१६ वर्ष मुनीका मानिसहरुलाई लक्षित गरेर यसरी सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको यो विश्वकै पहिलो घटना हो ।
एजेन्सी — अस्ट्रेलियामा बुधबारदेखि १६ वर्षमुनीका बालबालिकाले सामाजिक सञ्जाल चलाउन नपाउने नियम लागु भएको छ । इस्टाग्राम, फेसबकु, थ्रेड्स, स्न्यापच्याट, युट्युब, टिकटक, रेड्डिट, एक्ससहित १० प्लेटफर्ममाथि प्रतिबन्ध लगाइएको छ ।
यी प्लेटफर्मले एज भेरिफिकेशन प्रविधि प्रयोग गरेर १६ वर्ष माथिको उमेरका मानिसलाई मात्रै आफ्नो प्लेटफर्म चलाउन दिन पाउनेछन् । १६ वर्षमुनीको उमेर समुहका सबै एकाउन्ट खारेज हुनेछन् ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले बुधबार अस्ट्रेलियाका लागि ‘गौरवका दिन ’ रहेको बताए ।
‘यो त्यस्तो दिन हो जब अस्ट्रेलियाली परिवारले ठूलो प्रविधि कम्पनीबाट शक्ति आफ्नो हातमा फिर्ता लिएका छन् । उनीहरुले बच्चाहरुसँग बच्चा रहने अधिकार छ र अभिभावकसँग शान्ति महसुस गर्न पाउने अधिकार छ भन्ने जोड दिएका छन् ,’ अल्बानिजले भने ।
यद्यपी, यस उमेर समुहका बच्चाहरुलाई सामाजिक सञ्जालबाट टाढा राख्ने प्रयास गर्दा उनीहरुले अवैध माध्यमबाट ती सञ्जालको उपभोग गर्न थाल्ने खतरा पनि विज्ञहरुले औल्याएका छन् ।
यसको कार्यान्वयन पक्ष सहज नरहेको अल्बानिजले पनि स्विकारेका छन् । यद्यपी, बच्चाहरुलाई स्मार्टफोनको लतबाट जोगाउनका लागि यस्तो गर्नुपरेको उनको बुझाई छ ।
१६ वर्ष मुनीका मानिसहरुलाई लक्षित गरेर यसरी सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको यो विश्वकै पहिलो घटना हो ।
