टुल्सा नरसंहारमा कम्तिमा ३ सय मानिसहरु मारिएकाे र ७ सय जना घाइते भएको तत्कालीन रेकर्डले देखाउँछ
What you should know
एजेन्सी — अमेरिकाको ओक्लाहोमा राज्यस्थित टुल्सा शहरमा १९२१ मा भएको नरसंहारमा बाँचेका थोरै साक्षीमध्येकी एक भायोला फोर्ड फ्लेचरको १ सय ११ वर्षको उमेरमा निधन भएको छ ।
अमेरिकी इतिहासकै एक दर्दनाक र रंगभेदी घटनामा पीडित भएकाहरुलाई न्याय दिलाउन उनले निरन्तर आवाज उठाएकी थिइन् ।
‘आज हाम्रो शहरले मदर भायोला फ्लेचरलाई गुमाएको छ । उनी हाम्रो शहरको इतिहासको अध्येरों कालखण्डमा पनि बाँचेकी थिइन् ,’ टुल्साका मेयर मोन्रोई निकोल्सले फेसबुकमा लेखेका छन्, ‘आमा फ्लेचरले १ सय ११ वर्षसम्म सत्य, धैर्यता र करुणा बोकिन् । हामी सबै आउनुपर्छ र जानुपर्छ भन्ने स्मरण उनले गराएकी छिन् ।’
टुल्सा नहरसंहारको समय फ्लेचर ७ वर्षकी मात्रै थिइन् । यस राज्यमा तत्कालीन समय विभाजनकारी व्यवस्था ‘जिम क्रो’ प्रणाली कायमै थियो ।
सन् १८०० को अन्त्यदेखि १९६० को जनाधिकार आन्दोलन सफल हुनअघिसम्म दक्षिणी राज्यहरुमा कार्यान्वयनमा रहेकोे यस प्रणालीअन्तर्गत श्वेत र अश्वेतहरुका लागि स्कुल, सार्वजनिक स्थल र पार्कहरुको व्यवस्था अलग–अलग थियो ।
३१ मेइ, १९२१ मा प्रहरीले १९ वर्षका अश्वेत युवा डिक रोल्यान्डलाई पक्राउ गरेसँगै तुल्सा शहरमा श्वेत र अश्वेतबीच विवाद चुलिएको थियो । अमेरिकी न्यायिक विभागका अनुसार श्वेत महिलामाथि दुव्र्यवहार गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
अदालत सामुन्ने उभिएर श्वेत पुरुषहरुले रोल्यान्डलाई फाँसी दिनुपर्ने माग राखेका बेला उनीहरु नजिकै रहेका अश्वेतहरुले उनलाई रिहा गर्नुपर्ने नारा लगाएका थिए ।
यसपछि दुई दिनभित्रै सुरक्षाकर्मीहरुको समुहले तुल्सा ग्रिनउड जिल्लामा रहेका ३५ वटा ब्लकमा लुटपाट र आगजनी गरेका थिए । जो, तत्कालीन समय अमेरिकामा रहेका अश्वेत समुदायमध्येका धनाढ्यहरुको आवास थियो ।
सन् २०२४ मा ब्युरो अफ लेबरले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेको मूल्यसँग तुलना गर्दा तत्कालीन क्षति झन्डै ३२ दशमलव २ मिलियन डलर बराबर हुन आउँछ ।
कम्तिमा ३ सय मानिसहरु मारिएको र ७ सय जना घाइते भएको तत्कालीन दस्तावेजहरुले देखाएका छन् । यद्यपी, धेरैजनालाई गोप्य रुपमा गाडिएकाले वास्तविक संख्या धेरै हुनसक्छ ।
घटनामा बाँचेका फ्लेचर र उनको परिवार अन्यत्र सरेको थियो । त्यसपछि उनीहरु अरुको जग्गामा खेती गरेर बसे । जहाँ, उनीहरुले आफुलाई पुग्ने अन्तपात राखेर बाँकी सबै जमिनदारलाई बुझाउनुपरेको थियो ।
रोल्यान्डमाथि कहिल्यै आधिकारीक अभियोग लागेन । किनकी, उनले दुव्र्यवहार गरेको भनिएकी महिला सराह पेजले अभियोजन दर्ता गर्ने कुनै इच्छा नरहेको बताइन् ।
१९९७ मा ओक्लाहोमा राज्यले छानविन आयोग बनाएपछि यो घटना फेरि राष्ट्रिय चासोको विषय बन्यो । सन् २००१ मा घटनाका पिडितहरुलाई क्षतिपुर्ति दिने प्रयास पनि भएको थियो, तर कानुनी जटिलताका कारण यो प्रयास संभव भएन ।
यस घटनाको सय वर्ष पुगेको अवसरमा सन् २०२१ मा फ्लेचरले अमेरिकी कंग्रेसमा साक्षीका रुपमा उभिएर अनुभव सुनाएकी थिइन् । उनले आफ्ना नातिसँग मिलेर सन् २०२३ मा यस घटनाबारे ‘डन्ट लेट थेम बरी माई स्टोरी’ नाम संस्मरण पुस्तक लेखेकी थिइन् । पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामासहितका नेताहरुले फ्लेचरको निधनले गहिरो शोक पु¥याएको बताएका छन् ।
‘टुल्सा नरसंहारमा बाँचेकी भोयला फ्लेचरले बहादूरीका साथ आफ्नो कथा बताएकाले हामीले इतिहासको त्यो पिडादायी पाटोलाई कहिल्यै बिर्सदैनौं । उनले नागरिक अधिकार प्रवद्र्धनका लागि जीवनभर गरेका कार्यप्रति म र मिशेल कृतज्ञ छौं,’ ओबामाले एक्समा लेखेका छन् ।
