बिहार चुनाव : दुई सय आठ सिटमा एनडिएको अग्रता

मुख्यमन्त्रीका रुपमा अघि सारिएका राजदका नेता तेजस्वी यादव राघोपुरमा ८ हजारभन्दा धेरै मतले पछि छन् ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Bihar elections: ND leads in 208 seats

What you should know

एजेन्सी — बिहार विधानसभा चुनावको मतगणना जारी छ । पछिल्ला अपडेटअनुसार २ सय ८ सिटमा एनडिए गठबन्धनको अग्रता छ ।

यस गठबन्धनका प्रमुख दुई घटकमध्ये भारतीय जनता पार्टी (भाजपा) ९५ सिट र  मुख्यमन्त्री नितिशकुमारको जनता दल युनाइटेड (जदयू) ८४ सिटमा अग्रता बनाउन सफल छन् । 

चिराग पासवानको लोक जनशक्ति पार्टी (रामविलास) २० सिट र जितेन राम माझीको हिन्दूस्तान अवाम मोर्चा (एचएएम) ५ सिटमा अघि छ । २ सय ४३ सिट रहेको विधानसभामा प्राप्त यस्तो नतिजापछि सत्तारुढ गठबन्धनले खुसीयाली बनाउन थालेको छ ।

विपक्षी महागठबन्धनले २८ सिटमा मात्रै अग्रता बनाएको छ । यस गठबन्धनको प्रमुख दल राष्ट्रिय जनता पार्टी (राजद) २४ सिटमा अग्रता बनाएको छ । कंग्रेस आईले २ सिट तथा भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिवादी) र भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीले क्रमशः एक–एक सिटमा अग्रता बनाएका छन् ।  

तेजस्वी यादव ८ हजार मतले पछि 

पछिल्लो अपडेट (स्थानीय समयअनुसार ३:४८) अनुसार महागठबन्धनका तर्फबाट मुख्यमन्त्रीका रुपमा अघि सारिएका राजदका नेता तेजस्वी यादव राघोपुरमा ८ हजारभन्दा धेरै मतले पछि छन् ।

यहाँ भाजपाका सतिश कुमारले ६१ हजार ४ सय ३ मत पाएका छन् । यादवले ५२ हजार ९ सय ४२ मत पाएका छन् । १५ राउन्डको मतगणना भइसकेको छ भने १५ राउन्ड मतगणना हुन बाँकी छ । 

कान्तिपुर

Link copied successfully