श्रीलंकाको भीषण बाढीपहिरोमा १२३ जनाको मृत्यु

देशका अधिकांश भागमा वर्षा कम भए पनि उत्तरतर्फका केही क्षेत्रमा अझै पानी परिरहेको छ ।

मंसिर १३, २०८२

एएफपी

123 people killed in Sri Lanka's devastating floods and landslides

कोलम्बो — दित्वा चक्रावतपछि श्रीलंकामा देशभर परेको भारी वर्षा र बाढीका कारण हालसम्म १२३ जनाको ज्यान गएको छ भने १३० जना अझै बेपत्ता रहेका छन् ।

विपद् व्यवस्थापन केन्द्रका महानिर्देशक सम्पत कोटुवेगोदाका अनुसार राहत कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ भने ४३ हजार ९९५ जनालाई घर क्षतिग्रस्त भएकाले राज्य सञ्चालित राहत केन्द्रमा सारिएको छ ।

भारी वर्षा सोमबारदेखि सुरु भएको थियो र बुधबार मुख्य क्षेत्रमा अझ तीव्र वर्षा भएपछि देशभर बाढीको अवस्था झन् गम्भीर बनेको छ ।

शुक्रबार साँझ केलानी नदीको तटबन्ध भाँचिँदा धेरै मानिसहरू अस्थायी शिविरमा सारिनु परेको थियो ।

देशका अधिकांश भागमा वर्षा कम भए पनि उत्तरतर्फका केही क्षेत्रमा अझै पानी परिरहेको छ ।

भारतले पीडितहरूको लागि आवश्यक राहत सामग्री पठाइसकेको छ र आवश्यक परे थप सहयोगका लागि तयार रहेको अधिकारीहरूले जानकारी दिएका छन् । 

सरकारले उद्धार र राहत कार्यलाई अझ सुदृढ बनाउन सैनिक बल परिचालन गरेको छ, जहाँ हेलिकोप्टर र डुंगा प्रयोग गरी फसेका बासिन्दाहरू उद्धार गरिएको छ ।

सन् २००० पछि श्रीलंकामा आएको सबैभन्दा ठूलो बाढी सन् २००३ को जूनमा भएको थियो । त्यसबेला २५४ जनाको मृत्यु भएको थियो ।

निरन्तरको वर्षा र निरन्तर बिग्रँदो मौसमका कारण जोखिम अझै उच्च रहेको भन्दै अधिकारीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

एएफपी

Link copied successfully