इरानमा क्लाउड-सिडिङ प्रविधिबाट वर्षा गराइयो

यस वर्ष ८९ प्रतिशतले वर्षा घटिरहेका बेला इरानले क्लाउड-सिडिङ प्रविधिबाट उर्मिया तालमा कृत्रिम वर्षा गराएको छ ।

मंसिर २, २०८२

एजेन्सी

Cloud-seeding technology makes rain in Iran

What you should know

काठमाडौँ — इरानमा पछिल्ला कैयौँ महिनादेखि आकाशबाट पानी नपरेपछि बादलमा ‘सिल्भर आयोडाइड’ र ‘सल्ट’ छर्किएर वर्षा गराइएको छ । ‘क्लाउड-सिडिङ’ भनिने यस प्रविधिबाट  इरानी अधिकारीहरूले देशको उत्तरपश्चिमस्थित उर्मिया तालमा पानी भरेका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विशेष उपकरणयुक्त हेलिकोप्टरमार्फत क्लाउड-सिडिङ अभियान शनिबार सञ्चालन गरिएको थियो । एडभान्स्ड एट्म‍स्फेरिक वाटर टेक्नोलोजिजले यो प्रविधि विकास र सञ्चालन गरेको हो । सो संगठनका प्रमुख मोहम्मद मेहदी जवादियनजादेहका अनुसार यस अभियानको उद्देश्य देशभित्र प्रवेश गर्ने उपयुक्त मौसमी प्रणालीहरूमा वर्षा बढाउने हो ।

जवादियनजादेले हालसम्म उपयुक्त वर्षा प्रणाली तेहरानसम्म नपुगेको बताए । पश्चिमी प्रान्तहरूमा पनि कमजोर मौसम प्रणालीको पूर्वानुमान गरिएको हुनाले त्यहाँ पनि क्लाउड-सिडिङ गरिनसक्ने उनको भनाइ छ । यो कार्यक्रम सन् २०२६ को मे महिनाको मध्यसम्म जारी रहनेछ ।  यसका लागि आवश्यकताअनुसार विमान र ड्रोन दुवै प्रयोग गरेर बादलमा रसायन छर्किने इरानको योजना छ ।

पृथ्वीको सतहमा पानी संकलनका लागि यो विधि प्रभावकारी तथा किफायती विकल्प भएको कतिपयले बताउने गरेका छन् । विश्वभर हावाहुरी नियन्त्रण, प्रदूषण हटाउन तथा जलविद्युत् उत्पादनका लागि पानी भण्डारण बढाउन  क्लाउड-सिडिङ विधि प्रयोग गरिन्छ । इरानमा केवल वर्षा गराउन र देशका महत्त्वपूर्ण जलस्रोतहरूमा पानी भण्डारणका लागि यो विधि अपनाइएको छ ।

इरानमा पानी पर्ने सम्भावना अत्यन्तै न्यून रहेको र जलाशयहरू लगभग सुकेको बीबीसीको समाचारमा उल्लेख छ । गत हप्ता राष्ट्रपति मसुद पेजेस्कियनले चाँडै पर्याप्त वर्षा भएन भने तेहरानको पानी आपूर्तिमा समस्या हुने र मानिसहरूलाई राजधानीबाट स्थानान्तरण गर्नुपर्ने चेतवानी दिएका थिए । इरानको मौसम विज्ञान विभागले अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष ८९ प्रतिशतले वर्षा घटेको जनाएको छ । 

एजेन्सी

Link copied successfully