भेनेजुयला सरकारले भ्रमण प्रतिबन्ध लगाएको अवस्थामा ५८ वर्षीया माचाडो गोप्य तवरले नर्वे पुगिन्
एजेन्सी — भेनेजुयलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो महिनौंपछि सार्वजनिक भएकी छिन् । बिहीबार मध्यरात उनी नर्वेको ओस्लोमा सार्वजनिक भएकी हुन् ।
गत जनवरीयता उनी सार्वजनिक स्थानमा देखिएकी थिइनन् । भेनेजुयला सरकारले भ्रमण प्रतिबन्ध लगाएको अवस्थामा ५८ वर्षीया माचाडो गोप्य तवरले बुधबार नर्वे पुगिन् र मध्यराती ओस्लोस्थित होटलको बार्दलीबाट हात हल्लाएर सबैलाई अभिवादन गरिन् ।
बुधबार दिउँसो उनकी छोरी अना कोरिना सोसाले मचाडोको प्रतिनिधित्व गर्दै नोबेल शान्ति पुरस्कार ग्रहण गरेकी थिइन् । ३ छोराछोरीकी आमा माचाडोले केही महिनायता आफ्ना सन्तानलाई समेत भेट्न पाएकी थिइनन् ।
भेनेजुयलामा प्रजातन्त्र स्थापनाको माग गर्दै माचाडोले गरेको संघर्षको कदरस्वरुप उनलाई नोबेल इन्स्टिच्युटले शान्ति पुरस्कार दिएको हो ।
माचाडो सुरक्षित रुपमा भेनेजुयला फर्कन नपाउनेमा अझै कतिलाई शंका छ । ‘पक्कै पनि म जानेछु ,’ उनले बीबीसीसँग भनिन्, ‘मलाई थाहा छ । म कति जोखिममा छु । तर म जान जरुरी छ ।’
