ट्रम्प र मम्दानीबीच ह्वाइट हाउसमा भेट

आगामी जनवरीदेखि अमेरिकाको प्रमुख शहर, न्यु योर्कको मेयरको जिम्मेवारी सम्हाल्न लागेका चर्चित समाजवादी युवा नेता, जोहरान मम्दानीले ह्वाइटहाउसमै पुगेर राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् ।

मंसिर ६, २०८२

एजेन्सी

Trump and Mamdani meet at the White House

What you should know

काठमाडौँ — सञ्चार माध्यम र सार्वजनिक कार्यक्रमहरूमा एक-अर्काको खेदो खन्ने यी दुईबीचको भेटलाई उत्सुकतापूर्वक हेरिएको थियो ।

शुक्रबारको भेटमा दुवैले एक-अर्काको प्रशंसा गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । विगतमा ट्रम्पले मम्दानीलाई ‘सतप्रतिशत बौलाहा कम्युनिस्ट’ वा उनलाई मेयर निर्वाचित गराउनु देशको सबैभन्दा ठूलो शहरका लागि अस्तित्वकै खतरा हुने चेतावनी दिएका थिए । मम्दानीले पनि ट्रम्पको प्रशासनलाई ‘अधिनायकवाद’ भन्ने गरेका थिए । भेटमा भने ट्रम्पले मम्दानीबाट आफू निकै प्रभावित भएको र मेयरका रूफमा सफल हुन उनलाई सहयोग गर्ने उल्लेख गरे ।

झण्डै आधा घण्टा चलेको भेटघाटपछि ओभल अफिसमा सञ्चार माध्यमसामू सँगै उभिएका उनीहरूलाई यसअघि एक-अर्काको बारेमा गर्दै आएको तिब्र आलोचनासँग सम्बन्धित प्रश्नहरू सोधिएको थियो । न्यु योर्कमै जन्मेर पछि फ्लोरिडा सरेका ट्रम्पलाई पत्रकारले मम्दानीले जितेपछि न्यु योर्क फर्किने हो भनेर पनि सोधेका थिए । ट्रम्पले 'यो बैठकपछि त न्यु योर्क जानैपर्ने भएको' जवाफ दिए । दुवैले न्यु योर्कलाई अझै सुपथ, बस्नलायक, अपराधरहित बनाउन सहकार्य गर्ने आशा व्यक्त गरे । 

त्यस्तै, पत्रकारहरूले ‘के तपाई अझै ट्रम्पलाई तानशाही भन्नु हुन्छ त ?’ भन्ने प्रश्नमा मम्दानीले ‘हो, भन्छु’ भनेका थिए । छेउमा बसेका ट्रम्पले पनि ‘भन्दा हुन्छ’ भनेर रमाइलो गरेका थिए । ‘मलाई तानशाहभन्दा पनि धेरै खराब उपमाहरू दिइसकिएको छ, यो त के हो र,’ ट्रम्पले भने, ‘मैले सोचेभन्दा धेरै विषयहरूमा उनको र मेरो कुरा मिलेको पाएँ ।’ 

यसैगरी, आफूहरूबीचको भेट अत्यन्तै उपलब्धीमूलक रहेको मम्दानको प्रतिकृया थियो । ‘हामीहरूको कुराकानी हाम्रो साझा लक्ष्य न्यु योर्कको समृद्धिमा केन्द्रित थियो,’ उनले भने, ‘एक-आपसमा रहेका प्रशस्तै असहमतीका विषयमा भने हामीले कुरा गरेनौँ ।’

ट्रम्पसँगको भेटबारे मम्दानीले सामाजिक सञ्जालमा पोस्टहरू गरेका छन् भने यसबारे प्रशस्तै मिम पनि बनिसकेका छन् । दक्षिण एसियाली र मुस्लिम पृष्ठभूमीलाई खुला रूपमा प्रचार गर्दै न्यु योर्कका धनाढ्यहरूको रुची विपरित निर्वाचित मम्दानी आफूले चुनावी अभियानका क्रममा दिएका समाजवादी अभिव्यक्ती र घोषणाहरूका कारण ट्रम्पलगायत रिपब्लिकनहरूको निरन्तर आक्रमणको तारो बन्दै आएका छन् ।   

एजेन्सी

Link copied successfully