मिडियासँगको ट्रम्पको विवाद पहिलो होइन । उनले विगतमा सीएनएन, न्युयोर्क टाइम्स, सीबीएस न्युज, वाल स्ट्रिट जर्नललगायत सञ्चारमाध्यमविरूद्ध मुद्दा दायर गरिसकेका छन् ।
What you should know
एजेन्सी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार १० अर्ब अमेरिकी डलर क्षतिपुर्ति माग गर्दै बेलायती सञ्चारमाध्यम बीबीसीविरुद्ध दायर गरेका छन् ।
फ्लोरिडा राज्यको मियामीस्थित संघीय अदालतमा दायर गरिएको पहिलो मुद्दा मानहानी सम्बन्धी छ, जहाँ बीबीसीबाट प्रशारण भएको डकुमेन्ट्रीको सम्पादित क्लिपले आफ्नो भाषणलाई गलत रूपमा चित्रण गरेर भ्रम फैलाएको आरोप छ । दोस्रो मुद्दामा बीबीसीले फ्लोरिडाको भ्रामक तथा अनुचित व्यापारिक अभ्यास ऐनविपरीत कार्य गरेको आरोप छ ।
यी दुबै मुद्दामा उनले क्रमश: ५-५ अर्ब डलर क्षतिपुर्ति माग गरेका छन् ।
बीबीसीमाथि राष्ट्रपति ट्रम्पविरुद्ध झुठो, अपमानजनक, भ्रामक, दुरासयपूर्ण तथा उत्तेजक प्रचारबाजी गरेको आरोप छ । सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजामा हस्तक्षेप गर्ने लाजमर्दो प्रयासस्वरुप यस्तो कार्य गरिएको ट्रम्पको आरोप छ ।
ट्रम्पको कानुनी टोलीका एक प्रवक्ताले विज्ञप्तिमा भनेका छन्, ' बीबीसीले राष्ट्रपति ट्रम्प सम्बन्धी समाचारमा दर्शकहरूलाई लामो समयदेखि छलछाम गर्दै आएको छ । यो सबै काम वामपन्थी राजनीतिक एजेन्डालाई अघि बढाउने उद्देश्यले गरिएको छ ।'
बीबीसीले यस मुद्दाको कडा प्रतिवाद गर्ने जनाएको छ । त्यस्तै तत्कालका लागि थप प्रतिक्रिया दिएको छैन । 'हामीले पहिले नै स्पष्ट पारेझैँ, यस मुद्दामा हामी आफ्नो बचाउ गर्नेछौँ। जारी कानुनी प्रक्रियाबारे थप टिप्पणी गर्ने छैनौँ,' बीबीसीका प्रवक्ताले भनेका छन् ।
के हो विवाद ?
पानारोमा सिरिजअन्तर्गतको 'ट्रम्प: अ सेकन्ड चान्स ?' डकुमेन्ट्रीमा प्रयोग गरिएको अमेरिकी राष्ट्रपति ट्रम्पको भाषणको अंशलाई लिएर बीबीसीमाथि प्रश्न उठेको थियो ।
यो वृत्तचित्र सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनको एक साताअघि प्रशारण भएको थियो । यसमा ट्रम्पले ६ जनवरी २०२१ मा वासिङ्टन डीसीमा गरेको भाषणको अंश देखाइएको छ । जहाँ उनले भनेका थिए, 'हामी क्यापिटलतिर जानेछौँ । अनि हाम्रा साहसी सिनेटरहरू र कंग्रेसमेन/वुमनको हौसला बढाउनेछौँ… ।'
यसमा भिडियोको सिलसिला भंग गरेर ( बीचमा बोलिएका कुराहरु काटेर) एकैपटक अन्त्यतिरको भिडियो जोडिएको छ । 'हामी क्यापिटलतिर जानेछौँ। अनि त्यहाँ म तपाईँहरूसँगै हुनेछु। अनि हामीहरू लडाँइ गर्छौँ। हामी बेस्सरी लडाँइ गर्छौँ,' वृत्तचित्रमा देखाइएको छ ।
अमेरिकी संघीय सदन रहेका क्यापिटल कम्प्लेक्समा उक्त दिन रिपब्लिकन पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए । बीबीसीमाथि छलछामपूर्वक एडिटिङ गर्दै वृत्तचित्र हेर्नेहरुलाई ट्रम्पले नै आक्रमणका लागि उकासेको जस्तो देखाउन खोजेको आरोप छ । सुरुमा यो विषयमा धेरै चर्चा भएको थिएन ।
तर ३ नोभेम्बरमा बेलायती पत्रिका टेलिग्राफमा बीबीसीको विश्वसनीयतामाथि प्रश्न गर्दै समाचार प्रकाशित भएपछि यो वृत्तचित्र अत्याधिक विवादमा तानिएको हो । बीबीसीको पक्षपातबारे तयार गरिएको १९ पृष्ठको एक मिसिलको हवाला दिएर उक्त समाचार लेखिएको थियो । उक्त मिसिलमा ' ट्रम्पको भाषणका बेग्ला-बेग्लै अंशलाई एडिट गरेर उनले क्यापिटल हिल दंगाका लागि मानिसहरुलाई उक्साएजस्तो देखाउन खोजिएको उल्लेख थियो ।' यस विषयमा बीबीसीभित्रै कुरा उठेको भएपनि त्यसलाई बेवास्ता गरिएको पनि त्यसमा उल्लेख थियो ।
