नोभेम्बर २०२४ मा जारी नियमअनुसार रक्सी पिएर साइकल चलाउनेमाथि तीन वर्षसम्मको जेल र अधिकतम ५ लाख येनसम्मको जरिवाना हुनसक्छ
What you should know
एजेन्सी — जापानको प्रहरीले रक्सी पिएर साइकल चलाउनेमाथि प्रहरीले कडा कारबाही थालेको छ । झन्डै ९ सय जना साइकिलिस्टहरुको कार ड्राइभिङ लाइसेन्स समेत निलम्बन भएको स्थानीय मिडियाले जनाएका छन् ।
यी साइकिलिस्टहरुले कार चलाउँदा पनि गम्भीर खतरा निम्त्याउनसक्ने देखिएकाले लाइसेन्स निलम्बन गर्नुपरेको अधिकारीहरुले बताएका छन् ।
गत वर्षको दाँजोमा जनवरीदेखि सेप्टेम्बरसम्म कार ड्राइभिङ लाइसेन्स खारेज हुनेको संख्या निकै बढेको छ । जापानले रक्सी पिएर साइकल चलाउनेमाथि निकै कडा जरिवाना गर्ने नियम ल्याएसँगै यस्तो अवस्था निम्तिएको हो ।
गत वर्ष नोभेम्बरमा ल्याइएको नयाँ नियमअनुसार रक्सी पिएर साइकल चलाउनेमाथि तीन वर्षसम्मको जेल र अधिकतम ५ लाख येनसम्मको जरिवाना हुनसक्छ ।
ब्रेथ अल्कोहल परीक्षणले ०.१५ मिलिग्राम प्रतिलिटर वा त्यसभन्दा माथिको संकेत गरेसँगै साइकलयात्रीमाथि जरिवाना हुन्छ ।
यस नियम लागु हुनअघिसम्म रक्सी पिएर साइकल नचलाउन नसक्ने अवस्थाका चालकलाई मात्रै जरिवाना हुन्थ्यों ।
तर, अहिले साइकल चालकलाई रक्सी खुवाउने र रक्सी खाएका मानिसलाई साइकल चलाउन दिनेलाई पनि कारबाही हुन्छ ।
‘रक्सी पिएर साइकल चलाउँदा गम्भीर दुर्घटना निम्तनसक्छ ,’ एक प्रहरी अधिकारीले जापानी पत्रिका योमिउरी सिम्बुनसँग भने, ‘मलाई आशा छ, सबैले नियम मान्नुहुनेछ । रक्सी पिएर सवारी हाक्ने काम नगरौं ।’
प्रहरीका अनुसार नोभेम्बर २०२४ देखि यस वर्षको जुनसम्म रक्सीले मातेको अवस्थामा साइकल चलाउने ४५ सयजना कारबाहीमा परेका थिए ।
जापानमा कोभिड महामारीपछि साइकल चलाउनेको सख्ंया बढ्दो छ । तर, भरपर्दो सवारीका रुपमा साइकलको विकाससँगै दुर्घटना पनि बढेको छ ।
सन् २०२३ मा ७२ हजार जना साइकल दुर्घटनामा परेका थिए । जो, देशको कुल दुर्घटनाको २० प्रतिशत थियो ।
