बंगलादेशमा निर्वाचन नजिकिँदै गर्दा तोडफोड र आगजनी

दर्जनौं पक्राउ, आइतबारसम्म देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम, शेख हसिनाको मुद्दा फैसला १७ नोभेम्बरमा

कार्तिक २८, २०८२

एजेन्सी

Vandalism and arson in Bangladesh as elections approach

What you should know

ढाका — बंगलादेशमा निर्वाचन नजिकिँदै गर्दा तोडफोड र आगजनीका घटना बढेका छन् । बिहीबार मात्र बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको केन्द्रीय कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ ।

बिहीबार दिउँसो एक बजेपछि यस पार्टीविरुद्ध नाराबाजी गर्दै एउटा समूह कार्यालय छिरेको थियो । उक्त समूहले कार्यालयमा रहेका केही ब्यानर जम्मा गरेर आगजनी गरेको बंगलादेशी सञ्चारमाध्यम द डेली स्टारले जनाएको छ । बिहीबारै छुरा प्रहारबाट राजशाही मेट्रोपोलिटन सेसनका न्यायाधीश अब्दुर रहमानका छोराको मृत्यु भएको छ भने पत्नी गम्भीर घाइते छिन् । 

आगामी फेब्रुअरीमा चुनाव गर्ने सरकारको लक्ष्य रहे पनि वातावरण बिग्रँदै गएको छ । अवामी लिगले बिहीबार ढाका बन्दको घोषणा गरेको थियो । उसले आइतबारसम्म देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम राखेको छ । तर यस पार्टीविरुद्ध राजनीतिक गतिविधि गर्न सरकारले रोक लगाएको छ । यस्तो अवस्थामा अवामी लिगले गर्ने राजनीतिक गतिविधिविरुद्ध सरकार समर्थक विभिन्न राजनीतिक दल तथा समूहले प्रदर्शन गर्ने चेतावनी दिएका थिए । 

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (आईसीटी–१) ले अपदस्थ प्रधानमन्त्री शेख हसिना र उनका दुई सहयोगीको मुद्दामा १७ नोभेम्बरमा फैसला सुनाउने भएको छ । ट्राइबुनलका अध्यक्ष न्यायाधीश मोहम्मद गोलाम मोजुम्दरले १७ नोभेम्बरका लागि फैसला मिति तोकका हुन् । 

गत जुलाईमा सुरु भएको आन्दोलनमा दमन गर्ने क्रममा मानवताविरुद्धको अपराध गरेको भन्दै हसिनाविरुद्ध मुद्दा चलाइएको हो । पूर्वगृहमन्त्री असदुजामन खान कमाल र पूर्वप्रहरी महानिरीक्षक चौधरी अल मामुनमाथि पनि मानवताविरुद्धको अपराध गरेको अभियोग छ ।

बंगलादेशमा (जुलाई–अगस्ट) २०२४ मा चलेको सरकारविरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा झन्डै ६ सय ५० जना मारिएका थिए । प्रदर्शनपछि शेख हसिना ५ अगस्टमा देश छाडेर भागेकी थिइन् । त्यसको तीन दिनपछि बंगलादेशमा निर्वाचन गराउन नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । त्यसयता हसिनामाथि हत्याको योजना बनाएको, हत्या प्रयास गरेको, यातना दिइएको र अन्य अमानवीय कार्य गरेको आरोपमा छानबिन जारी छ । 

प्रहरीले हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा धेरै मानिसलाई पक्राउ गरेको छ । आइतबार, सोमबार र मंगलबार देशका विभिन्न क्षेत्रमा क्रुड बम विस्फोट तथा आगजनीका घटना भएपछि प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान थालेको हो । सरकारले विभिन्‍न स्थानमा गस्तीसमेत बढाएको छ । प्रहरीसँगै सेना, र्‍यापिड एक्सन बटालियन र सीमा सुरक्षा दलले पनि विभिन्न क्षेत्रमा गस्ती गरिरहेका छन् । कडा सुरक्षाका कारण बिहीबार ढाकाका सडकमा ट्राफिक आवागमन तुलनात्मक रूपमा कम रह्यो । 

पछिल्ला डेढ महिनामा प्रदर्शनका लागि भड्काउन खोज्ने ५ सय ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेषगरी गत आइतबारयता शृंखलाबद्ध रूपमा विस्फोट तथा आगजनीका घटना भएका छन् । आइतबार तथा सोमबार प्रदर्शनकारीहरूले भवन तथा बसहरूमा क्रुड बम फालेका थिए । गत आइतबार र सोमबार मात्रै १७ ठाउँमा बम फालिएको र ९ वटा गाडीमा आगजनी गरिएको बंगलादेशी सञ्चारमाध्यम द डेल्ली स्टारले जनाएको छ । 

मिरपुरमा मुख्यालय रहेको ग्रामीण विकास बैंक तथा राजधानी ढाकाका विभिन्न अस्पताल र बजारमा सोमबार बम फालिएको थियो । 

एजेन्सी

Link copied successfully