अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले प्रयोग भएका लुब्रिकेन्ट पुनःप्रशोधन गरी त्यसमा बेस आयल र कृत्रिम रङ मिसाएर स्थानीय बजारमा बिक्रीका लागि प्याकेज गर्ने गरेको पाइएको छ ।
काठमाडौँ — मलेसियाको सेलाङ्गोर राज्यस्थित कम्पुङ बारु अम्पाङ क्षेत्रमा रहेका छ वटा कारखानामा छापा मार्दा २८ जना विदेशी श्रमिकसहित ४२ जना पक्राउ परेका छन् । ती श्रमिकको राष्ट्रियता खुलाइएको छैन ।
उनीहरुलाई कारखानाहरू विभिन्न ब्रान्डका नक्कली सवारीसाधन लुब्रिकेन्ट उत्पादन, आपूर्ति र बजारमा बिक्री गर्ने गतिविधिमा संलग्न रहेको अभियोग लगाइएको छ ।
सेलाङ्गोर घरेलु व्यापार तथा उपभोक्ता मामिला मन्त्रालयका निर्देशक मोहद जुहैरी मात राडीका अनुसार बुधबार बिहान १० बजे गरिएको संयुक्त अपरेसनमा झण्डै १० लाख रिङ्गिट बराबरका लुब्रिकेन्ट र प्रशोधन तथा बोटलिङ मेसिनरी बरामद गरिएको छ ।
उनका अनुसार यो कारबाही सेलाङ्गोर प्रहरी विशेष शाखा र ट्रेडमार्क अधिकारधारी कम्पनीका प्रतिनिधिहरूको सहकार्यमा, दुई महिनासम्मको गोप्य अनुसन्धानपछि सञ्चालन गरिएको हो ।
‘छ वटा कारखाना एउटै क्षेत्रमा थिए र फरक–फरक भूमिकामा सञ्चालन भइरहेका थिए । कुनैले लुब्रिकेन्ट बोतल उत्पादन, कुनैले प्रशोधन र भर्ने काम, अरूले भण्डारण र कार्यालय सञ्चालन गरिरहेका थिए,’ जुहैरीले घटनास्थलमा स्थानीय सञ्चारकर्मीलाई बताए ।
अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले प्रयोग भएका लुब्रिकेन्ट पुनःप्रशोधन गरी त्यसमा बेस आयल र कृत्रिम रङ मिसाएर स्थानीय बजारमा बिक्रीका लागि प्याकेज गर्ने गरेको पाइएको छ ।
अहिले पक्राउ परेकाहरूलाई ट्रेडमार्क ऐन २०१९ अन्तर्गत अनुसन्धान भइरहेको बताइएको छ । सो ऐनअनुसार दोषी ठहरिएमा प्रतिनक्कली वस्तुमा १० हजार रिङ्गिटसम्म जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।
