एक वर्षभन्दा लामो समयदेखि क्रेट टापु युरोप छिर्न खोज्ने आप्रवासीको रोजाईको मार्ग बन्दै आएको छ
एजेन्सी — ग्रिसको क्रेट समुद्री टापुस्थित किनारमा कम्तिमा १७ जना आप्रवासी र शरणार्थीको शव भेटिएको छ ।
शनिबार क्रेटेबाट ४८ किलोकिलोमिटर पर दुई जीवित व्यक्ति र १७ जना मृतकको शव भेटिएको हो । टापु आसपास डुंगा डुबेर उनीहरुको मृत्यु भएको हो ।
घटनामा ज्यान गुमाउने सबैजना पुरुष रहेको गृसको तट रक्षक कार्यालयकी प्रवक्ताले एएफपी न्युज एजेन्सीसँग बताइन् ।
बाँच्न सफल दुई जनालाई अस्पतालमा उपचारका लागि पठाइएको र उनीहरुको अवस्था गम्भीर रहेको उनले बताइन् । डुंगा डुब्नुको मुल कारण भने अहिलेसम्म पत्ता नलागेको उनले बताइन् ।
टर्किस् कार्गो सिपले डुबेको अवस्थामा डुंगा देखेपछि सम्बन्धित अधिकारीहरुलाई उद्धारका लागि खबर गरेको एथेन्स न्युज एजेन्सीले जनाएको छ ।
समुद्री तटरक्षकहरुले घटनामा बाँचेका दुईजनालाई उद्धृत गर्दै भनेका छन्, ‘ खराब मौसमले डुंगा अस्थिर भएको थियो । र, यसलाई जोगाउन कसैले केही पनि गर्न सकेनन् । यात्रुहरुसँग खान र पिउन केही बाँकी पनि थिएन ।
क्रेटस्थित इरापेट्रा बन्दरगाहका मेयर मानोलिस फ्रान्गोउलिसले सबै मृतकहरु युवा रहेको बताए ।
एक वर्षभन्दा लामो समयदेखि क्रेट टापु युरोप छिर्न खोज्ने आप्रवासीको रोजाईको मार्ग बन्दै आएको छ । भूमध्यसागरको पूर्वतर्फको यस क्षेत्र हुँदै लिबिया र उत्तर अफ्रिकाबाट मानिसहरु अवैध रुपमा युरोप छिर्ने गर्छन् ।
