भियतनाममा भीषण बाढी–भूस्खलन, कम्तीमा ९० जनाको मृत्यु

अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम निरन्तर वर्षाको ठूलो प्रभावमा पर्दा लोकप्रिय पर्यटकीय सीमानाका सहरहरूमा बारम्बार बाढी ल्याई करोडौँ डलर बराबरको आर्थिक क्षति पुर्‍याएको छ ।

मंसिर ७, २०८२

रासस

Massive floods and landslides in Vietnam, at least 90 dead

What you should know

हनोई — भियतनाममा निरन्तर परेको भारी वर्षा, बाढी तथा भूस्खलनका कारण गत एक हप्तामा कम्तीमा ९० जनाले ज्यान गुमाएको अधिकारीहरूले आइतबार बताएका छन् ।

धेरै नागरिक अझै छत र पहाडी सडकहरूमा फसिरहेका छन् । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम निरन्तर वर्षाको ठूलो प्रभावमा पर्दा लोकप्रिय पर्यटकीय सीमानाका सहरहरूमा बारम्बार बाढी ल्याई करोडौँ डलर बराबरको आर्थिक क्षति पुर्‍याएको छ ।

तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र डुबानमा परे भने प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा घातक भूस्खलन भएको छ । डाक लाक प्रान्तका ६१ वर्षीय किसान माच भान सीले बाढीका कारण आफू र आफ्नी श्रीमती दुई रातसम्म छतमा फस्नुपरेको बताए । 

नोभेम्बर १६ पछि दर्ता भएका मृतकमध्ये ६० भन्दा धेरै डाक लाक प्रान्तमै रहेका छन् । त्यहाँ दशौँ हजार घर डुबानमा परेको वातावरण मन्त्रालयले बताएको छ । तुय हो बजार क्षेत्रको पानी केही घटे पनि ४० वर्षीया विक्रेती भो हु डुले आफूले बेच्ने अधिकांश सामान भिजेको वा माटोले छोपिएको बताए ।

वर्षौंदेखि बाढीबाट जोगिन विक्रेताहरूले पाँच सेन्टिमिटर जति उच्च स्थान सुरक्षित मान्दथे, तर यसपटक पानी एक मिटरभन्दा माथि पुगेपछि त्यो उपाय पनि निष्प्रभावी भयो ।

६० वर्षीय सिरेमिक विक्रेता गुयेन भ्यान थोईले बजारका स्टलबीचको बाटोभरि क्षतिग्रस्त वस्तुहरू हटाउनै नसकिने अवस्था रहेको बताए । गत हप्तामै डाक लाकसहित पाँच प्रान्तमा ८० हजार हेक्टरभन्दा बढी चामल तथा अन्य बाली नष्ट भए भने करिब ३२ लाख गाई–वस्तु तथा कुखुरा मरे वा बगाइए ।

सरकारले बाढी–पीडित समुदायहरूमा राहत पुर्‍याउन हेलिकप्टर परिचालन गरेको छ । दशौँ हजार कर्मचारीलाई कपडा, पानी शुद्धीकरण ट्याब्लेट, तयारी चाउचाउ र अन्य आवश्यक सामग्री वितरणका लागि खटाइएको राज्य सञ्चालित टुओई ट्रे न्युजले जनाएको छ । राष्ट्रिय राजमार्गका धेरै खण्ड अझै अवरुद्ध छन् भने कतिपय रेलवे सेवाहरू निलम्बित अवस्थामा छन् ।

वातावरण मन्त्रालयले बाढीका कारण पाँच प्रान्तमा करिब ३४ करोड ३० लाख डलर बराबरको आर्थिक क्षति भएको अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यस वर्ष जनवरीदेखि अक्टोबरसम्मको अवधिमा मात्र प्राकृतिक प्रकोपले २७९ जनाको ज्यान लिएको वा बेपत्ता पारेको छ र क्षति दुई अर्ब डलरभन्दा माथि पुगेको छ । दक्षिणपूर्वी एसियाली मुलुकमा सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षा हुने गर्छ तर वैज्ञानिकहरू मानव–सृजित जलवायु परिवर्तनका कारण चरम मौसमजन्य घटना झन् बारम्बार र विनाशकारी बन्दै गएको चेतावनी दिइरहेका छन् ।

रासस

Link copied successfully