२०२५ : पत्रकारका लागि घातक वर्ष, मारिए ६७ जना

रिपोर्टर्स विदाउट बोर्डर्सको प्रतिवेदनले पत्रकारहरू आफ्नै देशमा झन् बढी जोखिममा रहेको पनि देखाएको छ । यो वर्ष मारिएका पत्रकारमध्ये केवल दुई जना मात्र विदेशी थिए ।

मंसिर २७, २०८२

दया दुदराज

2025: Deadly year for journalists, 67 killed

What you should know

काठमाडौँ — युद्ध, संगठित अपराध र दण्डहीनताको भयावह अवस्थाका कारण गत १२ महिनामा मात्रै ६७ जना पत्रकार आफ्नो पेसाकै कारण मारिएका छन् । विश्वभर पत्रकारहरूको अवस्थाबारे रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले हालै सार्वजनिक गरेको प्रतिवेदनले पत्रकारिता पेसा डरलाग्दो र जोखिमपूर्ण बन्दै गएको हो । यसले पत्रकारिता पेसा विश्वव्यापी रूपमा झन् डरलाग्दो र जोखिमपूर्ण बन्दै गएको देखाउँछ ।

प्रतिवेदनअनुसार मारिने पत्रकारमध्ये झन्डै आधा अर्थात् ४३ प्रतिशत पत्रकार गाजामा इजरायली सेनाको कारबाहीमा मारिएका छन् । यो तथ्यांकले इजरायली सेना पत्रकारहरूको सबैभन्दा ठूलो 'दुश्मन' बनेको आरएसएफको निष्कर्षलाई पुष्टि गर्छ । युद्धग्रस्त रुस, युक्रेन र सुडानमा पनि पत्रकारहरू निशानामा परिरहेको बेला ल्याटिन अमेरिकाको मेक्सिकोमा संगठित अपराध समूहका कारण नौ पत्रकार मारिएका छन् । 

पत्रकारितामाथि संगठित आक्रमण

आरएसएफको प्रतिवेदनअनुसार पछिल्लो १२ महिनामा मारिएका पत्रकारमध्ये कम्तीमा ७९ प्रतिशत सशस्त्र बल, अर्धसैनिक समूह वा आपराधिक सञ्जालको निशानामा परेका छन् । पछिल्लो एक वर्षमा भएका पत्रकारमाथिका हत्यामध्ये ४३ प्रतिशतभन्दा बढी घटना इजरायली सेनाकै कारण भएको आरएसएफको दाबी छ । अक्टोबर २०२३ यता इजरायली सेनाले झन्डै २२० पत्रकारको ज्यान लिएको छ, जसमा कम्तीमा ६५ जना पत्रकार प्रत्यक्ष रूपमा आफ्नो पेसागत कर्मकै क्रममा मारिएका थिए ।

त्यस्तै, ल्याटिन अमेरिकामा पनि अवस्था भयावह बन्दै गएको छ । विशेषगरी मेक्सिको, पत्रकारका लागि दोस्रो सबैभन्दा असुरक्षित देश बनेको छ । मेक्सिकोमा सन् २०२५ मा मात्र नौ जना पत्रकारको हत्या भइसकेको छ, जसका लागि संगठित अपराधी समूह जिम्मेवार रहेको आरएसएफले जनाएको छ । पछिल्ला तीन वर्षमध्ये यो वर्ष मेक्सिकोमा पत्रकारिताका लागि सबैभन्दा घातक बनेको हो । आरएसएफका अनुसार ल्याटिन अमेरिकामा म्याक्सिकोमा जस्तै पत्रकार हत्याको श्रृंखला बढ्ने चिन्ता व्यक्त गरेको छ । विश्वभर मारिएका पत्रकारमध्ये २४ प्रतिशत यही क्षेत्रका छन् ।

आफ्नै देशमा सुरक्षित छैनन् पत्रकार

आरएसएफको प्रतिवेदनले पत्रकारहरू आफ्नै देशमा झन् बढी जोखिममा रहेको पनि देखाएको छ । यो वर्ष मारिएका पत्रकारमध्ये केवल दुई जना मात्र विदेशी थिए । फ्रान्सेली फोटो पत्रकार अन्तोनी ललिकाँ युक्रेनमा रुसी ड्रोन आक्रमणमा मारिए भने साल्भाडोरका पत्रकार जाभियर हर्कुलिस होन्डुरसमा मारिए । हर्कुलिस एक दशकभन्दा बढी समयदेखि होन्डुरस बस्दै आएका थिए । अन्य मारिएका सबै पत्रकारहरु आफ्नै देशमा समाचार संकलनका क्रममा मारिएका छन् ।

पत्रकारहरु मारिने मात्रै होइन, पक्राउ पर्ने क्रम पनि बढ्दै गएको छ । आरएसएफका अनुसार २०२५ डिसेम्बर १ सम्म विश्वका ४७ देशमा ५०३ पत्रकार हिरासतमा छन् । जसमध्ये १२१ जना चीनमा छन् । त्यसपछि रूसमा ४८, म्यान्मारमा ४७ र अजरबैजानमा २५ पत्रकार जेलमा छन् । 

चीनले आफ्नै देशका पत्रकारहरु धेरै बन्दी बनाएको छ भने रूसले विदेशी पत्रकारलाई पनि थुनामा राखेको छ । रूसी जेलमा रहेका ४८ पत्रकारमध्ये २६ जना युक्रेनी पत्रकार हुन् । विदेशी पत्रकार थुन्ने देशमध्ये दोस्रो स्थानमा इजरायल छ, जहाँ २० जना प्यालेस्टिनी पत्रकार हिरासतमा छन्, तीमध्ये १६ जना पछिल्ला दुई वर्षमा गाजा र वेस्ट बैंकबाट पक्राउ परेका हुन् । 

बेपत्ता र बन्धकको उस्तै ग्राफ

विश्वभर हाल ३७ देशमा १३५ पत्रकार बेपत्ता छन् । तीमध्ये केही तीन दशकभन्दा बढी समयदेखि सम्पर्कविहीन छन् । आरएसएफका अनुसार बेपत्ता पत्रकारमध्ये ७२ प्रतिशत मध्यपूर्व र ल्याटिन अमेरिकामा हराएका छन् । सिरियामा ३७ जना बेपत्ता छन् भने मेक्सिकोमा २८ वेपत्ता छन् । सिरियामा इस्लामिक स्टेट (आईएसआईएस) वा बसर अल-असद शासनकालमा पक्राउ परेका धेरै पत्रकार अझै फेला परेका छैनन् । असद शासन पतन भएको एक वर्ष बितिसक्दा पनि ती पत्रकारको अवस्था अज्ञात रहनु विश्वव्यापी चिन्ताको विषय बनेको आरएसएफले जनाएको छ ।

हाल २० पत्रकार बन्धक अवस्थामा छन् । सन् २०२५ मा यमनमा हुथी विद्रोहीले सात पत्रकार अपहरण गरेपछि यमन पत्रकार अपहरणको केन्द्र बनेको छ । सिरियामा असद शासन पतनपछि पनि हयात तहरीर अल-शाम (एचटीएस) समूहले केही पत्रकारलाई अझै बन्धक बनाइरहेको आरएसएफको आरोप छ । यस्तै, मालीमा सामुदायिक रेडियोका निर्देशक सालेक अग जिद्दु र प्रस्तोता मुस्तफा कोनेसहित दुई पत्रकार २०२३ नोभेम्बरदेखि अपहरणमा छन्, तर अहिलेसम्म उनीहरूको अवस्था अज्ञात छ ।

दया दुदराज दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully