श्रम बजार कमजोर हुनु, अस्ट्रेलिया र बेलायतले भिसा नियम कडाई गर्नुलगायत कारणले यसमा प्रभाव पारेको प्रतिवेदनमा उल्लेख छ ।
What you should know
एजेन्सी — धनी देशमा कामका लागि जानेको संख्या सन् २०२३ को दाँजोमा २०२४ मा २१ प्रतिशतले घटेको देखिएको छ ।
विश्वका ३८ वटा धनी तथा उदयीमान अर्थतन्त्रहरुको संगठन ( अर्गनाइजेशन फर इकोनोभिक कोअपरेशन एन्ड डेभलपमेन्ट : ओइसिडी) को पछिल्लो अनुसन्धानले यस्तो तथ्य बाहिर ल्याएको हो ।
सन् २०२३ मा ओइसिडी देशमा किर्तिमानी रूपमा ६५ लाख मानिस आएका थिए । बेलायत, क्यानेडा, फ्रान्स र जापानसहित एक तिहाई ओइसिडी देशमा बसाइँ सर्नेको संख्याले नयाँ किर्तिमान बनाएको थियो । तर सन् २०२४ मा आप्रवासन घट्यो ।
श्रम बजार कमजोर हुनु, अस्ट्रेलिया र बेलायतले भिसा नियम कडाई गर्नुलगायत कारणले यसमा प्रभाव पारेको प्रतिवेदनमा उल्लेख छ ।
ओइसिडी सदस्य राष्ट्रमा स्थायी रुपमा श्रम गरेर बस्नेको संख्या २१ प्रतिशतले झरेर सन् २०२४ मा झन्डै ९ लाख ३४ हजार हाराहारीमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
ओइसिडीको अन्तर्राष्ट्रिय आप्रवासन विभागको नेतृत्व गरिरहेका जियन क्रिस्ट्रोफी डुमन्टले आर्थिक अवस्था राम्रो नभएकै कारण यस्तो परिस्थिती निम्तिएको बताए ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेर आएयता आप्रवासीमाथि कडाई गर्न थालिएको छ र यसले देशको आर्थिक वृद्धिमै असर गर्नसक्ने विभिन्न अध्ययन रिपोर्टहरुले देखाएका छन् ।
क्यानेडा, अस्ट्रेलिया र बेलायतले विगतमा ठूलो सख्ंयामा आप्रवासी कामदार भित्र्याउने गरेका थिए । तर अहिले यी देशको भिसा नियम कडा गरिएको छ ।
त्यस्तै बढ्दो संख्यामा युक्रेनी शरणार्थीहरुले युरोपका विभिन्न देशमा काम गरिरहेकाले अन्यत्रबाट कामदार भिसामा मानिस मगाउनुपर्ने अवस्था पनि कम भएको छ ।
‘ठूलो संख्यामा युक्रेनीहरुलाई युरोपमा अस्थायी संरक्षण दिइएको छ । यसले विभिन्न क्षेत्रमा कामदारको अभावलाई पूर्ती गरिरहेको छ । जसकारण विदेशी कामदारको माग घटेको छ,’ डुमन्टले भने ।
समग्र आप्रवासन अवस्था के छ ?
ओइसिडीका अनुसार सन् २०२३ देखि २०२४ भित्र ओइसिडी देशमा आउने नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या पनि घटेको छ । एक वर्षे अवधिमा यो संख्या १३ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।
मानवीय कारणले बसाइँ सर्नेहरुको संख्या भने बढेको छ । जो बाइडेन कार्यकालका अन्तिम महिनाहरुमा गत वर्ष शरणार्थी भिसामा आवेदन दिनेहरुको संख्या निकै बढेको थियो । त्यस्तै, बेलायतमा अन्य ईयू देश हुँदै डुंगाबाट आउने अवैध आप्रवासीको संख्या पनि बढेको छ ।
कामदार र विद्यार्थी भिसामा आउनेको संख्या घटेको भएपनि मानवीय कारणले आश्रय खोज्नेको संख्या बढेकाले कुल आप्रवासनमा खासै ठूलो अन्तर देखिएको छैन । सन् २०२३ को दाँजोमा २०२४ मा कुल आप्रवासन ४ प्रतिशतले मात्रै घटेको देखिएको छ ।
आप्रवासनले नयाँ रोजगारीका अवसर पनि सिर्जना गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।
