । यसले कानुन कार्यान्वयनको प्रभावकारीताबारे प्रश्न उब्जाएको छ ।
हतियार कडाई सम्बन्धी योजनामा मन्त्रीपरिषद्मा छलफल हुने प्रधानमन्त्री अल्बानेजले बताएका छन् ।
नेशनल फायरआर्म्स एग्रिमेन्ट पुनःसम्झौता गर्ने, राष्ट्रिय बन्दुक दर्ता प्रणाली छिटो लागू गर्ने, लाइसेन्स प्रक्रियामा आपराधिक गुप्तचर जानकारी प्रयोग गर्ने, एक व्यक्तिले राख्न पाउने बन्दुकको संख्या र प्रकार निश्चित गर्ने, गैर–नागरिकलाई बन्दुक लाइसेन्स नदिने र बन्दुक तथा सम्बन्धित सामग्रीको आयातमा कडा भन्सार नियन्त्रण गर्नेलगायत योजनामा सरकारले छलफल गर्दैछ ।
