बोन्डाई बीचमा आक्रमण: मृतकको संख्या १५ पुग्यो, आक्रमणकारी बाबु–छोरा

आक्रमणकारी ५० वर्षीय पिता साजिद अकरम र २४ वर्षीय छोरा नवीद अकरम हुन् । साजिदको भने प्रहरीको गोली लागि मृत्यु भइसकेको छ भने छोरा नवीद घाइते छन् ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

Bondi Beach attack: Death toll rises to 15, attackers father and son

What you should know

काठमाडौँ — अस्ट्रेलियाको न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सका अनुसार बोन्डाई बीचमा भएको गोलीबारीमा १० वर्षकी बालिकासहित १५ जनाको मृत्यु भएको छ । 

आक्रमणकारीमध्ये एक जनाको पनि मृत्यु भएको उनले बताएका छन् । प्रहरी कमिश्नर माल ल्यान्यनले दुई जना आक्रमणकारी बाबु–छोरा थिए । बाबुको उमेर ५० वर्ष र छोराको उमेर २४ वर्ष रहेको बताइएको छ । 

प्रहरीका अनुसार ५० वर्षीय बाबुलाई प्रहरीले गोली प्रहार गरेको थियो । त्यसपछि उनको मृत्यु भएको छ । यता २४ वर्षीय छोराको अवस्था गम्भीर रहेको छ । यो बर्बरतापूर्ण हत्याको घटनापछि ४२ जनालाई अस्पताल लगिएको छ । जसमा प्रहरी पनि छन् । 

प्रहरीका अनुसार ५० वर्षीय बाबुको साथमा हतियार राख्ने लाइसेन्स पनि थियो । उनको नाममा ६ हतियार दर्ता छन् । बोन्डी बीचमा पनि ६ हतियार बरामद गरिएको छ । घटनास्थलमा विष्फोटक पनि पाइएको थियो । जसलाई प्रहरीले निष्क्रिय गरेको छ । 

अस्ट्रेलियाली प्रधानमन्त्री एन्थनी अल्बानीजले भविष्यमा यस्ता प्रकारका आक्रमणको सामना गर्न हरेक प्रकारका उपायहरु अपनाइने बताएका छन् । उनले अस्ट्रेलियामा यहुदी विरोधी भावनालाई पूरै तरिकाले अन्त्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

अस्ट्रेलियामा भएको आक्रमणपछि अन्य देशमा पनि यहुदीहरुको हनुक्का पर्व आयोजनामा सुरक्षा व्यवस्था कडा पारिएको छ । बर्लिन, लण्डन र न्यूयोर्कसमेत अन्य सहरहरुमा सुरक्षा एजेन्सीहरु सक्रिय बनेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । 

रोयटर्सका अनुसार जर्मनिको बर्लिन प्रहरीले राजधानी ब्रेंडेनबर्ग गेटनजिक सुरक्षा बढाइएको बताएको छ । जहाँ हनुक्काको पहिलो रात कार्यक्रम आयोजना गरिँदैछ । 

यता अमेरिकाको न्यूयोर्क सहरका मेयर एरिक एडम्सले सहरमा हनुक्का आयोजना र प्रार्थना स्थल क्षेत्रमा अतिरिक्त सुरक्षा बल तैनाथ गरिएको छ । लन्डन प्रहरीले पनि सुरक्षा बढाएको छ । तर स्पष्ट विवरण भने सार्वजनिक गरिएको छैन । फ्रान्सका आन्तरिक मन्त्री लरेन्ट नुनेजले पनि स्थानीय अधिकारीहरुलाई १४ देखि २२ डिसेम्बरसम्म यहुदी पूजास्थलमा सुरक्षा बढाउन निर्देशन दिएका छन् । 

न्यूयोर्क टाइम्सका अनुसार सिड्नीको बोन्डाई बीचमा हनुक्का कार्यक्रम आयोजना चबाडको बोन्डाई बीच शाखाले गरेको थियो । चबाडलाई लुबाविच नामले पनि चिनिन्छ । यो न्यूयोर्कको ब्रुकलिनस्थित एक वैश्विक संगठन हो ।

विश्वभरमा धार्मिक, शैक्षिक, सामाजिक र सांस्कृतिक सेवामार्फत् यहुदी जीवनलाई मजबुद र गुणस्तरी बनाउन यस संस्थाले काम गर्दै आएको छ । 

सिड्नी घटनामा मारिनेमा एक इजरायली नागरिक पनि रहेका छन् । जेरुशेलम पोस्टको रिपोर्ट अनुसार आक्रमणकारी दुवै बाबुछोरा पाकिस्तानी मूलका रहेको आशंका गरिएको छ । आक्रमणकारी ५० वर्षीय पिता साजिद अक्रम र २४ वर्षीय छोरा नवीद अकरम हुन् । साजिदको भने प्रहरीको गोली लागि मृत्यु भइसकेको छ भने छोरा नवीद घाइते छन् । 

यस घटनामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अस्ट्रेलिया सरकारको नीति नै आक्रमणको जिम्मेवार रहेको बताएका छन् । उनका अनुसार सरकारी नीति नै आगोमा घ्यू हाल्ने काम गरिरहेको छ ।

कान्तिपुर

Link copied successfully