अमेरिकाले गत साता अघि सारेको २८ बुँदे योजनाका विषयमा केही दिनअघि युक्रेन र उसका युरोपेली साझेदारसँग जेनेभामा वार्ता गरेको थियो । छलफलपछि यस योजनालाई संशोधन गरिएको थियो ।
एजेन्सी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विदेश दूत स्टिभ विटकोफले आगामी साता क्रेमलिनमा वार्ता गर्ने भएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश मामिला सहयोगी युरी उसाकोभले बुधबार यस विषयको जानकारी दिएका हुन् ।
अमेरिकाले पछिल्लो समय रुस–युक्रेन वार्ताको मध्यस्थता गरिरहेको छ । मंगलबारमात्रै युक्रेनले सम्भावित शान्ति वार्ताबारे अमेरिकासँग आफ्नो बुझाई मिलेको बताएको थियो ।
अमेरिकाले गत साता अघि सारेको २८ बुँदे योजनाका विषयमा केही दिनअघि युक्रेन र उसका युरोपेली साझेदारसँग जेनेभामा वार्ता गरेको थियो । छलफलपछि यस योजनालाई संशोधन गरिएको ट्रम्पले जानकारी गराएका थिए ।
संशोधित कार्ययोजनासहित ट्रम्पका विशेष दूतले रुस भ्रमण गर्न लागेका हुन् । रुसले यसअघिको २८ बुँदे योजनामा सहमति जनाएको भएपनि संशोधित योजनाबारे अहिल्यै धारणा सार्वजनिक गरिसकेको छैन ।
नयाँ योजनाका विषयमा रुससँग कुनै परामर्श नगरिएको रुसी विदेशमन्त्री सर्जेइ लाभरोभले बताएका छन् । ‘यस योजनाबारे रुससँग कुनै परामर्श भएको छैन । यदी पुरानो योजनामा आधारभूत परिवर्तन भएको रहेछ भने रुसले नस्विकार्न पनि सक्छ,’ उनले भने ।
सन् २०२२ मा रुस युक्रेन युद्ध सुरु भएयता दशौं हजार सैनिक तथा सर्वसाधारण मारिएका छन् । त्यस्तै, लाखौं जनता थातथलोबाट बिस्थापित भए ।
