जलवायु परिवर्तनको चुनौतीलाई कसरी सामना गर्ने भनेर कोपमा झन्डै २ सय देशका प्रतिनिधि छलफलमा छन्
एजेन्सी — ब्राजिलको बेलमस्थित कोप ३० सम्मेलनस्थलमा आगो लागेपछि केही समयका लागि सम्मेलन स्थगित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ । बिहीबार आगलागीपछि सम्मेलनस्थलमा भागदौड मच्चिएको थियो ।
६ मिनेटभित्रै आगो निभाइएको र धुवाँले सिर्जित समस्या (स्मोक इन्हिलेसन) मा १३ जनालाई उपचार गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
आगलागीको कारण अझै पत्ता नलागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । कोठाभित्र धुवाँको मुस्लो पसेर तापक्रम वृद्धि भएपछि मानिसहरू बाहिर निस्किएका थिए ।
देशहरूबीच साझा संकल्प प्रस्तावमा सहमति जुट्न नसक्दा २० नोभेम्बरमै समाप्त हुने तय भएको कोप सम्मेलन लम्बिएको थियो । आगलागीको घटनाले सम्मेलन थप लम्बिएको छ ।
जलवायु परिवर्तनको चुनौतीलाई कसरी सामना गर्ने भनेर कोपमा झन्डै २ सय देशका प्रतिनिधि छलफलमा छन् ।
यसैबीच कोप ३१ टर्किएमा आयोजना गर्ने र सम्मेलनका दौरान अस्ट्रेलियाको नेतृत्वमा सरकारहरूबीच वार्ता गर्ने सहमति भएको छ । यसअघि दुइवटै देशले आगामी कोप आयोजना गर्ने दाबी पसश गरेका थिए ।