उक्त समाचार सार्वजनिक भएलगत्तै ट्रम्पले बीबीसीविरुद्ध मुद्दा दर्ता गर्ने धम्की दिएका थिए । बीबीसीले सुनियोजित रुपमै यस्तो कार्य गरेकाले उक्त कर्पोरेशनविरुद्ध मुद्दा दर्ता गर्नु आफ्नो कर्तव्य रहेको उनले बताएका थिए ।
बीबीसीले यस घटनामा गल्ती स्विकार गर्दै माफी मागेको थियो । तर ट्रम्पविरूद्ध सुनियोजित रुपमा लागेको आरोप अस्विकार गरेको थियो ।
बीबीसीका महाप्रबन्धक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले त्रुटि स्विकार गर्दै राजीनामा दिएका थिए । 'त्रुटिहरू भएका छन् । तर संस्थागत रूपमै बीबीसी पूर्वाग्रही छ भन्ने अहिलेका आरोपहरू गलत छन्,' नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएकी समाचार विभाग प्रमुख टर्नेसले भनेकी थिइन् ।
मिडिया-ट्रम्प टकराव
विगतमा पनि सञ्चारमाध्यम र पत्रकारसँग ट्रम्पको टकराव पर्दै आएको छ । पत्रकार सम्मेलनमा आएका पत्रकारलाई तुच्छ खालको व्यवहार गर्ने, प्रश्न गर्न नदिने, पत्रकारको विश्वसनियतामाथि उल्टै प्रश्न गर्ने व्यवहारका कारण पनि ट्रम्प आलोचित हुँदै आएका छन् ।
उनले मिडिया वा रिपोर्टरहरूलाई बारम्बार ‘फेक न्युज’, ‘सिटिजन्स एनिमि’, ‘भ्रष्ट’, ‘लो लेभल रिपोर्टर’, ‘ब्याड पिपुल’, ‘डर्टी पिपुल’ जस्ता अपमानजनक शब्दहरू प्रयोग गरेर टिप्पणी गर्छन् । कमिटी टू प्रोटेक्ट जर्नालिस्ट्सले २०२० को रिपोर्टमा पनि ट्रम्पले नियमित रूपमा मिडियालाई यस्तो तुच्छ टिप्पणी गर्ने गरेको उल्लेख गरेको छ।
ट्रम्पले यसअघि पनि विभिन्न सञ्चारमाध्यमविरूद्ध मुद्दा चलाइसकेका छन् । गत सेप्टेम्बर १५ मा उनले अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्स र त्यहाँ कार्यरत दुई संवाददाताविरुद्ध १५ बिलियन अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका थिए।
न्यूयोर्क टाइम्सका दुई संवाददाताले २०२४ को चुनावका पुस्तक सार्वजनिक गर्दै आफूविरुद्ध ‘गलत, भ्रमक र अपमानजनक’ विषय लेखेको उनको आरोप थियो । ‘लकी लुजरः हाउ डोनाल्ड ट्रम्प स्क्वान्डर्ड हिज फादर्स फर्च्युन एण्ड क्रिएटेड द इल्युजन अफ सक्सेस’ नामक उक्त पुस्तक प्रकाशन गर्ने ‘पेङ्गुइन प्रेस’माथि पनि ट्रम्पले फ्लोरिडास्थित अमेरिकी संघीय अदालतमा मुद्दा दायर गरेका थिए। १९ सेप्टेम्बरमा न्यायाधीश स्टीवन मेरीडेले उक्त मुद्दा खारेज गरिदिएका थिए । त्यसपछि १६ अक्टुबरमा उनले फेरि अर्को मुद्दा दर्ता गरेका छन् । जो अझै विचाराधीन छ । विगतमा उनले वाल स्ट्रिट जर्नल, सीबीएस, एबीसी सीएनएनलगायत सञ्चारमाध्यमविरुद्ध मुद्दा हालिसकेका छन् ।
मिडियाविरुद्ध पहिलो मुद्दा ३९ वर्षअघि
ट्रम्पले ३९ वर्षअघि अर्थात् सन् १९८४ अक्टोबरमा पहिलोपटक मिडियाविरुद्ध मुद्दा दायर गरेका थिए। उनले ‘दि शिकागो ट्रिब्यून’मा छापिएको एउटा स्तम्भलाई लिएर मुद्दा दायर गरेका थिए।उनले स्तम्भकार पल ग्याप र ‘दि शिकागो ट्रिब्यून’ सँग ५०० मिलियन अमेरिकी डलर माग दावी गरका थिए।
ट्रम्पले न्यूयोर्कमा संसारको सबैभन्दा अग्लो भवन अर्थात १५० तलाको स्काइस्क्रेपर निर्माण योजना बनाएका थिए। पलले उक्त निर्माण योजना ‘व्यवहारिक रुपमा सम्भव नरहेको’ भन्दै आलोचना गरेका थिए। त्यसैविरुद्ध ट्रम्पले मानहनीको मुद्दा दायर गरेका थिए।
तर न्यायाधीश इडवार्ड विनफिल्डले मुद्दा खारेज गरिदिएका थिए। पलको लेख व्यक्तिगत विचारमा आधारित भएको भन्दै मुद्दा खारेज भएको थियो ।
