बिहार निर्वाचन :  सत्तारुढ एनडिएकै पल्ला भारी

निर्वाचनको प्रारम्भिक रुझानले स्पष्ट रुपमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) पक्षमा बहुमत आउने देखाएको छ । कुल २ सय ४३ सिटमध्ये अहिलेसम्म १ सय ९० सिटमा एनडिएले अग्रता हासिल गरिरहेको छ ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Bihar Election: Ruling NDA's lead is heavy

What you should know

एजेन्सी — बिहारमा सत्तारुढ एनडिए र विपक्षी महागठबन्धनबीचको  प्रतिस्पर्धा चर्कै हुने अनुमान लगाइएको थियो । महागठबन्धनका उम्मेदवारहरुलाई चुनावी अभियानका दौरान जनताको राम्रो साथ मिलेजस्तो देखिन्थ्यो । तर ब्यालेट बक्समा अलग देखियो ।  

निर्वाचनको प्रारम्भिक रुझानले स्पष्ट रुपमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) पक्षमा बहुमत आउने देखाएको छ । कुल २ सय ४३ सिटमध्ये अहिलेसम्म १ सय ९० सिटमा एनडिएले अग्रता हासिल गरिरहेको छ । 

सत्तारुढ एनडिएका गठबन्धनका घटकमध्ये भारतीय जनता पार्टी (भाजपा) ८३ , जनता दल युनाइटेड (जदयू) ७९ र लोक जनशक्ति पार्टी राम विलासले २२ स्थानमा अग्रता बनाएका छन् । विपक्षी महागठबन्धनले ४९ स्थानमा अग्रता बनाएको छ ।

यस गठबन्धनका मुख्य घटक राष्ट्रिय जनता जनता पार्टी (राजद) ३२ , कंग्रेस ६ र भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेलिनवादी ) ६ स्थानमा अघि छन् ।  जबकी अघिल्लो निर्वाचनमा ७५ सिट जितेर राजद सबैभन्दा ठूलो दल बनेको थियो । 

महिला र वृद्धवृद्धाको मत 

यसपटक निर्वाचनमा ठूलो संख्यामा महिला र वृद्धवृद्धाले मत खसाले । कुल मतमध्ये ७१ दशमलव ६ प्रतिशत महिला र ६२ दशमलव ८ प्रतिशत पुरुष थिए ।  सरकारले निर्वाचनको केही समयअघि मात्रै १ करोड ४० लाख महिलाको खातामा १० हजार भारू सहायतास्वरुप सीधा पठाइदिएको थियो ।

मुख्यमन्त्री महिला रोजगार योजनाअन्तर्गत पठाइएको यो रकम महिला शशक्तिकरण र कल्याणकारी योजना मानिन्छ । यसले महिला उद्यमी तयार गर्ने लक्ष्य राखेको छ र पारदर्शी रुपमै यो पैसा खातामा पठाइएको हो । 

यद्यपी निर्वाचनको मुखमा सरकारले पैसा वितरण गर्दाको प्रभाव रुपमा मतपत्रमा देखिएको छ । विपक्षी महागठबन्धनले यसरी चुनावको मुखमा पैसा पठाउने कार्यको विरोध गरेपनि त्यसलाई रोक्न सकेन । अर्कोतर्फ उसले आफैं पनि विजयी भएमा विभिन्‍न स्किम ल्याउने घोषणा गरेको थियो । 

मुख्यमन्त्रीका भावी उम्मेदवारका रुपमा प्रचार गरिएका महागठबन्धनका तेजस्वी यादवले आफु विजयी भएमा महिलालाई २५ सय प्रति महिना भत्ता दिने घोषणा गरेका थिए । तर उनलाई जनताले पत्याएको देखिएन । त्यस्तै, नयाँ सरकार बनेको २० दिनभित्र एक घरका कम्तिमा एकजनालाई रोजगारी दिने विधेयक सदनमा पेश गर्ने घोषणा पनि गरेका थिए ।  

जेष्ठ नागरिक भत्ता ४ सयबाट बढाएर ११ सय भारुमा लैजानु मुख्यमन्त्री नितिशकुमारको अर्को सफलता थियो ।  विधवा, अपांगता भएका व्यक्ति र राज्यको सामाजिक सुरक्षा भत्ता पनि बढाइएको थियो । जसबाट कुल  १ करोड ९० लाख जनसंख्या प्रत्यक्ष लाभान्वित थियो । ठूलो संख्यामा जेष्ठ नागरिक यसपटक नितिशकुमारको पक्षमा र्या‍लीमा देखिएका थिए । 

निशुल्क बिजुली 

१ सय २५ युनिटसम्म बिजुली सित्तैमा दिने एनडिए गठबन्धनको घोषणा अर्को गेम चेन्जर बन्यो । जनताका सुख-दुखमा सरकार साथ रहेको देखाउन यस्तो योजना अघि बढाएको थियो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताले पनि एनडिएका पक्षमा जनलहर ल्याउन सहयोग पुर्याएको छ । जदयू कार्यकर्ताहरुले मुख्यमन्त्री नितिशकुमारलाई बिहारको विकासको मसिहाका रुपमा चित्रण गरेका थिए । उनीहरुले 'सुशासन र विकासका लागि  एनडिए' सरकार नारा दिएका थिए । अहिले भाजपा र जदयूका कार्यालयमा खुसीयाली सुरु भइसकेको छ । जदयू कार्यकर्ताहरुले 'फिर एक बार नितिश सरकार ' नारा लगाएका छन् । 

कान्तिपुर

Link copied successfully