ट्रम्पले निर्वाचनअघि इप्स्टेनसँग जोडिएका फाइलहरु सार्वजनिक गर्ने दाबी गरेका थिए । तर अहिले त्यसमा रुची देखाएका छैनन् ।
What you should know
एजेन्सी — अमेरिकाको विपक्षी डेमोक्रेटिक पार्टीका सांसद्हरुले कुख्यात यौन दूराचारी जेफ्री इप्स्टेनसँग सम्बन्धित २३ हजार पृृष्ठ लामो दस्तावेज सार्वजनिक गरेका छन् ।
यस दस्तावेजमा समावेश तीनवटा इमेलमा ड्रोनाल्ड ट्रम्पको नाम पनि उल्लेख छ । सन् २०१९ मा प्रहरी हिरासतमै मृत्यु भएका इप्स्टेनसँगको सम्बन्धले अहिले धेरै व्यक्तिहरुलाई विवादमा तानेकाे छ । केही दिनअघि बेलायतका अधिराजकुमार एन्ड्रयुले यही विवादपछि पद र दरबार नै छाडेका थिए ।
पछिल्लोपटक सार्वजनिक दस्तावेजमध्ये एउटा इमेलमा जेफ्री इप्स्टेन र उनकी सहयोगी गिलिन म्याक्सवेलबीचको संवादमा ट्रम्पको नाम उल्लेख छ ।
अप्रिल २०११ मा इप्स्टेनले म्याक्सवेललाई इमेल लेखेका छन् ,‘ तिमीले बुझिदिए हुन्थ्यों कि ट्रम्प नभुक्ने कुकर हुन् । ....(पिडित) ले मेरो घरमा उनीसँग घण्टौं बिताएकी छिन् ।’
ह्वाइटहाउसले बीबीसीसँगको कुराकानीमा इप्स्टेनले उल्लेख गरेको पीडित भर्जिनिया जियुफ्री हुनसक्ने जनाएको छ । 'यस इमेलमा उल्लेखित नाम बिनाको पीडित स्वर्गीय भर्जिनिया जियुफ्री हुनसक्छिन् । उनले पटक–पटक ट्रम्पले आफुसँग केही गलत नगरेको र कहिलेकाँहि भएका भेटमा करुणा र इमानदारीसाथ प्रस्तुत भएको बताएकी छिन्,' ह्वाइटहाउसकी प्रेस सेक्रेटेरी कारोलिन लिभिटले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आफुलाई दुरुपयोग गरेर विभिन्न व्यक्तिको सेवामा खटाउने गरेको र उनीहरुले दुर्व्यबहार गरेको तथ्य जियुफ्रीले सन् २०१५ मै सार्वजनिक गरेकी थिइन् । उनले यो तस्करी इप्स्टेन र सहयोगी म्याक्सवेलमार्फत यस्तो आपराधिक काम चलिरहेको बताएकी थिइन् ।
तर डोनाल्ड ट्रम्पले आफुसँग यौन सम्बन्ध नराखेको र कुनै गलत काम नगरेको उनले बताएकी थिइन् । यौन तस्करीमा परेका बालबालिका तथा महिलाको अधिकारका लागि सक्रिय जियुफ्रीको अप्रिल २०२५ मा मृत्यु भएको थियो । मरणोपरान्त प्रकाशित उनको आत्मसंस्मरणले पनि धेरै रहस्य उजागर गरेको छ ।
इप्स्टेनसँगको बेलायती अधिराजकुमार एन्ड्रयुको सम्बन्धबारे पनि यसमा उल्लेख छ । त्यस्तै, एन्ड्रयुले आफुमाथि जर्बजस्ती गरेको आरोप पनि जियुफ्रीको थियो । यस पुस्तक प्रकाशनपछि आएको विवादका कारण एन्ड्रयुले अधिराजकुमार पद र बेलायती दरबार नै छाडेका छन् ।
ट्रम्पले निर्वाचनअघि इप्स्टेनसँग जोडिएका फाइलहरु सार्वजनिक गर्ने दाबी गरेको भएपनि अहिले त्यसमा रुची देखाएका छैनन् । त्यहीकारण ट्रम्प र इप्स्टेनको सम्बन्धबारे अहिले फेरि चर्चा चलिरहेको छ । किनकी, कुनै समय इप्स्टेनले ट्रम्पसँगै नाइट क्लबमा लगानी गरेका थिए ।
इप्स्टेनको मृत्यु २०१९ मा प्रहरी हिरासतमा भएको थियो । उनी अमेरिकाका विभिन्न शहर तथा क्यारेबियन टापुहरुमा खोलिएका विलासी रिसोर्टका मालिक थिए । जहाँ बालिका तथा युवतीहरुलाई आफ्ना भिआईपी पाहुनाको सेवा गर्न लगाउँथे ।
उनीहरुलाई यौनजन्य गतिविधिमा पनि लगाइएको हुन्थ्यों । यस रिसोर्टमा राजनीतिज्ञ, सेलिब्रेटी, व्यवसायीलगायत हाई–प्रोफाइल व्यक्तिहरु पुग्ने गरेको विभिन्न अनुसन्धानले देखाएका छन् ।
तर ट्रम्पले यी सबै विषयलाई अस्विकार गरेका छन् । उनले कुनै गलत कार्य नगरेको र आचरण खराब देखेपछि वर्षौ पहिले नै इप्स्टेनलाई लगानीकर्ताका रुपमा आफुले क्लबबाट हटाएको बताउँदै आएका छन् ।
