शेख हसिनाको मुद्दा १७ नोभेम्बरमा फैसला हुने 

हसिनामाथि हत्याको योजना बनाएको, हत्या प्रयास गरेको, यातना दिएको र अन्य अमानवीय कार्य गरेको आरोपमा छानविन चलिरहेको छ ।

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

Sheikh Hasina's case to be decided on November 17

एजेन्सी — बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (आईसीटी–१) ले अपदस्थ प्रधानमन्त्री शेख हसिना र उनका दुई सहयोगीको मुद्दामा १७ नोभेम्बरमा फैसला सुनाउने भएको छ ।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (आईसीटी–१) ले अपदस्थ प्रधानमन्त्री शेख हसिना र उनका दुई  सहयोगीको मुद्दामा १७ नोभेम्बरमा फैसला सुनाउने भएको छ । गत जुलाईमा सुरु भएको आन्दोलनमा  दमन गर्ने क्रममा मानवताविरुद्धको अपराध गरेको भन्दै  हसिनाविरुद्ध मुद्दा चलाइएको हो । ट्राइबुनलका अध्यक्ष न्यायाधीश मोहम्मद गोलाम मोजुम्दरले १७ नोभेम्बरका लागि फैसला मिति तोकका हुन् । 

पूर्व गृहमन्त्री असदुजामन खान कमाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अल मामुनमाथि पनि मानवताविरुद्धको अपराध गरेको अभियोग लागेको छ । 

बंगलादेशमा (जुलाई देखि अगस्टको सुरुवात) २०२४ सम्म चलेको सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा झन्डै ६ सय ५० जना मारिएका थिए । त्यहीकारण यसलाई जुलाई नरसंहार पनि भन्ने गरिन्छ । यस प्रदर्शनपछि  शेख हसिना ५ अगस्टमा देश छाडेर भागेकी  थिइन् । 

हसिनामाथि हत्याको योजना बनाएको, हत्या प्रयास गरेको, यातना दिइएको र अन्य अमानवीय कार्य गरेको आरोपमा छानविन चलिरहेको छ । 

कान्तिपुर

Link copied successfully