एनएसटी नेतृत्वका लागि जनक र विजय चुनावी मैदानमा

वर्तमान उपाध्यक्ष बलराम पौडेल र प्रवक्ता किरण पौड्यालले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि निर्वाचन प्रक्रियामा सामेल नभएपछि जनक र विजयबीच चुनावी प्रतिस्पर्धा हुने पक्का भएको हो ।

मंसिर १४, २०८२

सुदीप शिवाकोटी

Janak and Vijay in the fray for NST leadership

What you should know

अमेरिका, टेक्सस — संयुक्त राज्य अमेरिकामा संचालित नेपाली संस्थाहरूमध्ये सदस्यताका आधारमा ठूलो संस्था नेपाली समाज टेक्सस (एनएसटी)को नेतृत्वका लागि चुनावी माहोल तातेको छ ।

सन् १९९८ देखि सक्रिय रूपमा संचालित ६ हजार २ सय सदस्य रहेको एनएसटीको २०२५–२०२७ नेतृत्वका लागि डिसेम्बर १३ मा हुने निर्वाचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष जनक भण्डारी र महासचिव विजय भुसाल चुनावी मैदानमा उत्रिएका हुन् । भण्डारी र भुसाल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । 

वर्तमान उपाध्यक्ष बलराम पौडेल र प्रवक्ता किरण पौड्यालले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि निर्वाचन प्रक्रियामा सामेल नभएपछि जनक र विजयबीच चुनावी प्रतिस्पर्धा हुने पक्का भएको हो । बलराम र किरणले आफूहरू चुनावी मैदानबाट बाहिरिएको बताएका छन् । संस्थाको नेतृत्व चयनका लागि सहज वातावरण निर्माण गर्न आफूहरू प्रतिस्पर्धाबाट अलग भएको उनीहरूको दाबी छ । 

१६ वटा पदका लागि हुने चुनावी प्रतिस्पर्धामा ३३ जनाले उम्मेदवारी दिएका छन् । जनकको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चण्डी भण्डारी, उपाध्यक्षमा गुञ्जन भण्डारी, महिला उपाध्यक्षमा राधिका खराल, महासचिवमा रामकृष्ण यादव, सचिवमा सुशील बर्तौला र विजयको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा जीवलाल भुसाल, उपाध्यक्षमा दिलीप राई, महिला उपाध्यक्षमा शान्ता गिरी, महासचिवमा प्रविस श्रेष्ठ, सचिवमा नारायण केसीले चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवारी दिएका छन् ।

नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा रहेका भण्डारीले उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षका रूपमा दुई कार्यकाल संस्थाको काम गरिसकेको अनुभवका आधारमा आफू अघि बढेको बताएका छन् । उनले टेक्ससमा रहेका नेपालीका समस्यामा आफू सधैं साथमा रहेकाले समाजको विकास र हकहितमा काम गर्ने दाबी गरे ।

अध्यक्षका अर्का उम्मेदवार भुसालले कार्यसमिति सदस्य हुँदै महासचिवको जिम्मेवारी सम्हालेका कारण पनि आफूले समाजका लागि कसरी काम गर्न सकिन्छ भन्ने योजना पूर्ण रूपमा अघि बढाएकाले जितका लागि योग्य रहेको बताए ।  ‘दुई कार्यकालको अनुभव, टिम नेतृत्व र समुदायप्रतिको समर्पणलाई आधार मानेर समाजको हित, एकता, सहयोग र सामूहिक प्रगतिलाई अझ सुदृढ बताउन मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully