बुर्का लगाएर संसद्मा प्रदर्शन गरेपछि अस्ट्रेलियाकी सिनेटर निलम्बनमा
एजेन्सी — अस्ट्रेलियाको सिनेटले मंगलबार दक्षिणपन्थी सिनेटर पाउलिन हान्सनलाई निलम्बन गरेको छ । सार्वजनिक स्थलमा बुर्का प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै उनले सोमबार संसद्मा बुर्का लगाएर राजनीतिक स्टन्ट गरेकी थिइन् ।
आप्रवासन विरोधी वान नेशनल पार्टीकी यी सांसद् सात दिनका लागि निलम्बनमा परेकी हुन् । उनले सन् २०१७ मा पनि यस्तै हर्कत गरेकी थिइन् । जसको सार्वजनिक रुपमा ठूलो आलोचना भएको थियो ।
क्विन्सल्यान्डबाट प्रतिनिधित्व गर्ने यी सिनेटरले सिंगो इस्लाम समुदायको आस्थालाई मजाक बनाएको विदेशमन्त्री तथा सिनेटर पेन्नी वोङले बताए । ‘यो अपरिपक्व र लज्जाहिन स्टन्ट हो । जसले केवल एटेन्सनमात्रै खोजेको छ । उनले एउटा सिंगो समुदायको भावनामाथि खेलवाड गरेकी छिन्,’ वाङले भने ।
सिनेटर मेहरुन फारुकीले पटक–पटक हान्सनले यस्तो व्यवहार देखाएर मुस्लिमहरुको भावनामाथि खेलवाड गरेको बताइन् । ‘उनले २०१७ मा स्टन्ट गर्दा सिनेटमा मुस्लिम थिएनन् । तर हामी अहिले दुई मुस्लिम महिला छौं,’ उनले भनिन् ।
उनले प्रमुख दुई पार्टीका विधायकहरुले नै रंगभेदलाई संसद्मा जोगाइराखेको आरोप लगाइन् । ‘तपाईहरुले नै यस्तो हुन दिनुभयो,’ पाकिस्तानमा जन्मिएकी फारुकीले भनिन् । उनी अहिले ग्रिन पार्टीका तर्फबाट संसद्मा छिन् ।
मंगलबार हान्सनलाई निलम्बन गर्नुअघि सिनेटले उनीमाथिको निन्दा प्रस्ताव ५५–५ मतले पारित गरेको थियो । ७१ वर्षीया हान्सनले आफ्ना अन्य विधायकहरुलै द्वैध चरित्र प्रस्तुत गरेको आरोप लगाइन् । उनले आफ्नो निर्णयको फैसला आगामी चुनावमा हुने बताइन् ।
आफ्नो दशकौं लामो राजनीतिक करियरमा हान्सनले लगातार आप्रवासन विरोध अडान लिइरहेकी छिन् । १९९० को मध्यतिर उनले एशियाली आप्रवासीहरुले अस्ट्रेलिया भरिने चेतावनी दिएकी थिइन् ।
उनले देशका सामाजिक समस्याहरुका लागि आप्रवासीलाई दोष दिने गरेकी छिन् । झन्डै एक दशकदेखि उनले मुस्लिम आप्रवासीविरुद्ध अभियान चलाइरहेकी छिन् ।
